भर्खरै :

सुर्खेतमा नवयुवा र अभिभावक अन्तरक्रिया

सुर्खेत, ११ माघ । शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सन्तानका आशाबारे अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, सुर्खेत जिल्ला समितिले आयोजना गरेको नवयुवा र अभिभावक अन्तरक्रियामा युवाहरूले अभिभावकका कमजोरी पनि सच्चिनुपर्ने धारणा राखे ।
युवाहरूले आफ्ना अभिभावकसमक्ष रिसाउने, चर्को बोल्ने, चुरोट खैनी खाने आदि बानी हटाउनुपर्ने तर्क गरे ।
युवाहरूले आफ्ना अभिभावक इमानदार, मेहनती, सहयोगी हुँदाहुँदै अन्धविश्वास रहँदा दुःख लागेको प्रतिक्रिया दिए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले असल र इमानदार अभिभावकका सन्तान सामान्यतः असल नै हुने तर्क गर्नुभयो ।
अभिभावक केटाकेटीको निम्ति रोलमोडल हुने भन्दै उहाँले अभिभावक र केटाकेटीबीचको छलफल तथा अन्तरक्रियाले सम्बन्धलाई बलियो बनाउने धारणा राख्नुभयो ।
कार्यक्रममा युवाहरूले गीत, मुक्तक, ठट्यौली, क्यारिकेचरलगायत प्रस्तुत गरेका थिए ।
नेमकिपा सुर्खेतका जिल्ला अध्यक्ष हरिबहादुर बोहराले युवा सक्रियतामै देशको भविष्य अडिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य मिलन गणेजूले नेक्राविसङ्घले देश र जनताको इमानदारीसाथ सेवा गर्न युवापुस्तालाई उत्साहित गरेको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *