भर्खरै :

अलपत्र राष्ट्रिय सहिद स्मारक

काठमाडौँ, १५ माघ
(रासस) । प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबार सहिद दिवस मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीबाट सहिदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने काम हुँदै आएको छ । विसं २०१२ देखि नै  तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली र माघ १३ गते धर्मभक्त माथेमालाई सिफल तथा गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।
लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको जनाइएको छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेकामा विसं २०७४ मा मन्त्रालय खारेजी भएको थियो । हाल यो आयोजना शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागबाट सुरू भएको छ । विसं २०६८ मा काम सुरू भई २०७२ सालमै सक्ने लक्ष्य राखिएकोमा भूकम्प, नाकाबन्दी र निर्माण व्यवसायीको लापरबाहीले काम अलपत्र बनेको पार्क निर्माण समितिका पूर्वाध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो । उद्यानको भौतिक प्रगति ७० र वित्तीय प्रगति ५८ प्रतिशत भएर काम अलपत्र हुँदा दुःख लाग्ने गरेको उहाँले बताउनुभयो । विभागका आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार विसं २०७७ जेठ २६ गते सक्ने गरी सातै निर्माण व्यवसायीसँग सम्झौता भएको छ ।
गोकर्णको जगडोल (यज्ञडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा सहिद सङ््रहालय, सहिदसम्बन्धी अध्ययन अनुसन्धान गर्न चाहनेको लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेर निर्माण व्यवसायीको लापरबाहीले काम अलपत्र रहेको स्मारक निर्माण समितिले जनाएको छ ।
विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद ढोकामा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिद ढोकामा पनि विभिन्न सङ्घ–संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।
पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्योसमेत सञ्चालनमा आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *