भर्खरै :

चीनले नाका बन्द गरेपछि खाद्यान्न सङ्कट हुने अवस्था

खाँदबारी, २१ माघ । चीनले माघ ५ गतेदेखि किमाथाङ्का नाका बन्द गरेपछि सीमावर्ती नेपाली गाउँहरूमा खाद्यान्न सङ्कट हुने अवस्थामा बनेको छ । सदरमुकामदेखि पाँच दिनको पैदलमा रहेको भोटखोलाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन् ।
भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले भन्नुभयो, “हामी थुनिएका १४ जना र दैनिक उपभोग्य सामग्रीको अभावका बारेमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका छौँ ।”
किमाथाङ्का गाउँ र चीनको चाँगा बजारबीचमा रहेको कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन् ।
सोमबारको गाउँ कार्यपालिकाको बैठकले किमाथाङ्काका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो । भोटखोलाका प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्न र ढुवानीका लागि हेलिकोप्टरको प्रबन्ध मिलाइदिन प्रशासनमा अनुरोध गरिएको अध्यक्ष भोटेले बताउनुभयो ।
चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको हो । नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष भोटेले जानकारी दिनुभयो ।
सीमापारि रहेकामा १२ जना सङ्खुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका छन् । उनीहरूलाई नेपाल फर्काउन मङ्गलबार जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकोले सतर्क हुन आग्रह गरिएको छ । “चीनमा कोरोना भाइरस महामारीको रूपमा फैलिएपछि हामीले पनि भोटखोला नागरिकलाई सचेत रहन आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । कोरोना भाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *