निःशुल्क स्वास्थ्य सेवाको विकल्प स्वास्थ्य बीमा सेवामा आर्थिक मापदण्ड
- बैशाख २, २०८३
भक्तपुर, १५ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गरेको भए जनतालाई दुःख नहुने विचार राख्दै संसदमा शिक्षा र स्वास्थ्य निःशुल्क भएका देशहरू पनि रहेको बताउनुभयो ।
सिद्धि स्मृति प्रतिष्ठानको तेस्रो साधारणसभा र २८ औं सिद्धि स्मृति अस्पतालको स्थापना दिवसको उद्घाटन गर्दै सांसद सुवालले भक्तपुरलाई सफा–स्वच्छ, सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल र शिक्षाको केन्द्र बनाउने लक्ष्यका साथ जनता अघि बढिरहेको उल्लेख गर्नुभयो ।
सांसद सुवालले ख्वप विश्वविद्यालयको विधेयक शिक्षा मन्त्रालयबाट संसद सचिवालयमा २०७३ कार्तिक २६ गते नै दर्ता भएको तर शिक्षा मन्त्रीबाट संसदमा पेश हुने काममा विलम्ब भइरहेको उल्लेख गर्दै ख्वप विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालसहित मेडिकल कलेज सञ्चालन गर्न नेपाल सरकारसँग सल्लाघारी तीनकुनेको १०८ रोपनी जग्गा भक्तपुर नपाले माग गरिसकेको बताउनुभयो ।
सांसद सुवालले संविधान संशोधन र स्थानीय तहको सङ्ख्या बढाएर मात्र स्थानीय तहको चुनाव गर्ने सरकारी तयारी गलत भएको उल्लेख गर्दै संसदमा पेश भएको संविधान संशोधन विधेयक पारित भए देशको सार्वभौमिकता र स्वतन्त्रतामा आँच पुग्ने बताउनुभयो ।
उहाँले सुस्तामाथि भारतीय अतिक्रमणको विरोध २०२५ साल मंसिर २२ गते नै पार्टीका अग्रजहरूले भक्तपुरबाट गरेको उल्लेख गर्दै भारतीय नाकाबन्दी र भारतीय सशस्त्र सीमा बल नेपाल पसेर नेपालीको हत्याको विरोधमा पार्टीले संसद र सडकमा सङ्घर्ष गरेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले अस्पतालमा १४५ कर्मचारी र ज्येष्ठ नागरिक आश्रममा २५ कर्मचारीले सेवा गरिरहेको उल्लेख गर्दै बर्सेनि रू. २ करोड घाटा पूर्ति गर्न विदेशी सहयोग जुटाउन गा¥हो भइरहेको बताउनुभयो ।
उहाँले नगरलाई स्वच्छ राख्ने र ख्वप विश्वविद्यालय स्थापना गर्ने लक्ष्य रहेको नेपाल मजदुर किसान पार्टी अगाडि बढ्नु आवश्यक भएको विचार राख्नुभयो ।
Leave a Reply