भर्खरै :

विश्व स्वास्थ्य सङ्गठनद्वारा चिनियाँ प्रयासको प्रशंसा

जेनेभा, ५ फेब्रुअरी (बीबीसी) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेको कदमले सङ्क्रमणलाई विश्वव्यापी सङ्कट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशकले चीनको कदम ‘उपयुक्त’ भएको टिप्पणी गर्नुभयो ।
प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्ल्यूएचओको त्यस्तो प्रशंसा आएको हो ।
जेनेभामा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलिन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताउनुभयो ।
चीनको शीर्षस्थ नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ पाइएको स्वीकारेको एक दिनपछि राष्ट्रसङ्ीय स्वास्थ्य निकायको त्यस्तो भनाइ आएको हो ।
चीन सरकारले सुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोप झेलेको थियो ।
जेनेभास्थित राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत चेन छुले कतिपय प्रतिबन्धहरू डब्ल्यूएचओको सुझावविपरीत रहेको भन्दै प्रकोपबारे देशहरूले उग्र प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताउनुभयो ।
‘प्रतिबन्धको समीक्षा आवश्यक’महानिर्देशक टेड्रोसले चीनमा यात्रा र व्यापार प्रतिबन्धहरू नलगाउन विभिन्न देशहरूलाई आग्रह गर्नुभयो ।
अहिलेसम्म २२ देशहरूले त्यस्तो निर्णय गरेकोमा टेड्रोसले ती ‘छोटो समयका लागि र निरन्तरको समीक्षाबीच आवश्यकताका आधारमा’ हुनुपर्ने बताउनुभयो ।
अहिलेसम्म यस भाइरसको सङ्क्रमणबाट ४९२ जना मानिसहरूको मृत्यु भइसकेको छ भने विश्वभरि २४,००० भन्दा धेरै मानिसमा यसको सङ्क्रमण फेला परेको पुष्टि भएको छ ।
डब्ल्यूएचओले यस प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटकाल भने पनि त्यो ‘महामारीको अवस्थामा नपुगेको’ जनाएको छ ।
यो नयाँ भाइरसबारे जनवरी ३० तारिखमा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *