भर्खरै :

नयाँ समयमा किसानका नयाँ चुनौती

भक्तपुर, २५ माघ । “विभिन्न देशको किसान सङ्घर्षबाट शिक्षा लिएर देशमा किसान सङ्घर्ष अगाडि बढाउनुपर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी किसान सङ्घको सातौँ भक्तपुर जिल्ला सम्मेलनको शनिबार भएको बन्द सत्रमा किसान कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै भन्नुभएको हो ।
“किसानहरूको हिजोको समस्या मोहियानी हकको थियो, आज विदेशी पुँजी लगानीसँग जुझ्नुपर्ने अवस्था छ । मजदुरहरूको समस्या समेटेर किसानहरूले आन्दोलन अगाडि बढाउनु आजको आवश्यकता हो”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
सामन्त र पुँजीपति वर्गको दमनको विरोधमा सङ्घर्ष गर्न कामदार जनताको क्रान्तिकारी सङ्गठन आवश्यक भइको चर्चा गर्दै उहाँले नेमकिपा कामदार जनताको सङ्गठनबाट समाजवादी क्रान्ति सम्पन्न गर्न जनताको प्रजातन्त्रका लागि सङ्घर्षरत छ भन्नुभयो ।
भारतमा किसान र मजदुरहरूको आन्दोलन अगाडि नबढेसम्म भारतीय शासक वर्गले नेपाल सरकारलाई दबाब दिने भएकोले भारतीय कामदार जनताको सङ्घर्षमा ऐक्यबद्धता आवश्यक भएको धारणा राख्दै उहाँले सङ्गठनमा व्यापक छलफल र अन्तरक्रिया गर्नु आवश्यक छ भन्नुभयो । ।
नेमकिपाका सचिव पे्रम सुवालले प्रशिक्षण दिँदै भन्नुभयो, “भारतीय विस्तारवादले अलग झन्डा, विधान र विशेषाधिकार भएको जम्मु–काश्मीरमाथि हस्तक्षेप गरेकोलाई ओली–दाहाल सरकारले भारतको आन्तरिक मामिला भनेर पन्छिने काम ग¥यो । त्यसको परिणाम भारतीय विस्तारवादले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा दाबी ग¥यो । भारतीय विस्तारवादले नेपालको भूमि नमिचेको स्पष्टिकरण दियो । ओली–दाहाल सरकारले  भारतलाई कूटनीतिक तहबाटै समाधान गर्न पत्र पठायो । तर, भारतीय विस्तारवादले ओली–दाहाल सरकारलाई टेर्दै टेरेन । मोदी सरकारले नेपालको भूमि वार्ताकै आधारमा फिर्ता गर्ने अवस्था छैन । यसकारण नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिनु आवश्यक छ ।”
अमेरिकी सरकारको नेतृत्वमा गठन हुने हिन्द–प्रशान्त सैन्य गठबन्धनअन्तर्गतको एमसीसी सम्झौतालाई नेपाल सरकारले संसद्बाट पारित गराउन नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “भारतले नेपालको जलस्रोत कब्जा गर्ने सिलसिलाको रूपमा एमसीसी सम्झौतामार्फत अमेरिकालाई अगाडि सारेको देखिन्छ । नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्न अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद संयुक्तरूपमा लागिपरेको देखिन्छ । यसतर्फ नेपाली जनता सचेत हुनु आवश्यक छ ।”
“चीनमा कोरोना भाइरसको सङ्क्रमण सात दिनभित्र आउने अपेक्षा गरिएको छ । चीन सरकारले विशाल जनसङ्ख्यालाई कोरोना भाइरस सङ्क्रमण हुनबाट सुरक्षित राखेको प्रशंसनीय छ । चीनमा रहेका नेपालीलाई नेपाल फर्काउनु जति सजिलो छ उनीहरूमध्येमा कोरोना भाइरस सङ्क्रमित भए त्यसको नेपालमा रोकथाम गर्न त्यति नै गा¥हो हुन्छ”, सचिव सुवालले प्रस्ट्याउनुभयो ।
ललिता निवासको जग्गामा प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेत संलग्न रहेको तर, मन्त्रिपरिषद्को नीतिगत निर्णय भनी अख्तियारले उहाँलाई उन्मुक्ति दिनु पक्षपातपूर्ण रहेको धारणा राख्दै उहाँले भारत, पाकिस्तान, दक्षिण कोरियालगायत कतिपय देशका कार्यकारी प्रमुख राष्ट्रपति र प्रधानमन्त्रीसमेत भ्रष्टाचारमा दण्डित भएका घटनाहरू छन् भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “भूकम्प पीडितहरूलाई घर बनाउन अनुदान र सहुलियत ब्याजको ऋण दिने समयावधि थप्नु आवश्यक छ । रू. तीन लाख सरकारी अनुदानमा बनेका भूकम्प पीडितको घर मानिस बस्नलायकको नहुँदा गाईवस्तु पालन गरिएको समाचार छ । यो गम्भीर विषयमा सरकार संवेदनशील छैन ।
भूमिसम्बन्धी विधेयक आठौँ संशोधनमा उद्योग र कम्पनीको नाममा हदबन्दीभन्दा बढी जग्गा राख्न दिने प्रावधान संविधानको आर्थिक समानताविपरीत रहेको उहाँले बताउनुभयो ।
गुठी जग्गासम्बन्धी विधेयकमा किसानलाई गुठी जग्गा रैतानी गर्ने प्रावधान राख्नुपर्छ र गुठी संस्थान र प्राधिकरण गर्ने प्रावधान खारेज गरी संस्कृति र सम्पदा सञ्चालन, संरक्षणको स्रोत र जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने आवश्यक रहेकोमा सचिव सुवालले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले सरकारले कागजमा मात्र विकास गरेकै कारण वर्षको २५ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात गर्नु परिरहेको छ भन्नुभयो ।
“सरकारमा गएका पार्टीहरूको अकर्मण्यताकै कारण सस्तोमा बिजुली उत्पादन हुने नदी भारतलाई सुम्पने गरेको र हाल एमसीसीको नाममा नेपालको सस्तो बिजुली भारतमा लान अमेरिकी साम्राज्यवादको गोटी चालमा सरकारी दल लागेको छ । सरकारले आफूअनुकूल कानुनको व्याख्या गरेर सरकारी सम्पत्ति दुरूपयोग गरिरहेको छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले कामदार जनताको राज्य स्थापना गर्न नेमकिपा लागेको छ भन्दै ४६ औँ स्थापना दिवसमा भएका गतिविधिको चर्चा गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले सरकारमा गएका पार्टीले आफूलाई कम्युनिस्ट भनिए पनि तिनीहरू अवसरवादी र संशोधनवादी भएको घामजत्तिकै स्पष्ट भएकोले किसानको हित गर्ने नारालाई सरकारमा जाने भ¥याङमात्र बनाएको छ भन्नुभयो ।
सम्मेलनले गोविन्द दुवालको अध्यक्षतामा २१ सदस्यीय नेक्राकिसङ्घ भक्तपुर जिल्ला समिति निर्वाचित ग¥यो । नवनिर्वाचित समितिलाई नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजू र सचिव पाण्डव सुवालले शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *