भर्खरै :

मध्यपुरमा फुटसल प्रतियोगिता सम्पन्न

मध्यपुर, २५ माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा नेक्रायुसङ्घ, मध्यपुर नगर समितिको आयोजनामा भएको जिल्लाब्यापी अन्तर एकाइ स्तरीय फुटसल प्रतियोगिताको नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अतिथि कवांले देशमा भइरहेको वैदेशिक हस्तक्षेपविरूद्ध र सार्वभौमिकता रक्षाको लागि युवाहरू खेलकुद गतिविधिका साथ सङ्गठित हुनुपर्छ भन्नुभयो ।
पश्चिमी साम्राज्यवादी शक्तिहरूले नेपालको आन्तरिक मामला हस्तक्षेप गरिरहेको र एमसीसी यसैको निरन्तरता रहेको धारणा राख्दै उहाँले कुनै पनि वैदेशिक हस्तक्षेपको विरूद्ध युवाहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष सूर्यराम था श्रेष्ठले खेलकुदले युवाहरूलाई अनुशासित बनाउनुको साथै देशप्रति जिम्मेवार बनाउन विचार राख्नुभयो । नेक्रायुसङ्घ, भक्तपुर नगर समितिका उपाध्यक्ष राजकुमार लघुले देशका युवाहरूलाई अनिवार्य सैन्य तालिम दिएमात्रै नेपाली भूमिको सुरक्षा हुनसक्ने धारणा राख्नुभयो ।
सुरेन्द्र थाको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला फूटबल सङ्घका उपाध्यक्ष सुनिल प्रजापति, अम्बर दली र सुरोज प्रजापतिले पनि बोल्नुभएको थियो ।
नेक्रायुसङ्घसँग आबद्ध भक्तपुर जिल्लाका चौधवटा टीम सहभागी रहेको उक्त प्रतियोगितामा नेक्रायुसंघ, भक्तपुर नगर समिति (क) को पहिलो र नेक्रायुसङ्घ, मध्यपुर ८ वडा (क) दोस्रो हुन सफल भएको थियो । विजेताहरूलाई अतिथि उकेश कवांले नगद, शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *