भर्खरै :

भक्तपुरको शान

भक्तपुर नगरपालिका संस्कृति र सम्पदा संरक्षणमा देशकै उदाहरणीय र अनुकरणीय छ । ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणमा नगरपालिकाले गरेका उदाहरणीय निर्णय देशका अन्य नगरपालिका र गाउँपालिकाका निम्ति अनुकरणीय छन् । प्राचीन सहर भक्तपुर अझै पनि मूर्त र अमूर्त सम्पदा र संस्कृतिको धनी नगर हो । ती सम्पदा र संस्कृति भक्तपुरका जनताका साथै सिङ्गो नेपाल र मानव जातिकै साझा सम्पत्ति हो । मानिसको जीवन अस्थायी हो । तर, मानिसले आफू बाँचेको समाजको कीर्ति संस्कृति र सम्पदामा खोपेर गएको हुन्छ । यही भावना हृदयङ्गम गरी भक्तपुर नगरपालिकाले आफ्नो मूल नारा नै ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ राखेको छ । त्यही नारामा निहीत भावनालाई व्यवहारमा पनि उतार्ने काम भक्तपुर नगरपालिकाले गर्दै आएको छ ।
शनिबार र आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा धिमे बाजा प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा भक्तपुर जिल्लाका सतहत्तर धिमे टोली सहभागी छन् । प्रतियोगितामा धिमे, भुछ्या र सिछ्या बजाउने सबैजसो युवाहरू छन् । यसअघि भक्तपुर नगरपालिकाले धाँ बाजा प्रतियोगिता गर्दा पनि उस्तै उत्साहजनक सहभागिता थियो । नगरपालिकाले भक्तपुर नगरपालिकाका सांस्कृतिक तथा आधुनिक र प्रहसनको पनि हरेक गाईजात्रामा प्रतियोगिता गर्दै आएको छ । समय–समयमा नगरपालिकाले कलाकार, सांस्कृतिक गुरुहरूको सम्मान गर्दै आएको छ । निः सन्देह कलाकार र कलाकारिता सहज र सरल विषय होइन । अनेकन प्रतिकूलताबीच कलाकारले कलाको साधना गर्छन् । त्यही कला साधनाबाट समाज समृद्ध बन्ने हो । समाजलाई सांस्कृतिकरूपमा समृद्ध बनाउने कलाकारले सामान्यतः धेरै सम्पत्ति वा व्यक्तिगत लाभको अपेक्षा गर्दैन । कलाकारको निम्ति सबभन्दा अपरिहार्य कुरा नै प्रोत्साहन हुने गर्दछ । प्रोत्साहन र सम्मानले नै कलाकारलाई पूर्ण र सन्तुष्ट बनाउने गर्छ । भक्तपुर नगरपालिकाले कलाकारको यो भावनालाई सम्मान गर्दै प्रोत्साहनका गतिविधि नियमित गर्दै आएको छ । नगरपालिकाबाट प्राप्त हुने यस्ता प्रोत्साहनमूलक गतिविधिकै कारण आज युवा पुस्ता पनि संस्कृति र सम्पदा संरक्षणमा जुर्मुराएको देखापर्दै छ ।
भक्तपुर नगरपालिकाले भक्तपुरको विशिष्ट परिचयलाई अभिव्यक्त गर्न चैत ४–८ सम्म भक्तपुर महोत्सव घोषणा गरेको छ । महोत्सव आफैँ भक्तपुरका मूत–अमूर्त संस्कृतिलाई जीवन दिने अवसर बन्नेछ । इतिहास र विस्मृतिभित्र हराउँदै गएका धेरै संस्कृति र सम्पदालाई जीवन दिन महोत्सव निकै महत्वपूर्ण हुनेछ ।
भक्तपुर नगरपालिकाले लामो समयदेखि सांस्कृतिक क्षेत्रमा योगदान गरेका सांस्कृतिक गुरुका योगदान र क्षमतालाई प्राज्ञिक विद्वतामा रूपान्तरण गर्ने प्रयास गर्दै आएको छ । विश्वविद्यालयको प्रमाणपत्रमा उनीहरूका दक्षतामा सङ्ग्रहित गर्ने यो प्रयासले अझै पनि मूर्तता लिन सकेको छैन । कदाचित यो प्रयास सफल भए भक्तपुरका सांस्कृतिक प्रस्तुति देशभित्रमा सीमित रहने छैन । यो अन्तर्राष्ट्रिय अनुसन्धान र अध्ययनको विषय बन्नेछ । विभिन्न बाजागाजाका गुरुहरू त्यस्तो अध्ययनका स्रोतव्यक्ति र प्राज्ञ गनिने छन् । यसले भक्तपुरको जनताको जीवनमा परिवर्तन ल्याउन मद्दत पुग्नेछ ।
भक्तपुर नगरपालिकाले संस्कृति संरक्षणमा नयाँ नयाँ प्रयोग पनि गर्दै आएको छ । लगभग हराइसकेको कसिमला पाँय् खेललाई नगरपालिकाको पहलमा नयाँ जीवन दिइएको छ । यस्ता अरू धेरै उदाहरणीय कीर्तिकै कारण भक्तपुर आज पनि ङातापोलको शिरजत्तिकै उँचो शिर बोकेर उभिएको छ । यो सिङ्गो देशको लागि गौरवको विषय हो । तर, फत्ते गर्न बाँकी अझै धेरै काम छन् । ती कामलाई फत्ते गर्न सबैले आपसमा हातेमालो गर्नुको विकल्प छैन । अङ्ग्रेजी कवि रोबर्ट फस्र्टले लेखेका छन्–
‘थकाई मार्नुअघि छिचोल्नु एउटा लामो बाटो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *