भर्खरै :

न्हुजः धिमे खलः बन्यो सर्वोत्कृष्ट धिमे टोली, वाद्यवादनको विद्यालय खोल्नु आवश्यक–बिजुक्छेँ

भक्तपुर, २६ माघ । भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता आइतबार सम्पन्न भयो ।
भक्तपुरको स्मारकस्थल दत्तात्रय चोकमा भएको दुईदिने धिमेबाजा प्रतियोगितामा विजयी धिमे टोलीलाई नगद तथा वाद्यवादन सामग्री प्रदान गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले स्कूल–कलेजमा विद्यार्थीले परीक्षा दिएजस्तै विभिन्न स्थानको सांस्कृतिक टोली (कलेज) ले कलाको विश्वविद्यालयमा परीक्षा दिन आएको जस्तो अनुभूति भएको बताउनुभयो ।
बिनाडरको अनुभूति आ–आफ्नो सीप र कला राम्रोसँग प्रदर्शन भएकोमा वाद्यवादन गुरूहरूको प्रशंसा गर्दै अध्यक्ष बिजुक्छेँले आफ्नै स्रोत र साधन आफैले आफ्नै ठाउँमा धिमे बाजाको प्रदर्शन हुनु आत्मनिर्भरता र स्वविकासको उदाहरण भएको बताउनुभयो ।
पुराना वाद्यवादकहरूमा सीप र कला भए पनि शिक्षाको अभावको कारण नयाँ पुस्ताको लागि वाद्यवादनको स्कूल खोल्न नसकेको विगत स्मरण गर्दै उहाँले सांस्कृतिक नगर भक्तपुर कलाकारहरूको नगर भएको बताउनुभयो ।
वाद्यवादन र नाचगान शिक्षाको एक भाग भएको उल्लेख गर्दै उहाँले यसको उत्थान र विस्तारले पछिल्ला दिनमा बाजाको विश्वविद्यालय खोल्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरमा विश्वविद्यालय स्थापना भए सस्तोमा डाक्टर पढ्न पाउने विचार व्यक्त गर्दै उहाँले निजी कलेज खोलेर अकुत सम्पत्ति कमाउन चाहने व्यक्तिहरूको दबाबमा परेर सरकारले ख्वप विश्वविद्यालयको स्वीकृति नदिएको बताउनुभयो ।
सहज र सस्तोमा डाक्टर पढाउने विषयमा सरकारको हेर्ने दृष्टिकोण नै फरक भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले देश र जनताको पक्षमा आफ्नै देशका शत्रुविरूद्ध लड्ने भावनाको विकास गर्नु आवश्यक छ भन्नुभयो ।
देशको सरकारी जग्गा हडपेर व्यक्तिगत गर्ने, भएका सरकारी सङ्घ–संस्था तथा कलकारखानाहरू निजीकरण गराएर व्यक्तिलाई पोसाएर देश बर्बाद गराउने काममा सबभन्दा बढी शासन गर्ने नेका नै बढी जिम्मेवार छ, उहाँले भन्नुभयो ।
देश र जनताको पक्षमा सङ्घर्ष नगर्ने र सङ्घर्ष गर्न हिच्किचाउने नेकाले आफ्ना एक नेतालाई अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाउँदा संसदै अवरोध गर्ने कार्यले नेका भ्रष्टाचारको पक्षमा रहेको स्पष्ट हुन्छ भन्नुभयो ।
बालुवाटारको जग्गा किन्ने नेताहरूले जग्गा फिर्ता दिए पनि निर्दोष नठहर्ने उल्लेख गर्दै उहाँले सबैलाई छानबिनको घेरामा हालेर अपराधीहरूलाई छोड्न नहुने दाबी गर्नुभयो ।
उपत्यकामा स्मार्ट सिटीको अवधारणाले किसानहरू जग्गाविहीन भएर हाहाकारको स्थितिमा पुग्ने हुँदा उक्त अवधारणाको सबै मिलेर विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले भूकम्पीय क्षेत्रमा अग्ला अग्ला घर बनाउन नहुने बताउनुभयो ।
वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले धिमे प्रतियोगिताभित्र सांस्कृतिक, राजनीतिक र सामाजिक विकृति र विसङ्गतिको विरोधको स्वर भएको उल्लेख गर्दै गलत विचार र गलत कामको निरन्तर विरोध गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अरबौँ अरब मूल्य बराबरको ललितानिवासको जग्गा कब्जा गर्ने काम कुनै पनि देशभक्त र सद्दे नागरिकलाई सह्य नहुने विचार राख्दै उहाँले कुनै पनि दोषी मुक्त गराउन कसैले बाधा व्यवधान हाल्न नहुने बताउनुभयो ।
सांसद गोसाईले भन्नुभयो, “भ्रष्टाचार गर्ने, भ्रष्टाचारी लुकाउने र संरक्षण गर्ने कार्यको हामीले विरोध गर्नैपर्छ, निर्दोष व्यक्ति मुक्त हुनुपर्छ, दोषी सजायको भागी हुनुपर्छ । अनियमितता र भ्रष्टाचारको विरोध गर्नैपर्छ ।”
स्थलगत मूल्याङ्कन एवम् पुरस्कार वितरण समारोह कार्यक्रमका सभापति एवं नगर प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर भक्तपुरलाई ज्ञान–विज्ञान, पर्यटनको केन्द्र, बस्नलायक सफा र सभ्य नगर बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै आफ्नो सीप, कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नै विभिन्न प्रतियोगिता गरिरहेको बताउनुभयो ।
भनपाले अग्रज गुरूहरूको सम्मानको साथै सम्मानीत गुरूहरूको योगदान नयाँ पुस्तामाझ पु¥याउन पाठ्यक्रमको व्यवस्था गरेको उल्लेख गर्दै प्रमुख प्रजापतिले देश र जनताको निम्ति ज्यानको बाजी राख्ने वीर सहिदहरूको जीवनीबारे पनि नयाँ पुस्तालाई पाठ्यक्रममार्फत जानकारी दिने काम गरिरहेको बताउनुभयो ।
सम्पदा संरक्षण नपा र नगरवासीहरूकै अगुवाइमा भइरहेको हुँदा आर्थिक सहयोग, श्रमदानसमेत जुटेको उल्लेख गर्दै उहाँले नपाले पारदर्शिता, आर्थिक अनुशासनमा जोड दिँदै इमानदारीपूर्वक काम गरिरहेको बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले सङ्गीतकर्मी या कलाकारहरूको जीवन्त नगर भक्तपुरमा यहाँका सांस्कृतिक धरोहर अनन्तसम्म कायम राख्न धिमे प्रतियोगिता गरेको विचार राख्नुभयो ।
सम्पदा र संस्कृति उजागर गर्न भनपाले शिक्षामा जोड दिइरहेको उल्लेख गर्दै उहाँले कालिगढहरूकै सहयोग र साथमा यहाँको सम्पदा संरक्षण भइरहेको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “सम्पदा संरक्षण विश्वकै लागि आवश्यक छ ।”
कार्यक्रममा उहाँले चैत ४ देखि ८ सम्म हुने पाँचदिने भक्तपुर महोत्सवको विस्तृत विवरणबारे जानकारी दिनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष तथा धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य उकेश कवांले धिमे बाजाको विकास र प्रवद्र्धनमा अग्रजको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष एवम् धिमे बाजा प्रतियोगिता संयोजन समितिका सदस्य राजकृष्ण गोराले आफ्नो मौलिक संस्कृति छोडेर बाह्य संस्कृतिमा भुल्न नहुने बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले स्वागत गर्नुभएको सो कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, सांस्कृतिक गुरू एवं निर्णायक मण्डलका सदस्यद्वय शेषनारायण महर्जन र शारदा डङ्गोल, नपाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताको नतिजा शारदा डङ्गोलले सुनाउनुभएको थियो । प्रतियोगिता माघ २५ र २६ गते भएको थियो ।
धिमे बाजा प्रतियोगितामा भनपा वडा नं. १० कमलविनायकको न्हुज धिमे खलः प्रथम, भनपा वडा नं. ९ दत्तात्रयको ख्वप धिमे खलः द्वितीय, छालिङ ५ चाँगुनारायण नपाको श्री गणेश दाफा भजन समूह तृतीय, नगाँचा १० भक्तपुरको नगाँचा धिमे बाजा खलः र भक्तपुर याछेँ ६ को द राइजिङ कल्चर ग्रुपले सान्त्वना स्थान हासिल गरेको थियो भने सूर्यविनायक नपा पान्डोबजार ६ को पान्डोबजार धिमाय् बाजा खलः र मध्यपुर थिमि गुंगचिवा ६ को गुंगचिवा धिमेले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई नगद रू. ३०,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, सिछ्या १ जोडी, द्वितीय स्थान हासिल गरेको टोलीलाई नगद रू. २५,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, तृतीय स्थान हासिल गर्न सफल टोलीलाई नगद रू. २०,०००।—, धिमे १ थान, सिछ्या १ जोडी र सान्त्वना हुन सफल दुईवटा टोलीलाई नगद रू. १०,०००।—, भुछ्या १ थान, धिमे १ थान प्रदान गरिएको थियो ।
सहभागी हरेक टोलीलाई एक एक जोडी भुछ्या प्रदान गरिएको थियो । समारोहमा निर्णायकमण्डलका सदस्यहरूलाई मायाको चिनोसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *