खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
– एक शिक्षक….
देशका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सधैँ बोलिरहेका हुन्छन् – ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ, भ्रष्टाचार गरे, सहन्नँ’ तर प्रधानमन्त्रीकै छत्रछायाँमा भ्रष्टाचार भइरहेका समाचार आइरहेका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनललगायत भ्रष्टाचारसम्बन्धी अध्ययन गर्ने संस्थाहरूले भौतिक निर्माणपछि सबैभन्दा बढी भ्रष्टाचार हुने क्षेत्र शिक्षा र स्वास्थ्य भएको औँल्याएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७५÷७६ को प्रतिवेदनले पनि भ्रष्टाचार हुने क्षेत्रमा शिक्षाले दोस्रो स्थान ओगटेको देखिन्छ । यो निष्कर्ष आयोगमा दर्ता भएका उजुरीका आधारमा निकालिएको हो । शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी १६.९५ प्रतिशत र नक्कली शैक्षिक प्रमाणपत्रलगायत लाइसेन्सबिनाका शिक्षकहरूको सङ्ख्या ८.५३ प्रतिशत रहेको देखिन्छ । शिक्षा क्षेत्रका कर्मचारी र शिक्षक नियुक्ति, सरुवा बढुवादेखि विद्यालयको भौतिक संरचना निर्माणमा घटी र बढी सबैतिर भ्रष्टाचार भइरहेको बताइन्छ । बजेटको अङ्कको तुलनामा निकै कमजोर शैक्षिक पूर्वाधार निर्माण भइरहेको देख्दा शिक्षा क्षेत्रमा भ्रष्टाचार छैन त भन्नै सकिंदैन ।
भ्रष्टाचार र अनियमितताको विरोध गर्ने जिम्मेवारी हरेक अभिभावक र शिक्षक शिक्षकाहरूको पनि हो । नागरिकको दायित्व पूरा गर्ने हो भने हामीले आ–आफ्नो समुदायमा देखिएका भ्रष्टाचारको विरोध सचेत र सङ्गठित भएर गरिहाल्नुपर्छ । शिक्षा आयोग पास गरेर सेवा सुरू गरेका हामीजस्ता शिक्षकको जिम्मेवारी खुरुखुरु विद्यार्थी मात्र पढाउने हो कि विद्यार्थीलाई योग्य बनाउन पहिला आफू योग्य हुनुपर्ने हो ? योग्यता मार्कशिट र सर्टिफिकेटमा मात्र हुने हुँदै होइन । यदि हामी नै आफ्नो आँखा अगाडि भइरहेको अनियमितता र भ्रष्टाचारलाई आँखा चिम्लिन्छौँ भने, भ्रष्टाचारका विषयमा बोल्दैनौँ भने पारदर्शिताबारे जान्न र बुझ्न हाम्रो पनि हक अधिकार हो भन्ने हेक्का राख्दैनौँ भने अवश्य पनि हामीले देशका लागि योग्य कर्णधार नागरिक उत्पादन गर्न सक्दैनौं । भ्रष्टाचारीले पढाएका विद्यार्थीहरू भविष्यमा भ्रष्ट नबनेर के बन्लान्न् ? सोचनीय प्रश्न छ । हामीले हाम्रा सन्ततिलाई योग्य नागरिक बनाउने हो भने, देशलाई भ्रष्टाचारमुक्त बनाउने हो भने, हामीले पढाएका सिकाएका बालबच्चाले भोलि देश चलाउने हो भने उनीहरू भ्रष्ट नबनुन् र नहुन् भन्ने सोच्ने हो भने आजैदेखि आफैँले पढाएको क्षेत्रमा हुने विकृति र विसङ्गतिविरूद्ध आवाज किन नउठाउने ? वास्तवमा शिक्षा क्षेत्रको भ्रष्टाचार अन्त्य नगरी देशको भ्रष्टाचार अन्त्य असम्भव नै छ ।
Leave a Reply