भर्खरै :

अन्तर नगर एथलेटिक्सको तयारी सुरु

भक्तपुर, २७ माघ । सहिद दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले फागुन ८ देखि १२ गतेसम्म अन्तर नगर एथलेटिक्स प्रतियोगिताको तयारी सुरु गरिसकेको छ । प्रतियोगिता सफल पार्न नपाले देशका विभिन्न नपामा सूचना पठाउने काम गरिरहेको छ । यसैबीच आइतबार अन्तर नगर एथलेटिक्स प्रतियोगिता मूल समितिको बैठक बस्यो ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एथलेटिक्स प्रतियोगिता पार्टीको घोषणापत्र र जनताबीच गरिएको प्रतिबद्धता पूरा गर्ने सिलसिला हो भन्नुभयो ।
एथलेटिक्स प्रतियोगिता देशभरिका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू जमघट या आगमन हुनेमात्र होइन आ–आफ्नो सीप र कला प्रदर्शन गर्ने एक अवसर पनि रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, यो खेलाडीहरूको सन्मान पनि हो, प्रशिक्षकले राम्रा राम्रा खेलाडी छान्न पाउने अवसर पनि हो ।
हरेक गतिविधिमा युवा पुस्ताको सहभागिता सकारात्मक रहेको चर्चा गर्दै उहाँले यहाँका कला, सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोचका साथ नपाले काम गरिरहेको बताउनुभयो ।
पर्यटकीय गन्तव्य बनाउन भक्तपुरलाई महोत्सवमय बनाइरहेको स्पष्ट पार्दै नगर प्रमुख प्रजापतिले विदेशी पर्यटकहरूको भरमा नबसी आफ्नै आन्तरिक स्रोत बढाएर जनताको पैसा जनताकै निम्ति उपयोग गरिरहेको बताउनुभयो ।
जम्मु काश्मीरको सन्दर्भमा भारत र पाकिस्तानबीचको बैमनस्यता, डेङ्गु रोगको सङ्क्रमण र भूकम्पको कारण भक्तपुरमा पर्यटकहरूको आगमनमा कमी आएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाल चीनको उहानमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणले पनि विदेशी पर्यटकहरूको आगमन घटिरहेको छ ।
भनपाका उपप्रमुख रजनी जोशीले अग्रजहरूको सुसंस्कृत नगर बनाउने सपना पूरा गर्न शैक्षिक, स्वास्थ्य सेवा र विकासबाहेक नपाले सांस्कृतिक र खेलकुद गतिविधि गरिरहेको चर्चा गर्दै समाजमा युवाहरुलाई राम्रा काम या गतिविधि गरेर समाजमा दिशाबोध गराउन र आफ्नो दायित्व जिम्मेवारीबोध गराउन प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
समाजमा आपराधिक गतिविधिलाई हतोत्साही बनाउन, समाजका सर्वसाधारण नागरिकको सुरक्षा दिन आत्मरक्षाको तालिम दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।
भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले हरेक कार्यक्रम सफल पार्न कठोर मेहनत जरुरी रहेको उल्लेख गर्दै प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
खेल मैदानको समस्या भए पनि खेलकुद गतिविधि गरिरहेको चर्चा गर्दै वडाध्यक्ष कवांले नेपाल भ्रमण वर्ष सफल पार्न चैत ४ देखि ८ गतेसम्म आयोजित भक्तपुर महोत्सव भक्तपुरको सांस्कृतिक स्थल अवलोकन गर्ने र देशकै आयस्रोत बढाउने एउटा अवसर पनि हो भन्नुभयो ।
बैठकमा युवा तथा खेलकुद समितिका संयोजक एवं वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र एथलेटिक्स खेलाडी कान्छीमाया कोजूले एथलेटिक्स खेलाडीको तयारी, गतिविधि र खेलको महत्वबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *