भर्खरै :

खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन नहुने

काठमाडौँ, २८ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चीनबाट फर्काइने नेपालीको क्वारेन्टाइन घना बस्तीबीचको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रलाई बनाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको बैठकमा उहाँले क्वारेन्टाइनस्थल घनाबस्तीबाट टाढा राख्नुपर्ने र त्यस्तो ठाउँ विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा मात्र तोकिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले जनताको विरोध हुँदाहुँदै मङ्गलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयमा सचिवहरू खरिपाटीस्थित तालिम केन्द्रमा पुगेर आवश्यक तयारी गरेको उपयुक्त नभएको स्पष्ट गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङलाई कम्प्युटर कक्षाको स्वीकृति विलम्ब गर्न नहुने

राष्ट्रियसभामा भएको नेपाल इन्जिनियरिङ्ग परिषद् पहिलो संशोधन विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफलमा सांसद सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालन भइरहेको ख्वप कलेज अफ इन्जिनियरिङमा कम्प्युटर विषयको स्वीकृति विलम्ब भइरहेको तर्फ विभागीय मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, “२०७४ साउन १ गते नै त्रिभुवन विश्वविद्यालयले कम्प्युटर विषय स्नातक तह सञ्चालनको अनुमति दिएको हो । नेपाल इन्जिनियरिङ्ग परिषद्ले २०७५ कार्तिक २५ गते कम्प्युटर कक्षा सञ्चालनको स्वीकृति दिएको हो । त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने विषय उठ्यो र विलम्ब भयो । अब छिट्टै स्वीकृति दिइनु आवश्यक छ ।”
सांसद सुवालले इन्जिनियरिङ परिषद्का पदाधिकारी सरकारी र सामुदायिक इन्जिनियरिङ कलेजका प्राध्यापकहरूबाट निर्वाचन गराई नियुक्ति गर्नुपर्नेमा जोड दिँदै इन्जिनियरिङ विषयको सम्बन्धन दिने विषय बढाउने, भौतिक पूर्वाधारको मापदण्ड तोक्ने र अनुगमन गर्ने जिम्मेवारी सम्बन्धित विश्वविद्यालयलाई दिनुपर्ने आवश्यकता औँल्याउँदै अनुगमन गर्ने जिम्मा परिषद्लाई दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत निर्णयको नाममा कसैलाई सजायबाट उन्मुक्ति दिन नहुने बताउनुभयो ।
विभिन्न देशमा भ्रष्टाचार मुद्दामा कार्यकारी राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई सजाय भएको चर्चा गर्दै उहाँले भ्रष्टाचारमा संलग्न कसैलाई छुट दिन नहुने बताउनुभयो ।
नेकाले माघ २३, २४ र २६ गतेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि मङ्गलबार सञ्चालन गर्न दिएको थियो । आफ्ना उपसभापति एवम् संसदीय दलका नेता विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा माघ २२ गते दर्ता गरेपछि नेकाले प्रतिनिधिसभा अवरुद्ध गरेको थियो ।
सभामुख अग्नि सापकोटाले अवरुद्ध गरिएको बैठकहरूमा अख्तियारले विशेष अदालतमा लगाएको मुद्दा संसद्बाट निरुपण नहुने भएकोले नेकालाई संसद् अवरुद्ध नगर्न आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *