भर्खरै :

भक्तपुर नगरपालिकाको छैटौँ नगरसभा सुरु

भक्तपुर, २८ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको छैटौँ नगरसभाको मङ्गलबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
जनताका समस्या जनतामाझ पुगेर छलफल गरेर समाधान गरे जनप्रतिनिधिहरूको कर्तव्य पूरा हुने विचार व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले युवाहरू विदेश पठाउने सरकारी नीतिले गर्दा देशको अर्थतन्त्र र समाज भताभुङ्ग भएको बताउनुभयो ।
राष्ट्रिय राजनीतिमा केन्द्रित भएर नेमकिपा अघि बढिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेमकिपाले स्वास्थ्य संस्थामा कहिल्यै हस्तक्षेप गरेको छैन । नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रलाई अझ क्रियाशील बनाउनुपर्छ ।”
चीनको उहानमा अध्ययन गरिरहेका नागरिकहरूलाई जहाँ पायो त्यहाँ राख्नुभन्दा विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा क्वारेन्टाइनको स्थलको मापदण्ड निर्धारण गर्नुपर्ने विचार अध्यक्ष बिजुक्छेँले व्यक्त गर्नुभयो ।
संरा अमेरिकाप्रति आलोचनात्मक दृष्टिकोण राख्नु उचित हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “अमेरिकाले कोरिया युद्धमा कीटाणु युद्ध गरेकै थियो, भियतनाम र इराकको युद्धमा रासायनिक युद्ध या हतियार प्रयोग गरेकै थियो । बेलायती उपनिवेशवादले अमेरिकी आदिवासीहरूको जग्गा र गाउँ कब्जा गर्न बिफरका कीटाणु भएको लुगा प्रयोग गरेकै थियो, यो विगतको गतिविधिले पनि अमेरिकाप्रति शङ्का गर्नु अन्यथा होइन ।”
एमसीसी संसदले अनुमोदन गरे नेपाल अमेरिकाको सैन्य केन्द्र बन्ने सम्भावना भएको हुँदा यो अवधारणा कुनै हालतमा पारित गर्न नहुने बताउँदै उहाँले भन्नुभयो, “एमसीसी अनुमोदनमा सही गर्ने परराष्ट्रमन्त्रीलाई राजीनामा गराएर भए पनि निकास खोज्नुपर्छ, त्यसमा लालमोहर लागेपछि नेपाल त्यसबाट पछि हट्ने कुनै उपाय नै हुने छैन ।”
अध्यक्ष बिजुक्छेँले चिनियाँ सरकार र चिनियाँ जनताले कोरोना भाइरसविरुद्ध साहसीपूर्वक लडिरहेको उल्लेख गर्दै संसारका अनेक घटनाक्रम तथा युद्धहरूमा अमेरिकी साम्राज्यवादको षड्यन्त्र
दृश्य/अदृश्यरूपमा रहने गरेको प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाका प्रमुख एवम् सभाका सभापति सुनिल प्रजापतिले भक्तपुर नपाको ६ महिनाको प्रगति समीक्षा प्रस्तुत गर्दै भक्तपुर नगरपालिकाको मौलिक पहिचानलाई कहीँकतैबाट हस्तक्षेप वा अतिक्रमण नहोस् भन्नेबारे नपाका जनप्रतिनिधिहरू सचेत रहेको बताउनुभयो ।
आ.व. ०७६/०७७ को लागि विनियोजित रकमको समीक्षा तथा नगरपालिकाको लागि आवश्यक ऐन, नियम, विनियम र कार्यविधिहरू नगरसभाले पारित गर्ने, पारित विधेयकहरू राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउने कानुनी व्यवस्था रहेको उहाँले बताउनुभयो ।
नेपालमा फैलिएको डेङ्गु रोग र हाल चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा कमी आएको औँल्याउँदै भक्तपुर नपा शिशुस्याहारदेखि कलेजसम्म आफ्नै स्रोत र साधनले शैक्षिक संस्थाहरू सञ्चालन गर्ने नेपालकै पहिलो नगरपालिका भएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशील जनताको सल्लाह सुझावलाई आधार बनाएर भक्तपुर नपा अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै पाँचदिने भक्तपुर महोत्सवमा हुने प्रदर्शनीमा नगरवासीहरूको साथ र सहभागिताको लागि आग्रह गर्नुभयो । “स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले भक्तपुर नपाको लागि जारी गरेको घोषणापत्रअनुरूप काम भइरहेको हो”, उहाँले भन्नुभयो ।
विशेष अदालतका पूर्वमुख्य न्यायाधीश गौरीबहादुर कार्कीले स्थानीय तहमा भ्रष्टाचारको जनगुनासो भएको अवस्थामा भक्तपुर नपा ७५३ वटा स्थानीय तहमध्ये उत्कृष्ट भएको बताउँदै कुनै पनि नीति नियम, ऐन–कानुन बनाउँदा जनताको सुझावअनुरूप भए त्यसको कार्यान्वयन प्रभावकारी हुने बताउनुभयो ।
उहाँले भक्तपुरमा पर्यटकहरूको बसाइ लम्ब्याउन नगरपालिकाको अगुवाइ आवश्यक भएको बताउँदै पर्यटन व्यवसायसम्बन्धी आवश्यक अध्ययन र छलफलमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाले नगर विकासको निम्ति आवश्यक नीति निर्णय लिनेछ भन्दै नक्सा पास, सामाजिक सुरक्षा भत्ता, वडा–वडामा नर्स परिचालन तथा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गरिरहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले नगरका शिक्षाप्रेमी जनताको चाहना ‘एक घर एक स्नातक’ नारालाई सार्थक तुल्याउन नपाद्वारा सञ्चालित कलेजहरूले महत्वपूर्ण भूमिका खेलिरहेको चर्चा गर्नुभयो । ख्वप इन्जिनियरिङ कलेजमा अध्ययरत विद्यार्थीहरूको नतिजा उत्कृष्ट भएकै कारण कलेजमा पढ्न देशभरिका विद्यार्थीको आकर्षण दिनप्रतिदिन बढ्दै गइरहेको बताउनुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप मावि र ख्वप कलेजमा विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीको तथ्याङ्क प्रस्तुत गर्दै एक घर एक स्नातकको अवधारणासँगै ख्वप विश्वविद्यालय स्थापना गरेर देशको लागि आवश्यक जनशक्ति तयार गर्ने यात्रामा भनपा लागिरहेको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठले नगरसभाको पूर्ण सफलताको कामना गदै भक्तपुर क्यान्सर अस्पतालको असहज स्थितिमा सहयोगी भूमिका खेल्ने भक्तपुर नपा र नगरवासीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । अस्पताल स्थापनाको २३ वर्ष बितिसक्दा पनि भक्तपुर क्यान्सर अस्पतालको समयसापेक्ष प्रगति र विकास नभएकोमा चिन्ता व्यक्त गर्दै डा. श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा सबै किसिमको क्यान्सर उपचार सेवा उपलब्ध रहेको अवगत गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर नपाले आफ्नै मातहतमा ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति ढिलो–चाँडो प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घ र प्रदेश सरकारले समयमै ऐन–नियम बनाएको खण्डमा स्थानीय तहलाई आफ्नो कार्य सञ्चालन गर्न सजिलो हुने बताउँदै देशभरिका ७५३ वटा स्थानीय तहमध्ये भक्तपुर नपाले उत्कृष्ट ढङ्गले काम गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाका जनप्रतिनिधिहरू, पूर्वजनप्रतिनिधि, विभिन्न संस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधि, शिक्षासेवी, समाजसेवी, विद्यालयका प्रधानाध्यापक, कर्मचारी, सहकारीकर्मी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
नगरसभाको अर्को बैठक फागुन १ गते बस्ने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *