काठमाडौँ, २९ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का सांसद प्रेम सुवालले काठमाडौँ उपत्यकामा चीनको उहानबाट फर्काइने नेपाली नागरिकलाई राख्ने विषयमा सरकारले विचार पु¥याउनुपर्छ भन्नुभयो ।
बुधबार प्रतिनिधिसभाको बैठकअन्तर्गत विशेष समयमा बोल्दै उहाँले उहानबाट फर्काइएका कुनै नेपालीमा कोरोना भाइरस सङ्क्रमण भएको पाइए र उनीबाट सङ्क्रमण फैलिए काठमाडौँका ८० लाख जनताले पीडा भोग्नुपर्ने हुँदा क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पु¥याएरमात्र निर्धारण गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “मानव स्वास्थ्यको हितमा ध्यान नदिई बस्तीबीचमा परेको भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनस्थल बनाउनको लागि सिफारिस गरेका सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निलम्बन गरी कारबाही गर्नुपर्दछ ।”
सांसद सुवालले बुधबार ‘कान्तिपुर’ दैनिकमा प्रकाशित चीनको आन्हुई प्रान्तस्थित हफेईको विज्ञान प्रविधि विश्वविद्यालयमा जनप्रशासनमा पोस्टडक गरिरहेका चिकित्सक लोचन बटालाको लेख उद्धृत गर्दै भन्नुभयो, “चीनमा रहँदा यो महामारीबाट पूर्ण असुरक्षित हुने र नेपाल फर्कदा पूर्णरूपमा सुरक्षित होइने सोच नै अवैज्ञानिक छ ।”
त्यस्तै मङ्गलबार वाग्मती प्रदेशको प्रदेशसभाको शून्य समयमा नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना सैंजूले छिमेकी देश चीनले कोरोना भाइरसजस्तो घातक भाइरसविरूद्ध लडिरहेको समयमा केही पश्चिमा सञ्चारमाध्यमहरूले अतिरञ्जनापूर्ण समाचार दिइरहेकोमा नेपाली जनतालाई सचेत बनाउन आवश्यक भएको बताउनुभयो ।
कोरोना भाइरस साम्राज्यवादी कीटाणु युद्धको नयाँ शिलशिला हुनसक्ने आशङ्का व्यक्त गर्दै सांसद संैजूले भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमण संरा अमेरिकाले पैmलाएको समाचारले बताउँछ । व्यापार युद्धमा सफल नभएपछि अमेरिकाले चीनविरूद्ध कीटाणु युद्ध सुरू गरेको त होइन ? इतिहासका कीटाणु युद्धहरूको थप अध्ययन तथा विश्लेषण यतिखेर आवश्यक अनुभव गरिइँदै छ ।”
यसैबीच भक्तपुरका विभिन्न क्षेत्रका जनताले चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा उहानबाट फर्काइएका नेपालीलाई क्वारेन्टाइनमा नराख्न माग गरेका छन् । सम्भावित सङ्क्रमणको भयले उनीहरूले मानवबस्तीभन्दा पर क्वारेन्टाइन राख्न माग गरेका छन् । सयौँ सर्वसाधारणको हस्ताक्षरसहितको विरोध पत्र बुधबार स्थानीय जनताले सहायक प्रमुख जिल्ला अधिकारी दिलिपकुमार लामिछानेलाई बुझाएका छन् ।