भर्खरै :

सरकार ढाल्ने षड्यन्त्र ः प्रम ओलीको ब्ल्यांक फायर

–प्रकाश
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो गृह जिल्ला झापाको दमकमा पुगेर सरकार ढाल्ने चलखेल बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । नेकपाको बहुमतसहितको सरकारको बागडोर सम्हालेका ओलीले यसअघि सरकारलाई अप्ठेरो पार्ने कोशिश भएको भन्ने गरेका थिए, तर यसपटक दमक पुगेर उनले ‘सरकार ढाल्ने कोसिस’ भइरहेको भनी बोले ।
सरकार ढाल्ने षड्यन्त्र कसले गर्दैछ भनेर नखुलाइकनै ओलीले भने, सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेका छन् । मुलुकको विकासको रफ्तारलाई रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने क्रियाकलाप जारी छ ।” प्रम ओलीको भनाइले धेरैलाई ‘आफू नाच्न नजान्ने आँगन टेढो’ नेपाली उखान स्मरण गरायो । आफ्ना र सरकारका कमजोरीहरू लुकाउन र जनताको ध्यान डात्र्ट गर्न ओलीले यस्तो कुरा गर्ने गरेको आरोप धेरैको छ ।
देशको राजनीतिको विश्लेषण गरिरहेका अधिकांश विश्लेषकहरू ओलीको दाबीमा सत्यता देख्दैनन् । सत्तासीन दल नेकपा आबद्ध बुद्धिजीवीहरू उक्त दाबीलाई आश्चर्यको विषय ठान्छन् । उनीहरू भन्छन्, सरकार ढाल्ने षड्यन्त्र भएको प्रधानमन्त्री ओलीको कुरा साँचो भए नेकपा भनेको भ्रममात्र हो, नेकपा एउटा पार्टी होइन एमाले र एमाओवादीको चुनावी गठबन्धनमात्र हो भन्नसक्नुपर्छ ।” राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले त प्रम ओलीमा गम्भीर मनोवैज्ञानिक समस्या भएको बताए ।
अधिकांश राजनीतिक विश्लेषकहरू ‘सरकार ढाल्न षड्यन्त्र भएको’ भन्ने प्रधानमन्त्रीको भनाइ ‘ब्ल्यांक फायर’ भएको टिप्पणी गर्छन् । फौजी युद्धमा शत्रुकोे पोजिसन पत्ता लगाउन ब्ल्यांक फायर गर्ने गरिन्छ, देशको राजनीतिमा पनि सरकारको प्रतिपक्षमा रहेकाहरूको स्थिति पत्ता लगाउन प्रम ओलीले ‘ब्ल्यांक फायर’ खोलेका हुन् ।
आफ्नै पार्टीभित्र र बाहिरकाहरूको टिप्पणी र अवस्था केलाइसकेपछि ओली र उनको सरकारले चाल्न खोजेका अरू पाइला चाल्ने छन् । सरकारले काम गर्न नसकेको विषयलाई विषयान्तर गर्ने खेल ओलीले खेलेका छन् ।
सरकारले जतिसुकै लामो प्रगति प्रतिवेदन पेश गरे पनि सरकारको गति औसतमात्र छ । ओली सरकारले आफूलाई नामअनुसारको वामपन्थी सरकार र जनताको लोकप्रिय मतबाट आएको सरकार सिद्ध गर्न सकेको छैन । उल्टो पश्चिमा साम्राज्यवादी शक्तिहरूको जालमा पाइला – पाइला गरी फस्दै गएको देखिएको छ ।
ओली सरकारले ५० अर्ब रुपैयाँको लोभमा अमेरिकी साम्राज्यवादको पाउमोल्न लागेको चर्चा नेपाली जनतामाझ व्यापक छ । सरकार ढल्ने र ढालिने भय देखाएर आफ्नो पक्षमा जनताको सहानुभूति सिर्जना गर्ने उद्देश्यले पनि प्रम ओलीले आशङ्काको तुवाँलो फैलाउन लागेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *