भर्खरै :

व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा राष्ट्रिय कला सङ्ग्रहालय पुनः निर्माणबारे छलफल

काठमाडौँ, ७ फागुन । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा ‘भक्तपुर नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाहरूको भूकम्पपछिको पुनःनिर्माण’ सम्बन्धी छलफल भयो ।
बैठकले भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला सङ्ग्रहालय रहेको सिंहध्वाका दरबार निर्माण गर्ने सम्बन्धमा पुरातत्व विभागका महानिर्देशक र संस्कृति मन्त्रालयले छिट्टै नै निष्कर्ष निकाल्नुपर्ने, भूकम्पपछिको पुनः निर्माण गर्न सम्बन्धित निकायबाट काठ उपलब्ध गराउनुपर्ने, रु. १० करोडसम्म सम्पदा पुनःनिर्माणको लागि उपभोक्ता समितिमार्फत गर्न स्वीकृति दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने निर्णय ग¥यो ।
बैठकमा राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका संयोजक रामनारायण बिडारीले २०७६ माघ ९ गते सरकारी आश्वासन अध्ययन उपसमितिको टोलीले २०७२ सालको भूकम्पपश्चातको पुनःनिर्माणको अवस्था र प्रगतिको स्थलगत निरीक्षण गरी त्यहाँ अवस्थित सम्पदाहरूको जानकारी लिएको बताउनुभयो ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मुख्य कार्य प्रत्यायोजित व्यवस्थापनसम्बन्धी काम, राष्ट्रिय महत्वको विषय दस्ताबेजीकरण र सरकारी आश्वासन कार्यान्वयन भए÷नभएको अनुगमन, राय–सुझाव सङ्कलन र निरीक्षण गर्ने रहेको उहाँले बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकाको पुरानो बस्तीका सम्पदा र निजी घर पुनःनिर्माण चुनौतीपूर्ण भएको औँल्याउँदै भक्तपुरले पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाहरू पुनःनिर्माण उपभोक्ता समितिमार्फत उल्लेखनीय ढङ्गले कार्य अगाडि बढाइरहेको बताउनुभयो ।
पुरातात्विक सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धारमा काठ खरिद प्रक्रिया निकै झन्झटिलो रहेको गुनासोप्रति ध्यानाकर्षण गराउँदै सांसद बिडारीले भक्तपुरको राष्ट्रिय कला सङ्ग्रहालय पुनःनिर्माणको कार्यलाई यथासक्य चाँडो पुनःनिर्माण गराउन समिति क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठकमा आमन्त्रित भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय कला सङ्ग्रहालय मल्लकालीन शैलीमा पुनः निर्माण गर्न भक्तपुर नपा, पुरातत्व विभाग र संस्कृति मन्त्रालयको संयुक्त बैठकले मल्लकालीन शैलीमा बनाउने निर्णय गरिसकेको जानकारी गराउँदै भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माण कार्य पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरणसँग नजिक बसेर सहकार्य गरी काम अगाडि बढाइरहेको बताउनुभयो ।
सम्पदा पुनःनिर्माणको निम्ति आवश्यक काठहरू सहजरूपमा उपलब्ध गराउन सम्बन्धित निकायमा निर्देशन दिनुपर्ने माग गर्दै प्रमुख प्रजापतिले भूकम्प पीडितलाई दिइँदै आएको अनुदान रकम र समयसीमा बढाउनुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख प्रजापतिले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका संयोजक रामनारायण बिडारीलाई सम्बन्धित निकायमा आवश्यक निर्देशन दिन निर्देशन मागपत्र हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *