भर्खरै :

बढ्यो मानव अधिकार उल्लङ्घनका घटना

काठमाडाँैं, ७ फागुन । गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ को भन्दा २०१९ मा करिब एक हजार ५३२ घटना बढी भएका छन् ।
इन्सेकले तयार पारेको अभिलेखअनुसार सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा छ हजार ६४२ पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विनयराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष सन् २०१८ मा यस्ता घटनामा पाँच हजार ११० पीडित भएका थिए ।
यस वर्ष मानवअधिकार उल्लङ्घनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी जम्मा ९३० तथा ज्यादतीका घटनामा पाँच हजार ५८ महिला र ६५४ जना पुरुष गरी जम्मा पाँच हजार ७१२ पीडित भएका छन् । यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा दुई, सप्तरीमा एक, सर्लाहीमा दुई, रुपन्देहीमा एक र कपिलवस्तुमा एक गरी सातको मृत्यु भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।
यस वर्ष यातनाका घटनामा १३, गिरफ्तारीका घटनामा ७०२, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा सङ्गठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ तथा कुटपिटका घटनामा २७९ पीडित भएका अभिलेखमा उल्लेख गरिएको छ । यसैगरी, यस वर्ष विस्थापनका घटनामा आठ र बेपत्ता पारिएको घटनामा दुई जना पीडित भएको अभिलेख छ ।
सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा तीन हजार ३६४ पीडित भएको अभिलेख भयो । सो घटनामा गत वर्ष दुई हजार ८३४ घटना भएका थिए । अभिलेखअनुसार बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९, घरेलु हिंसाका घटनामा दुई हजार ७९, कथित बोक्सीको आरोपमा ४२, बलात्कारका घटनामा ५३०, बलात्कार प्रयासका घटनामा १४३, यौन दुव्र्यवहारका घटनामा ६३ र बेचबिखन तथा ओसारपसार घटनामा ५१ महिला पीडित भएको जनाइएको छ ।
परिवाजनका सदस्यबाट १२९ महिलाको हत्या भयो । गत वर्ष यो सङ्ख्या १२० थियो । इन्सेकका अनुसार भने जति दाइजो नल्याएको आरोपमा १३ महिलाको हत्या भयो भने सोही कारणले ३०० महिला हिंसामा परेको उल्लेख गरिएको छ ।
बालबालिका अझै असुरक्षित
इन्सेकका अनुसार अझै पनि धेरै बालबालिका असुरक्षित रहेका छन् । बालश्रम, बालबालिका बेचबिखन तथा ओसारपसार, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चितीजस्ता बालअधिकार हननबाट बालबालिका पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।

यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा एक हजार ४४७ बालबालिका पीडित भएका छन् । उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायम छ । धेरैजसो बालविवाहका घटना प्रहरीसम्म आइपुग्दैन । विद्यालयमा दिइने शारीरिक दण्डका घटना अभिलेख भएकामा सबैजसो घटना मिलापत्रमा टुङ्गिने गरेको उल्लेख गरिएको छ ।
कारागारमा क्षमताभन्दा बढी कैदी
इन्सेकले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने र त्यसका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पहल नभएको पाइएको उल्लेख गरेको छ । इन्सेकका अनुसार महोत्तरीको जलेश्वर कारागारको कैदीबन्दी क्षमता १३५ रहेकामा अहिले ५३२ कैदीबन्दी छन् । देशभरका कारागारको क्षमता ११ हजारको हाराहारीमा भए पनि २३ हजारभन्दा बढी कैदीबन्दी छन् । क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिएका इन्सेकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *