भर्खरै :

महामारी पछार्दै चीन

शनिबार चीनको सिन्ह्वा समाचार एजेन्सीले सार्वजनिक गरेको समाचारअनुसार कोभिड–१९ भाइरसको सङ्क्रमणबाट मुक्त भएका मानिसको सङ्ख्या क्रमशः बढ्दै छ । गत शुक्रबारसम्म कुल २० हजार ६५९ जना सङ्क्रमितहरू पूर्णतः निको भएको चीनको सरकारी स्वास्थ्य संस्थाले जनाएको सिन्ह्वाको समाचारमा उल्लेख छ । गत शुक्रबारमात्र २ हजार ३९३ जना सङ्क्रमितहरू निको भएर अस्पतालबाट घर फर्केका थिए । कोभिड–१९ भाइरस सङ्क्रमणबाट हालसम्म २ हजार ३४५ जना मानिसको निधन भइसकेको छ । ७६ हजार २८८ जना मानिसमा भाइरसको सङ्क्रमण देखिएको छ ।
केही पश्चिमा सञ्चारमाध्यमहरू भाइरस सङ्क्रमण नियन्त्रणमा चीन असफल भएको भन्दै अतिरञ्जनापूर्ण प्रचारबाजी गर्दै हिँडेका छन् । चीनकै कमजोरीको कारण कोभिड–१९ को सङ्क्रमणले भयावह रूप लिएको उनीहरूको दाबीलाई पछिल्ला तथ्य–तथ्याङ्कले गलत सावित गरेको छ । चीनका जनता, सरकार र कम्युनिस्ट पार्टीको अहोरात्र मिहिनेतका कारण कोभिड–१९ को महामारी क्रमशः नियन्त्रणमा आएको र धेरै चाँडै महामारी पूर्णतः निर्मुलन हुने आशा गरिएको छ । चीनले भाइरसको सघन प्रभाव परेको क्षेत्र (फ्रन्टलाइन) मा सरुवा रोग उपचार गरिने थप अस्पताल स्थापना गर्नुका साथै चीनभरिका स्वास्थ्यकर्मी र पार्टी कार्यकर्तालाई परिचालन गरिएको छ ।
चीनले महामारी नियन्त्रण र रोकथामको लागि अपरिहार्य सामग्रीको उत्पादनलाई तीब्रता दिएको छ । झन्डै एक महिनादेखि सङ्क्रमण सघनरूपमा फैलिएका क्षेत्रका जनता कोठाभित्र छन् । तथापि चीन सरकारले यस्तो विषम परिस्थितिमा पनि अत्यावश्यक सामानको कमी हुन दिएको छैन । नियमित स्वास्थ्य परीक्षण र उपचारमा कहीँ पनि सम्झौता गरिएको छैन । विभिन्न देशले मैत्रीभावले दिएका सहायता सामग्री चीनले सहर्ष स्वीकारेको मात्र छैन, विभिन्न देशका अनुभव र आविष्कारसमेत आफ्नो परिस्थिति सुहाउँदो उपयोग गरेको छ । समाजवादी देश क्युुवाले विकास गरेको भाइरस प्रतिरोधी भ्याकसिन पनि चीनले उपयोग गरेको छ ।
सम्पूर्ण विश्वका सहृदयी जनताको न्यानो सहयोगको कारण चीन आज महिना दिन लामो महामारीबाट पुनः सामान्य जीवनतिर फर्किदै छ । चीनका अधिकांश सहरका सडकमा मानिसको आवतजावत र सवारी साधन क्रमशः बढ्न थालेको छ । नयाँ वर्ष मनाउन घर फर्केका मजदुर आफ्नो कार्यक्षेत्रमा फर्किन थालेका छन् । कारखाना र कार्यालय बिस्तारै खुल्न थालेका छन् । निःसन्देह महामारीले सबभन्दा चर्को हमला गरेको हुपेई प्रान्त र उहान सहर अझै पनि पूर्णतः स्वस्थ भएको छैन । लाखौँ लाखको सङ्ख्यामा चीनभरिका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयम्सेवक र पार्टी कार्यकर्ता आज हुपेई प्रान्तमा परिचालित भएर अन्तिम लडाइँ लडिरहेका छन् ।
हुपेईमा परिचालित सबै स्वयम्सेवी कार्यकर्ता र स्वास्थ्यकर्मी व्यक्तिगत जीवनका सबै पक्ष त्याग गरेर आज प्रतिरोध सङ्घर्षमा होमिएका छन् । चीन र संसारलाई महामारीबाट जोगाउने बाहेक उनीहरूको कुनै लक्ष्य देखिंदैन । उनीहरू कुनै बेला चीनको क्रान्तिमा योगदान गरेका क्यानाडाका चिकित्सक नर्मन बेथुन र भारतीय चिकित्सक डा. कोटनिसको भावनाबाट सिकेर महामारीको प्रतिकार गरिरहेका छन् । उनीहरूको लडाई चीन र चिनियाँजनताको लागि मात्र होइन । त्यसकारण यो सङ्घर्षमा संसारभरका जनताले एकजुट भएर अघि बढ्नुको विकल्प छैन । चीनबारे गलत प्रचारबाजी गरेर वा चिनियाँलाई होच्याएर न त चीनको हित हुन्छ न संसारका अरू कसैको । चीनले आखिरमा यो महामारीमाथि सफलता अवश्य हासिल गर्नेछ । तथ्याङ्कमा खेलेर र अतिरञ्जना फैलाएर गरेको भ्रमको खेतीले कसैको हित हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *