नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
– आरोही श्रेष्ठ
केही लेखकहरूले सोच सकारात्मक हुनुपर्छ भन्ने आग्रह र शिक्षाका साथ पुस्तक लेखेका छन् । त्यसमा लेखकहरूले कुन परिस्थितिमा कुन सोच सकारात्मक हो स्पष्ट पनि पारेका छन् । तर, हिजोआज अखबारमा समेत ‘नेपाली जनताको सोच नै नकारात्मक बढी छ र सकारात्मक सोचलाई बढावा दिनुपर्छ, सधैँ विरोध गरेरमात्र समस्या समाधान हुँदैन ।’ भन्दै उपदेश छाँटिएका लेख–रचना प्रकाशित भइरहेका छन् । प्रजातन्त्र वा लोकतान्त्रिक गणतन्त्रमा लेख लेख्नु व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हो, लेख्न सक्छन् । तर, ती तथाकथित लेखकहरूले आजको परिस्थितिमा नकारात्मक सोच हटाउने र सकारात्मक सोच बनाउने आग्रहभित्र अर्को नकारात्मक सोच घुसाएका छन् ।
सरकारबाट जनअपेक्षाविपरीतका काम भइरहेको बहुमत जनताको बुझाइ हो । सरकारमा रहेको पार्टीका नेताहरू नै सरकारी जमिन व्यक्तिको नाममा लाने र सम्पति हिनामिना गर्नेमा संलग्न रहेको प्रमाणसहित बाहिरिएको तथ्य हो ।
सरकारी सम्पति हिनामिना गर्नु अपराध हो । अपराधमा संलग्नमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ भनी माग गर्नु कुनै नकारात्मक सोच होइन । सरकारका मन्त्रीहरूदेखि सचिव, सहसचिव र विभागीय निर्देशकहरू घूस र कमिसन खानमा लागेको देखिएको छ । भ्रष्टाचारका कारण हाम्रो देश विकास हुन नसकेको, जनताले सुख अनुभूत गर्न नसकेको र देश विकासको निम्ति उपयोग हुनुपर्ने रकम केही व्यक्तिको भुँडी र विदेशी बैंङ्कमा जम्मा भइरहेको छ ।
यस्तो स्थितिमा सरकारले भ्रष्टाचारीमाथि कारबाही गर्नुपर्छ, कसैलाई राजनीतिक संरक्षण गर्नुहुँदैन भनी आवाज उठाउनुलाई सकारात्मक सोचको कमी मान्न सकिएला र ? महिनामा ३०–३५ हजार तलब खाने नायब सुब्बा तहको सरकारी कर्मचारीले दस वर्षभित्र अरबौँको सम्पति जोडे पनि उसमाथि कुनै शङ्का गर्नुहुँदैन, नकारात्मक सोच्नुहुँदैन भन्नुको अर्थ के हो ? के हामीले भ्रष्टाचारलाई पनि सकारात्मक नै सोच्नुपर्ने हो ? भारतले अतिक्रमण गरिराखेको नेपालको भूमि फिर्ता लिन सरकारले आवश्यक पहल गर्नुपर्छ भनी माग गर्नु नकारात्मक सोच हो ?
Leave a Reply