भर्खरै :

जन्म दिनको केकमा चिरिएको देश

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म दिन मनाउने क्रममा तेह«थुमस्थित आफू जन्मेको गाउँमा आयोजित कार्यक्रममा नेपालको नक्सा अङ्कित केक काट्नु खेदजनक छ । देशलाई माया गर्ने कोही पनि व्यक्तिले गर्न नसक्ने काम उनले गरेका छन् । प्रधानमन्त्रीको यो कामले देशभक्त जनताको मन दुखेको छ । भारतले नेपालको सिमाना मिचेर त्यसै पनि दुखेको नेपाली मनलाई प्रधानमन्त्रीले आफ्नो जन्म दिनमा गरेको यस्तो कामले अझ आक्रोशित बनाएको छ ।
कुनै बेला सोभियत क्रान्तिका नेता लेनिनको पूर्ण कदको केक काटेर उनको अपमान गरिएको थियो । यो कार्यको संसारभर निन्दा भएको थियो । संसारभर लेनिनका विचार र योगदानबाट प्रभावित जनतालाई यो कामले निकै आक्रोशित बनाएको थियो । लेनिनको केक काट्नु लेनिनको सम्मान थिएन, अपमान थियो । अहिले देशका प्रधानमन्त्रीले देशकै केक काटेर देशको अपमान गरेका छन् । सो घटनाबारे उनले अहिलेसम्म सार्वजनिकरूपमा केही बोलेका छैनन् । तर, उनका केही कार्यकर्ताले विभिन्न कुतर्क गरेर यो कामको प्रतिरक्षा गर्न खोजेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले यसरी देशको केक काट्नुलाई ‘अन्तर्राष्ट्रिय अभ्यास’ भनेका छन् । उनले विभिन्न देशको उदाहरणसमेत दिए । तर, कुनै देशको उदाहरण दिएर नेपालमा देशको केक काट्न पाउनुपर्छ भन्ने मान्यतालाई स्वीकार्ने हो भने नेपालमा गाईको वधशाला बनाउन दिनुपर्ने हुन्छ । किनभने विभिन्न देशमा गाईको मासु खाने चलन छ, के नेपालले अन्तर्राष्ट्रिय अभ्यास भनेर त्यसैको अन्धानुकरण गर्न मिल्छ ¤
सबै देशका देशभक्त जनताले आफ्नो देशप्रति गौरव गर्छन् । हालै चीनका महान् नेता माओ त्सेतुङको तस्वीरमा मास्क लगाएको विषयमा नेपालस्थित चिनियाँराजदूतावासले खेद वक्तव्य प्रकाशित गरेको थियो । देशभक्तिको यो एउटा उदाहरण हो । विडम्बना ¤ नेपालमा आफूलाई देशभक्त दाबी गर्ने प्रधानमन्त्रीले देशकै केक काटे । योभन्दा खेद र लज्जाको विषय के हुनसक्छ ¤
यो घटनाले प्रधानमन्त्री ठगहरूको घेरामा रहेको पुनःपुष्टि भएको छ । के गर्दा जनताको भावना सम्मानित हुन्छ र के गर्दा प्रधानमन्त्री आलोचनाको पात्र बन्न सक्छन् भन्ने विषयमा उनका सल्लाहकार र कार्यकर्ताले चिन्तन मनन गर्नुपर्ने हो । हान्स क्रिस्चियन एन्डरसनको कथाका ‘नाङ्गो बादशाहका मन्त्रीहरू’ जस्तै राजाको नग्नतालाई पनि प्रशंसाले पुर्ने सल्लाहकारको चौघेरामा आज ओली घेरिएका छन् ।
जसरी देशको राष्ट्रिय झन्डा, नोट, नक्सा र संविधान जलाउनु कानुनतः अपराध हो, त्यसरी नै देशको नक्साको केक काट्नु पनि अपराध हो । कानुनले झन्डा, नोट, नक्सा र संविधान जलाउनेलाई जसरी कानुनतः कारबाही हुन्छ, त्यसरी नै देशको केक काट्नेलाई पनि कानुनको दायरामा ल्याइनुपर्छ । शक्तिमा हुँदैमा कोही पनि कानुनभन्दा माथि हुनसक्दैन । प्रधानमन्त्रीले जन्म दिनमा देशको केक काट्ने गल्तीबापत सजाय पाउनुपर्छ अथवा उनले सार्वजनिक माफी माग्नुपर्छ । यसलाई कुनै पनि कुतर्कले सही पुष्टि गर्ने प्रयास व्यर्थ छ ।
एकपछि अर्को विवाद र असफलता सामना गरिरहेका प्रधानमन्त्रीले अब के गर्नु ठीक र बेठीक भन्ने निक्र्योलसमेत गर्न नसक्ने भएका छन् । यसको फाइदा उनको वरपर बसेका ‘नाङ्गो बादशाहका मन्त्रीहरू’ ले उठाइरहेका छन् । तर, लज्जाबोध भने देश र जनतालाई भएको छ । देश कुनै जन्म दिनको केक हुनसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *