भर्खरै :

कार्यकारी अध्यक्ष दाहाल कि ओली !

– अर्जुन बस्ताकोटी
पुष्पकमल दाहाल कानुनतः कार्यकारी अध्यक्ष भए पनि व्यवहारतः केपी ओली नै कार्यकारी अध्यक्षजस्तै भइरहेका छन् । कार्यकारी अध्यक्ष दाहालको अनुमति या सिफारिसविना केपी ओलीले निर्णय गर्न पाउने या निर्णय गर्ने तर केपी ओलीको अनुमतिविना दाहालले केही निर्णय गर्न नपाउने असन्तोष दाहालमा नभएको होइन । दाहाललाई कार्यकारी अध्यक्षको जिम्मा दिएपछि पार्टी बैठक भने पहिलेको तुलनामा बढी चलेको देखिन्छ । दाहाल कार्यकारी अध्यक्ष भएको हैसियतले पार्टीसम्बन्धी कुनै कुरा बुझ्न, पार्टी गतिविधि गर्न, पार्टीको प्रतिवेदन बुझाउन, पार्टीको मातहतमा बनेको कार्यदलको प्रतिवेदन बुझाउनुप¥यो भने अध्यक्ष दाहाललाई पहिले दिनुपथ्र्याे । त्यसो गरिँदैन भने दाहाल नाउँमात्रको कार्यकारी अध्यक्ष हुन्छ । एमसीसीबारे थप कुरा बुझ्न झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदन सबभन्दा पहिले दाहाललाई बुझाउनुपथ्र्याे । तर, त्यो प्रतिवेदन ओलीलाई बुझाइसकेपछि मात्र दाहाललाई हस्तान्तरण ग¥यो । पार्टीले बुझाएको प्रतिवेदन ओलीलाई पहिले बुझाउनुको अर्थ ओली व्यवहारतः पार्टीकै मुख्य अध्यक्ष रहेको सङ्केत गर्छ ।
सरकारी प्रतिवेदन भए प्रमको हैसियतले सबभन्दा पहिले केपी ओलीलाई बुझाउनु ठीक हो । एमसीसीबारे अध्ययन गर्न पार्टीले जिम्मा दिएको कार्यदलको प्रतिवेदन पार्टीलाई नबुझाउँदै या कार्यदलको प्रतिवेदनबारे कुनै कुरा नबुझी प्रम ओली, अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी जसरी भए पनि पारित हुने बताए । एमसीसीको योजनाबारे पार्टीभित्र विवाद भएपछि नै कार्यदल गठन भएको हो । गठित कार्यदलको प्रतिवेदनबारे कुनै विचार विमर्श नै नगरी एमसीसी जसरी भए पनि पारित गर्ने भनी प्रम र मन्त्रीहरूले बोल्नु हुँदैनथ्यो । त्यसरी बोल्नुको अर्थ पार्टीले जिम्मा दिएको कामको बेवास्ता गर्नु हो, जिम्मा लिएका नेताहरूलाई अपमान गर्नु हो । यसरी प्रम ओली पार्टीको निर्णय र जनादेशविपरीत लम्किरहेका छन् । सायद यो ठूला दलको ठूलो नेता हुनुको अभिमानी हो कि ¤
पार्टीको अनुमति या परामर्शविना प्रधानमन्त्री ओलीले सरकार चलाइरहेको हुँदा पार्टीभित्र विवादको घेरा बढेको हो । पार्टीभित्र विवाद बढ्नु र पार्टी लामो समयसम्म सञ्चालन नभएपछि बसेको पार्टी बैठकले सरकारले पार्टीलाई होइन, पार्टीले सरकार चलाउनुपर्छ भन्ने निष्कर्ष निकालेको हो । तथापि अहिले पनि कार्यकारी अध्यक्ष दाहाललाई छायाँमा पारेर ओलीले आफैँ कार्यकारी अध्यक्षजस्तो भएर काम गरिरहेका छन् ।
पार्टी अध्यक्ष दाहाललाई ‘कार्यकारी’ पदको लोभ देखाएर पालैपालो प्रधानमन्त्री हुने विगतको समझदारी उल्टाउने काम ओलीले नै गरेका हुन् । समझदारी उल्टिनुअघिसम्म अध्यक्ष दाहालले कम्तीमा साढे दुई वर्ष प्रधानमन्त्री बन्ने हेक्का राखेका थिए । यसरी प्रम ओलीले आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई छायाँमा राख्ने काम गरे । अध्यक्ष दाहालले फेरि प्रम नताकेका भए पूर्वमाओवादीका नेता अग्नि सापकोटालाई कुनै हालतमा सभामुख बनाउँदैनथे । केपी ओलीको पूर्वएमालेका सुवास नेम्वाङलाई नै सभामुख बनाउने चाहना थियो । पार्टीभित्र विचारविमर्श गरेर निर्णय नगरिकन आफ्नै छत्रछायाँमा राखेर राजनीति अघि बढाइरहेको हुँदा पार्टी बाहिरमात्र होइन पार्टीभित्रै केपी ओलीको विरोध भइरहेको हो । तर, विचारको हिसाबले ओली र दाहाल दुवैमा कम्युनिस्टको सिद्धान्त र विचार मेटेर गएको देखिन्छ । यो कम्युनिस्ट आन्दोलनको निम्ति गतिलो कदम होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *