क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
डा. प्रयागराज शर्मा
नेपाल उपत्यकामा लिच्छविहरूको प्रवेश अघि वंशावलीलगायत अन्य नेपालका पारम्परिक आख्यानहरूले किराती राजवंशको राज्यकालको उल्लेख गर्दछन् । किराँतपूर्व पनि गोपालवंशी र महिषपालवंशी अन्य दुई वंशको शासनको तिनमा उल्लेख पाइन्छ । लिच्छवि पूर्वको यो आदिमकाल वर्तमान ऐतिहासिक लेखन र मूल्याङ्कनबाट हेर्दा सामान्यतया अनार्यकालीन संस्कृतिको अवशेष थियो होला भन्ने अनुमान हुन्छ । यिनको धेरथोर–अवशेष यिनीहरू जातीय समाजभित्र पूरै नपचुन्जेलसम्म लिच्छवि वा त्यसपछिका कालसम्म पनि रहिरहेको हुनुपर्दछ । लिच्छवि शिलालेखमा प्रयुक्त संस्कृत इतरका थुप्रै स्थाननाम, नदी आदिका नामबाट उपत्यकामा संस्कृतपूर्व कालको एउटा स्पष्ट ऐतिहासिक रूपरेखा नबने पनि त्यसको झिनो आभास हामीलाई हुन्छ । यस कालको एउटा प्रतीति लिच्छवि भूमि–व्यवस्थाका प्रसङ्गमा कर असूल गर्ने सकिन्छ । शायद् लिच्छवि अभिलेखको ‘अष्टादश प्रकृति’ भन्ने वाक्यांशबाट (वसन्तदेवको थानकोट अभिलेख) यही बहु–जाति र विविधतापूर्ण समाजका अभिव्यक्ति भएजस्तो लाग्दछ । जसको अर्थ हो नेपालको प्राचीनतम् ऐतिहासिक लिच्छवि समाजमा वर्ण सिद्धान्तको ज्ञान त छँदै थियो तर साथसाथै जातिगत सिद्धान्तमा विभाजित हिन्दू समाजको अभ्युदय पनि राम्रै भइसकेको थियो ।
अब हामी यहाँ वर्ण अथवा जातिको वर्ग (Class) वा दर्जा–विभाजित समूह (status groups) सँग कस्तो समन्वय स्थापित हुन सक्छ भनेर पनि अलिकति हेरौं । कतिपय विद्धान्हरूको विचारमा भारतीय जाति व्यवस्था आफ्नै परिवेश वा अवस्थामा रचिएको अन्ततोगत्वा वर्ग चरित्रकै एउटा स्वरूप हो, खालि वर्ग संरचना गर्दा वर्ग–वर्गकाबीच सामाजिक आवागमनको ढोकालाई बन्द गर्ने एउटा कट्टर परिपाटीमात्र यस जाति समाजको विशेषता हो । हामी यस प्रश्नलाई यहाँ विस्तारमा उठाउन चाहँदैनौ । तापनि कुनै पनि आदिम अवस्थाभन्दा माथि उठेको समाजको केही न केही वर्गीय चरित्र स्वभावतः बनिसकेको हुन्छ भन्ने सामान्य अवधारणा यहाँ राख्न सकिन्छ । त्यसै अनुरूप लिच्छवि समाजको विभाजन यदि वर्ग मान्यताको आधारमा गर्ने हो भने पनि मोटामोटी रूपमा हामीले लिच्छवि समाजभित्र वर्ग निर्माणका आठ आधारहरू पैल्याएका छौँ । यी आधारहरूको विस्तृत चर्चा तलको मजबून त्यसैको निचोडमात्र हो ।
(क) जन्मः÷जन्म सिद्धान्त एउटा समाज प्रदत्त मूल्य (ascriptive valu) वा मान्यता हो । जाति व्यवस्थाको धुरी खाँवो (main pillar) पनि यही हो । वर्ग रचनामा पनि यस सिद्धान्तको उपेक्षा भएको देखिँदैन ।
(ख) ब्राह्मणहरूलाई दिइएको सर्वोच्च स्थानः त्यस बेलाको समाजको धार्मिक सांस्कृतिक भावना अनुरूप छ र यो पनि समाज प्रदत्त (ascriptive) मान्यता हो । हिन्दू वर्ग विभाजन अर्को मुख्य आधार यही हो । ब्राह्मणको उच्च धार्मिक स्थानले गरेर नै ब्राह्मणलाई दिएको भूमि, गाई, हिरण्य, वस्त्रादि दानबाट पुण्य बढ्छ भन्ने विश्वास विशेष गरेर शासक वर्गमा व्याप्त थियो ।
(ग) वर्ग रचनाको अर्को मूल सिद्धान्त भू–स्वामित्व हो । आफ्नै नाममा भूमि राख्न सक्ने वर्ग भूमिहीन वर्गभन्दा माथिल्लो तहको सम्झिइन्छ । हिन्दूराज्य पद्धतिअनुसार भूमिमाथि मुख्य अधिकार राजा (‘भूपति’) को हो । यसबाट राज्यको शासनाधिकार र भू–स्वामित्वका बीच गहिरो सम्बन्ध स्थापित देखिन्छ । प्रान्तीय शासक, सामन्त अथवा राजपरिवारलाई दिइएको भूमि पनि सुरुमा केन्द्रीय राजसत्ताकै अनुग्रहबाट तिनलाई प्राप्त भएको हो र राजाले त्यस्तो त्यसको सीमित उपभोगको अधिकार सम्बन्धित भू–स्वामीहरूलाई दिएको सम्झनुपर्छ । यस्तो परिपाटी र मान्यताअन्तर्गत राजा, शासकवर्ग र सामन्तलाई भूमिको ठूलो परिमाण एकत्रित हुनु स्वाभाविक हुन्छ । मध्यम र साना परिमाणका भू–स्वामित्व राख्ने समूहहरूमा देवकुल, पाञ्चाली, गोष्ठी, शालाजस्ता समुदाय प्रमुख देखिन्छन् । त्यस्तै विभिन्न विहारसङ्घ, आर्यसङ्घ, आर्यभिक्षुणीसङ्घ जस्ता बौद्ध सम्प्रदाय अथवा पाशुपत, मुण्डक्षृङ्खलिकजस्ता शैव सङ्गठन वा नारायण स्वामीजस्ता वैष्णव सम्प्रदायी ब्राह्मणहरू पनि भू–स्वामित्व राख्ने अन्य समूहहरू हुन् । यस्ता समूहमध्ये कतिलाई ‘अचाट भट कोट्ट मर्यादा’ अर्थात् सम्पूर्ण करले मुक्त गरी ठूलो परिमाणमा अग्रहार ग्राम पनि प्रदान गरिएको प्रधानान्’ जस्तो सर्वप्रचलित वाक्यांशले गाउँमा ब्राह्माणका अतिरिक्त अन्य प्रतिष्ठित भू–स्वामीहरू (local landed gentries) पनि रहेको आभास पाइन्छ । यी सबै भू–स्वामीहरू यसै वर्गमा पर्न आउँदछन् । यसका अतिरिक्त भूमिबाट वृत्ति ठेकिएका राज कर्मचारी पनि भूमि राख्ने वर्गका उदाहारणभित्र पर्न आउँदछन् (शर्माः १९८३ः २८–३०) ।
(घ) पर्याप्त उद्यम, साहस र सीप चाहिने, विशेष गरी टाढा टाढाका प्रदेशकाबीच वाणिज्य व्यापार खुलाउने ‘सार्थवाह’ को समाज पनि एउटा आफ्नै प्रतिष्ठित वर्ग बनेर बसेको हुनु पर्दछ ।
(ङ) स्वयं आफ्नै हकको भूमि केही नभएका तर पूरै कृषि पेशामा आश्रित मोही र विभिन्न पेशा–जीवि जातिहरूको (occuoational castes) अर्को वर्ग बन्दछ । यसबाहेक अन्य अनेकन किसिमका लघु–पेशाबाट जीवन निर्वाह गर्ने ‘दिग्वार र गिनुङ् वृत्तिभुज’ अथवा विभिन्न ‘तैलशाला’, ‘नीलीशाला’, ‘ताम्रकुट्टशाला’ जस्ता विविध पेशागत जातिको वर्ग पनि यसैभित्र पर्छ भनेर भन्न सकिन्छ ।
(च) अर्को वर्गमा पुरुष वा नारीले बनेका दास–दासी पाइन्छन् । यस्ता दास–दासीलाई देवदासी वा दासका रूपमा मन्दिरका कार्यमा चढाउने अथवा तिनलाई विभिन्न गृह वा कृषिकार्यमा लगाउने चलन चलेको स्वयं आफूमा थिएन र यिनलाई पशुझैं खरीद–बिक्री पनि गर्न सकिन्थ्यो होला ।
(छ) अर्को वर्गमा शायद उपत्यका बाहिर पहाड प्रदेशबाट डोका, डाला, मान्द्रा, दाउरा, काठ, गोल, जडीबुटीजस्ता जङ्गल पैदावार ल्याउने वा विभिन्न पशुपंक्षीको शिकार गरेर ल्याउने पर्वतीय जङ्गली जाति पर्दछन् ।
(ज) अर्को वर्गमा हेय सम्झिइने केही निश्चित पेशालाई अपनाउँदै त्यसबाट आफ्नो जीविका धान्ने परिवार र समूह पर्दछन् । यो निम्नतम वर्ग हो । यस्तो पेशाको यापनबाट यिनले उपल्ला जातको परिवारलाई तिनको विधि–सेवा प्रदान गर्न सहयोग पु¥याउँथे । यस वर्गमा बिटिला र अस्पृश्य जातिहरू पर्दछन् ।
यसपछि केही विस्तारमा लिच्छवि भूमि–व्यवस्थाको चर्चा यहाँ गर्नु आवश्यक हुन्छ । किनकि नेपाल उपत्यकको सामाजिक संरचनाका केही आधारभूत तत्वलाई निर्माण गर्न त्यहाँको भूमि–प्रशासन वा भूमि–व्यवस्थाको भूमिका बलियो अनुमान हुन्छ । पूर्व–मध्यकालिक नेवारहरूको जातीय बनोटका दुई वा तीन प्रमुख आधारभूत तत्व देखिन्छन् । तिनमा एउटा तत्व नेवार आनुवंशिक संरचना शैली (lineage structure), व्यवहार र काम गर्ने ढङ्ग हो भने, त्यसको अर्को वैशिष्ट्य हो गुठी संस्था र गुठी सङ्गठनलाई प्रयोग गरेर जातीय समाजलाई अझ सुदृढ र संरक्षित गर्नु । त्यस्तै एकै स्थान वा क्षेत्र वरिपरिसँगै बसोबास गर्ने स्थानीयताको चरित्र (proximity in settlement and territoriality concept) दर्शाउने नेवार जातको जातीय विशेषता पनि लिच्छविकालिक भूमि व्यवस्थाकै शायद् एउटा देन हुनसक्छ भन्ने हाम्रो धारणा छ । लिच्छविकालिक विभिन्न द्रङ्ग र ग्रामभित्र बस्ने समाजलाई (‘ग्राम कुटुम्बिन्’) सँगै बसोबास गराउँदा तद् तद् गाउँमा तिनलाई सुनिश्चित करसम्बन्धी छूट वा सुविधा र ग्रामको भूमि प्रशासनमा स्थानीय तहमा सीमित अधिकार दिने लिच्छवि शासकहरूको एउटा दीर्घकालीन नीति रहेको देखिन्छ । यस विचारलाई नेपालका लिच्छविको भूमि व्यवस्था नामक आफ्नो लेखमा शर्माले यसरी व्यक्त गरेका छन्ः
‘(लिच्छवि) राजाहरू ग्राम वा स्थानीय राजकर्मचारीहरू नियुक्त गर्न उत्सुक देखिन्थे साथ साथै उनीहरूको ध्येय पाञ्चाली नाम गरेका समूहहरूलाई ग्राम–सीमाभित्र स्थापना गर्दै जाने दिशामा पनि अग्रसर थियो । यी नव–निर्मित पाञ्चाली समूह एक–आपसका नजिक नजिक बस्ने र गाउँभित्र एक अर्कोलाई सहयोग गर्ने गर्दथे किनकि यिनीहरूका सदस्य एउटै आर्थिक, सामाजिक र धार्मिक सूत्रमा आबद्ध थिए … यो व्यवस्था पछि त्यस समयका अरू धेरै ग्राम बस्तीमा पनि लागू गरियो, जसबाट राजदरवार र राजाको प्रत्यक्ष नियन्त्रणमा सम्पूर्ण ग्राम–प्रशासनलाई केन्द्रीकरण गरियो … ।’
“अंशुवर्माको राज्यकालमा, पाञ्चाली समूहको प्रादुर्भावबाट हामीले लिच्छवि भूमि प्रशासनमा निकै अन्तर आएको देख्न सक्दछौँ । तिनीहरूको परिवर्तनशीलताले तात्कालिक नेपाल उपत्यकाको सामाजिक र सांस्कृतिक जीवनमा दूरगामी असर पारेको थियो … पाञ्चाली शब्दले, लिच्छवि शिलालेखहरूको सन्दर्भमा, गाउँका जग्गाका धनी र कृषकबाट बनेको एउटा समूहलाई जनाउँछ जसलाई राजाले तोकेको धार्मिक अथवा व्यावहारिक कृत्यको अभिभारा सम्पिएका हुन्छन् र जसलाई बदलामा राजाले केही भूमि कर–माफी अथवा कर–सहुलियत दरमा खेती गर्न दिएका हुन्छन् । तिनीहरूलाई यस्तो भूमि सामूहिक रूपमा प्रदान गरिएको हुन्छ र जसको आयस्ता पनि समूहको सदस्यको नाताले प्राप्त हुन्छ । त्यस्ता समान अभिभारा तर समान आयस्ताको हक राख्ने समूहहरूका सदस्यलाई पाञ्चालिक भनिन्थ्यो ।”
तर, यस्तो नीतिलाई लिच्छवि शासकले एउटा व्यापक वा एक समान कानुनका आधारमा लागू नगरेर प्रत्येक गाउँका निम्ति बेग्लाबेग्लै निगाहका रूपमा राजप्रसादद्वारा व्यवस्था गरेको देखिन्छ । यही नीतिले गर्दा त्यसपछिका कालमा गएर उपत्यकाका गाउँ, गाउँ र बस्ती, बस्तीले आफ्नै स्थानीयताको परिचायक पृथक–पृथक जात्रा, आफ्नै ग्राम र ईष्ट देवता र अन्य विभिन्न सामाजिक प्रचलनको निर्माण गरेको देखिन्छ ।
लिच्छवि राजशासनले त्यस समयका प्रचलित अन्य विभिन्न सांस्कृतिक, धार्मिक बौद्ध, शैव र वैष्णव समुदायलाई पनि एकै थलोमा भूमि दिने गरेको कुरा माथि नै गरियो ।
माथि वर्णित पाञ्चाली र अन्य समूहजस्तै अर्को प्रमुख समूह थियो ‘देवकुल’, जसको उल्लेख पनि बराबर लिच्छवि शिलालेखमा आउँछ । यस्ता समूहलाई देवता–विशेष अथवा मन्दिर–विशेषको पूजा–आजा, स्याहार–सम्भारको जिम्मा लाउनेजस्ता कुराको सन्दर्भमा उल्लेख आउँछ । यसको बदलामा ‘देवकुल’ भित्रका सदस्यलाई सँगै बसोबास गराउने र त्यस्तो भूमिको भोगचलन र आयस्ताबाट तिनलाई जीविका दिलाउने र तिनलाई त्यस्तो भूमिमा आश्रित गराउने एउटा सुनिश्चित नीति यस समयमा व्यापक बन्दै गएको देखिन्छ । लिच्छवि भूमि प्रशासनले समस्त राज्यको भूमिलाई यसप्रकार विभिन्न वर्ग र समूहमा स्थायी भोग चलनको अधिकार प्रदान गर्ने दीर्घ नीति अपनाएको देखिन्छ । यसको उद्देश्यमा विविध दिशाबाट ग्राममा बस्न आउने नवागन्तुक समूहलाई त्यहाँको भूमिमा बसोबास गराउन प्रोत्साहित गर्ने, शासकले विश्वास र श्रद्धा गरेका विभिन्न देव–देवीको अर्चना र मन्दिरको स्याहार–सम्भार कार्यमा तिनलाई संलग्न गराउने कुरा मुख्य पर्दथ्यो ।
‘देवकुल’ हरूको प्रसँग कहीँ प्रत्यक्ष र कहीँ अप्रत्यक्षरूपमा भूमि सिमानाको उल्लेख गर्दा पनि व्यक्त गरेको पाइन्छ । यिनमध्ये केही देवकुलका नामहरू शिवक देवकुल, माटिन्देवकुल, भुवनेश्वर देवकुल, नारायण देवकुल, पुत्तिनारायण देवकुल वा षष्ठी देवकुल हुन् । यस्तै अर्को हंसगृहदेव पनि ‘देवकुल’ समूहकै देवता थिए ।
यस्ता समूहलाई भूमि प्रदान अथवा भूमिको भोगचलन दिंदा प्रयोग गरिने भाषाको एउटा नमुना यस प्रकारको छ ः
“टुटेफुटेका ईटाका अन्तरबाट पसेका न्याउरी मुसा र मुसाका बथानले भताभुङ्ग पारिदिएको ढोकाका खापा झ्यालहरू केही बाँकी नरहेको, काठपातहरू जीर्ण भइसकेको माटिङ् (ग्राम) को देवकुललाई जतनसँग जीर्णोद्धार गरेर, सो देवकुल पछि धेरै कालसम्म राम्रो हालतमा रहिरहोस् भन्नाका लागि, माटिङ्ग्रामको दक्षिणतर्फ बीसले चौसट्ठी मानिका र दक्षिण–पश्चिममा (बीसलेनै) छ, मानिका पिण्डक (कूत) आउने खेत कोइलाकाँटी गरी माटिन्ङ्गामका पाञ्चालिकहरूलाई सुम्पिएको छ’ (सामान्य हेरफेरका साथ धनबज्र बज्राचार्यको नेपाली अनुवादमा आधारित) ।
पाञ्चालीका अतिरिक्त भूमि प्राप्त गर्ने अर्को समूहगत वर्ग ‘गोष्ठी’ वा ‘गोष्ठिक’ हरूको थियो । यिनीहरूलाई पनि पूजा, अर्चना, जात्रा, पर्व, सेवा र आमोद–प्रमोदको अवसरमा । निश्चित कार्य सम्पादन गरे वापत लिच्छवि राजाहरूले भूमि दिएको पाइन्छ । केही यस्ता ‘गोष्ठी’ हरूको नाम यसप्रकार उल्लेखित पाइन्छः भगवत्वासुदेव ब्राह्मण गौष्ठिक, इन्द्र गौष्ठिक, प्रदीप गौष्ठिक, पानीय गौष्ठिक, मल्लयुद्ध गौष्ठिक, धूप गौष्ठिक, वादित्र गौष्ठिक, अर्चा गौष्ठिक, ध्वज गौष्ठिक, प्रणाली गौष्ठिक, इत्यादि ।
यी माथिका विभिन्न समूहका अतिरिक्त भूमि पाउने अन्य पेशा वा सीप गत समूहमा ‘आरोग्यशाला’, ‘पानीयशाला’, ‘तैलशाला’ जस्ता उत्पादन शालाहरू पनि थिए ।
निर्धारित जिम्मेवारी वहन गर्ने गरी ‘दत्त भूमि’ पाउने अन्य अधिकारीको पनि यस्तै खालको परिचय पाइन्छ । भूमि दिँदा निश्चित परिणाम दिने र त्यस्तो भूमिको कूत–आयस्ता क्रमशः भूमिको कुल उत्पादन प्रदत्त आयस्ताको परिमाणको अपेक्षा धेरै गुणा बढी हुने कुरा निश्चित प्रायः छ । किनकी प्रदत्त आयस्ताबाट उक्त भूमिमाथि अधिकार पाउने विभिन्न पाञ्चाली, देवकुल, गोष्ठी, आर्यभिक्षुसङ्घ आदि समूहको जीविकामात्र चल्ने होइन कि, अर्कोतिर सङ्कल्पित आयस्ता भन्दा अधिक र अतिरिक्त उत्पादन लिने कृषकमोहीको गुजारा पनि यसैबाट चल्दथ्यो ।
यस नीतिको अनसरणबाट उक्त भूमिमा बस्ने बासिन्दाहरूकाबीच सह–कर्तव्य र समान जिम्ेवारीको बोधमात्र नभई तिनका बीचमा सह–बन्धन र सह–ग्राम्यताको एउटा गहीरो भावनासमेत उदय गराउन सहायक भएको देखिन्छ । यस सह–भावना वा एकात्मतालाई जगाउने मूल कडी बनेर समूहले सगोलमा उपभोग गर्ने भूमिनै मुख्य माध्यम रहेको थियो । यस्तो ग्राम्य समाज, कुटुक्ब अथवा देवकुल कहिलेकाहीँ एउटै बृहत्तर कुल अथवा संयुक्त परिवारबाट बनेको अथवा कहिलेकाहीँ एकदुई, समकक्ष अन्य गोतिया र वशंजबाट पनि बनेको हुन धेरै सम्भव छ ।
माथि वर्णित नामले भूमि उपभोग गर्ने समूह पूर्व–मध्यकाल आइपुग्दा नपुग्दासम्ममा शायद् अनेकन ग्राम्य र विभिन्न पेशागत वा जातिगत समूहमा परिणत भइसकेका अनुमान हुन्छ । लिच्छविकालिक ‘दत्त भूमि’ राख्ने विभिन्न शैली अब सबै ‘गोष्ठी कृत’ अथवा जग्गालाई गुठी गराएर राख्ने प्रचलनभित्र बिस्तारै समाहित भएको प्रतीत हुन्छ । नेवार समाजिक र सांस्कृतिक जीवनलाई आबद्ध गर्ने सक्षम संस्था भन्नु ‘गुठी हो र त्यसको मूल जरो भन्नु भूमि नै हो । यसबाट भूमिनै नेवारी समाजलाई व्याख्या गर्ने एउटा प्रमुख कारक तत्व हो भन्न सकिन्छ । ‘दत्त भूमी’ को सिद्धान्त अपनाएर विभिन्न वर्गमा भूमि प्रदान गर्ने जिम्मा अब लिच्छविकालमाझैँ शासक वर्गमा मात्र सीमित रहेन, अपितुः यसले अब गुठी प्रथा बनेर एउटा व्यापकता पायो र विभिन्न सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधिबाट संरक्षण प्रदान गर्नका निम्ति भूमि राख्ने एउटा सामाजिक–धार्मिक प्रतिस्पर्धालाई विभिन्न सम्पन्न वर्ग, समुदाय र व्यक्तिमा पनि लोकप्रिय बनायो । राज्यका तरफबाट दानमा दिइएको भूमिलाई लोप हुन वा क्षय हुन नदिने सिद्धान्त पनि अब सर्वप्रचलित गुठी व्यवस्थाभित्रबाटै प्रबन्ध गरेको पाइन्छ ।
स्रोत ः कुल, भूमि र राज्यः नेपाल उपत्यकाको पूर्वसन्ध्याकालिक सामाजिक अध्ययन (सिनास)
Leave a Reply