भर्खरै :

श्वासप्रश्वास पुनःस्थापना केन्द्र निर्माणमा प्रगति

काठमाडाँै, फागुन १४ गते । दीर्घ दमखोकी रोगका बिरामीहरूको उपचारका लागि जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका वडा नं. ९ तुमचोमा निर्माणाधीनश्वास प्रश्वास पुनःस्र्थापना केन्द्रको दोस्रो चरणको सम्झौता बुधबार सम्पन्न भयो । नेपालस्थित जापानी राजदूत र जिम्टेफका नेपाल प्रतिनिधिबीच दूतावासको कार्यालयमा एक समारोहबीच सम्पन्न उक्त सम्झौतामा केन्द्रको भवन निर्माण तथा चिकित्सा उपकरण खरिदपश्चात नेपाली चिकित्सकहरूलाई उपचारसम्बन्धी तालिम दिने तथा जापानी विज्ञहरूको उपस्थितिमा उपचार गराउने विषय उल्लेख थियोे ।
समारोहमा नेपालका लागि जापानी राजदूतमा सामिची साइगोले जापानका वरिष्ठ सरकारी चिकित्सकहरूको संस्था जिम्टेफको सहगोगमा भक्तपुर नगरपालिकाले स्थानीय जनताको सहभागिता र उपभोक्ता समिति मार्फत् केन्द्रको भवन निर्माण गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले दुई देशका जनता बीचका सम्बन्धलाई थप सुमधुर पार्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । बढ्दो सहरी विकाससँगै वायु प्रदूषण बढेको कारणले जनताहरूमा श्वासप्रश्वास सम्बन्धी रोगहरू देखा परेको चर्चा गर्दै दीर्घ रोगीहरूलाई जापानी प्रविधिबाट उपचार गराउन नेपालमै पहिलोपटक भक्तपुरमा केन्द्र स्थापना गर्न खोजेको बताउनुभयो ।
जिम्टेफका नेपाल प्रतिनिधिमा यदानोरिकोले भक्तपुरमा श्वासप्रश्वास पुनःस्र्थापन केन्द्र सञ्चालनको तीन वर्षे योजनाअन्तर्गत पहिलो वर्ष भवन निर्माण र उपकरण खरिद प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको र दोस्रो वर्षमा नेपाली चिकित्सकहरूलाई यस उपचार विधिबारे तालिम सञ्चालन गरी बिरामीको उपचार सुरु गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले नेपालमा पहिलोचोटि समुदायमा आधारित केन्द्र सञ्चालन गरिन लागेको र भक्तपुरबासी जनता र भक्तपुर नगरपालिकाले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकाले आप्mनै जग्गामा नियमानुसार नक्सापास गरी स्थानीय जनताको सहभागितामा उपभोक्ता समिति मार्फत् केन्द्रको भवन निर्माण गर्दा लागत अनुमानभन्दा कम खर्चमा गुणस्तरीय भवन तयार भएको बताउनुभयो । उहाँले जापानी चिकित्सा टोली र जापानी जनताप्रति धन्यवादज्ञापन गर्दै हाल निर्माणाधीन भवनको उद्घाटन समारोह आगामी चैत ३ गते एक समारोहबीच गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर एवं सोलिड नेपालका कार्यकारी निर्देशक डा. खेमबहादुर कार्कीले भक्तपुरमा स्थापित श्वासप्रश्वास केन्द्रलाई उत्कृष्टताको नमुना परियोजना बनाउने र यसैलाई केन्द्र बनाई देशका अन्य नगरपालिकाका चिकित्सकहरूलाई पनि तालिम सञ्चालन गर्ने तयार भइरहेको जानकारी दिनुभयो ।
जिम्टेफले भक्तपुर नगरपालिकालाई केन्द्रको भवन निर्माणका लागि निःशर्त १ करोड ७० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको र नगरपालिकाले आप्mनै ५ आना ३ पैसा ३ दाम क्षेत्रफलको जग्गामा दुइटा फरक–फरक उपभोक्ता समितिमार्फत् भवन निर्माण कार्य सम्पन्न गरेको नगरपालिका स्रोतले बताएको छ । उक्त भवनमा दीर्घ दम, खोकी रोगका बिरामीहरूलाई फिजियोथेरापी विधिबाट उपचार सेवा प्रदान गरिने र त्यसका लागि आवश्यक चिकित्सकीय उपकरणहरू जडान गर्ने कार्य भइरहेको पनि बताइएको छ । आगामी चैत ३ गतेबाट सर्वसाधारण बिरामीहरूलाई कम शुल्कमा उपचार सुरु गरिने नगरपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *