कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
नेतामाथि जुत्ता प्रहार गर्नु राम्रो संस्कार होइन । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि एक जना युवकले जुत्ता प्रहार गरे । जुत्ता प्रहारलाई वाहवाही गर्न सकिन्न । यो राजनीतिक व्यवहार पक्कै होइन । तर, यसलाई दाहालप्रति जनमानसमा फैलिएको तीव्र आक्रोश एवं असन्तोषको प्रतीक भने मान्न सकिन्छ । प्रहार गरिएको जुत्तालाई दाहाल र वर्तमान सरकारप्रतिको आक्रोशको प्रतीकको रूपमा बुझ्न जरुरी छ ।
देशमा आमूल परिवर्तनको सपना देखाएर दाहाल नेतृत्वको तत्कालीन माओवादीले सशस्त्र विद्रोहको थालनी ग¥यो । सशस्त्र विद्रोह सुरु हुनुअघि कम्युनिष्ट आन्दोलनभित्र भएको बहसमा ‘जनताको चेतनास्तर नउकासी र देशको आन्तरिक एवम् बाह्य परिस्थिति तयार नभई थालिने सशस्त्र विद्रोह खेर जाने बलिदानमा टुङ्गिने विचार’ को चर्चा नभएको होइन । तथापि माओवादीले जबरजस्ती सशस्त्र सङ्घर्षको थालनी ग¥यो । द्वन्द्वमा दसौँ हजार मानिस मारिए, लाखौं मानिस प्रत्यक्ष प्रभावित बने । माओवादी र राज्य दुवै पक्षको चेपुवामा धेरै निर्दोष नेपाली जनताले दुःख भोगे । माओवादीमा लागेर कैयौँ मानिस मारिए, घाइते भए, चरम यातनाको शिकार भए, कति युवाको वृत्ति विकास रोकियो । नेतृत्वप्रतिको विश्वासको आधारमा ती मानिस त्यस्ता यज्ञमा होमिन तयार भएका थिए ।
तर, ‘क्रान्ति’ पूरा नहुँदै नेतृत्वले सबैको विश्वास लत्याएर पुँजीवादी आहालमा डुबुल्की मा¥यो । पुँजीवादी व्यवस्थाको जरा उखेल्न युद्धमा होमिएको पार्टी स्वयम् पुँजीवादी सत्ताको घिनलाग्दो खेलमा फस्यो । हिजो जे कुराको विरोधमा सशस्त्र विद्रोहको थालनी भयो, दाहाल नेतृत्वको समूह त्यही पुँजीवादी भासमा फसेपछि उनीमाथि ‘विश्वासघात’को दोष लागेको हो । आइतबार प्रहार भएको जुत्ता त्यही दोषको अभिव्यक्ति हो ।
सिद्धान्तमा खेलाँची गर्नु हिमालयमा चिप्लेटी खेल्नुसरह हो । दाहालले आफ्नो स्वार्थसिद्ध गर्न सिद्धान्तमा सम्झौता गर्दा उनी घृणाका पात्र बनेका हुन् । उनी सहभागी बनेका विभिन्न कार्यक्रममा यसअघि पनि उनीविरुद्ध नाराबाजी र गालीगलौज हुने गरेका छन् । हालैमात्र खुलामञ्चमा आयोजित जनसभामा प्रचण्डमाथि सत्र हजार मानिसको हत्याराको आरोप लागेपछि उनले ‘आफूले पाँच हजार मानिसको हत्याको जिम्मेवार’ भएको स्वीकारेका थिए । आइतबार ‘वर्गसङ्घर्षको कुरा गर्न दाहाललाई नसुहाउने’ उनीमाथि जुत्ता प्रहार गर्ने युवकले बताए ।
दाहालले जनतामा आफूप्रतिको घृणाको घनत्व बुझेका छन् । त्यसकारण उनी यस्ता घृणाले निम्त्याउन सक्ने दुष्परिणामबाट जोगिन सत्ता च्यापेर बस्ने गरेका छन् । सत्ताबाट विमुख हुनेबित्तिकै आफूमाथि यस्ता धेरै हमला हुने सम्भावना उनले देखेका छन् । त्यसकारण नेपालका नेताहरूमध्ये सबभन्दा बढी सुरक्षाकर्मीको घेरामा हिँड्ने गरेका छन् । आइतबारको घटना कुनै नयाँ होइन । यसप्रकारका अरू पनि धेरै घृणा पोख्ने घटना भएका छन् । के अब पनि पुष्पकमल दाहालले आफ्नो सैद्धान्तिक गल्ती स्वीकार्ने र आत्मसमीक्षा गर्ने बेला भएन र ?
Leave a Reply