भर्खरै :

कोरोना भाइरसको सबै मिलेर प्रतिरोध गरौँ

कोरोना भाइरस अब कुनै एउटा देशको मात्र चिन्ताको विषय रहेन । संसारका पचासभन्दा बढी देशमा फैलिएको यो प्राणघातक भाइरसको सङ्क्रमण सबै देशको लागि यतिबेला चिन्ताको विषय बनेको छ । कुनै एउटा देशमाथि दोषारोपण गरेर अब समय खेर फाल्ने अवस्था छैन । कोभिड–१९ भाइरस आज सम्पूर्ण मानव जातिको लागि चुनौती हो । त्यसकारण सबै क्षेत्र र तहका मानिसले भाइरसको प्रतिरोधमा एकजुट हुनुको विकल्प छैन । महामारीले भूगोल, वर्ग, क्षेत्र, योग्यता आदि केहीको सिमाना मान्दैन । कोरोना भाइरसबाट डराउनु वा आत्तिनुभन्दा पनि कदाचित सङ्क्रमण फैलिए कसरी प्रतिरोध गर्ने भन्ने विषयमा पूर्वतयारी गर्नुपर्छ । विज्ञ चिकित्सकहरूको सल्लाहअनुसार सावधानीका तरिकाको पालना गर्नुपर्छ । हल्ला र प्रचारबाजीको आधारमा कुनै पनि काम गर्नु ठीक हुन्न । सरकारका जिम्मेवार निकाय र अन्तर्राष्ट्रिय संस्थाको भनाइलाई आधिकारिक मान्नुपर्ने हुन्छ ।
सामाजिक सञ्जालमा आएका सबै सूचना र समाचारलाई पत्याइहाल्नु ठीक हुन्न । सामाजिक सञ्जालमा कसैले पनि गलत सूचना वा समाचार सम्प्रेषण गर्नु पनि हुन्न । कुनै पनि गलत सूचनाले अकल्पनीय क्षति भोग्नुपर्ने हुनसक्छ । त्यसकारण हरेक नागरिकले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ । जथाभावी स्टाटस लेख्ने, सेयर गर्ने वा कमेन्ट गर्ने गल्ती गर्नुहुन्न । सीआरबीटी र भ्युअर्स बढाउने, धेरै लाइक र कमेन्ट पाउने लोभमा हलुका र गलत समाचार सम्प्रेषण गर्नहुन्न ।
कुनै पनि सङ्कटको बेला सञ्चारमाध्यमको भूमिका अझ गम्भीर र संवेदनशील हुने गर्छ । यस्तो समयमा कसैले पनि कुनै पूर्वाग्रह वा प्रतिशोध साँध्ने दुराशय पाल्नुहुन्न । सम्पूर्ण मानव जातिमाथिको चुनौतीको सामना गर्न सबै देश र सम्पूर्ण मानिस एकजुट हुनुको विकल्प छैन । सङ्क्रमणमा कुनै देश कमजोर भएको मौकामा उसमाथि पेल्ने कसैको पनि नीति अँगाल्नु आफ्नो खुट्टामा आफैले बञ्चरोले हान्नु हो । त्यस्तो गल्ती कसैबाट हुनुहुन्न ।
महामारीको बेला नागरिकबाट संयम र धैर्यता आवश्यक हुन्छ । सङ्कटको समयमा सबै कुरा सामान्य समयमा भन्दा कठिन हुनु स्वाभाविक हो । त्यस्तो परिस्थितिमा नागरिकले धैर्यता र समझदारीमा काम गर्नुपर्ने हुन्छ । आपसी सहयोग र सद्भावले नै कुनै पनि सङ्कटको सामना गर्न सकिन्छ । राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्छ । राज्यका कर्मचारी अझ बढी जिम्मेवार र जनताप्रति समर्पित हुन आवश्यक छ । आफ्नो सुविधा र सहजताभन्दा पनि जनताको सहजतालाई ध्यान दिनुपर्छ । सङ्कीर्णता, स्वार्थ र हचुवा तरिकाबाट सरकारी कर्मचारीले काम गरे क्षति अझ विकराल हुनेछ । समुदाय र छरछिमेक मिलेर काम गरेमात्र यस्ता राक्षसी प्रकोपको सामना गर्नसक्नेछौँ । आफूलाई मात्र केन्द्रमा राख्ने र प्राथमिकता दिने स्वार्थी सोचले कसैको पनि भलाई हुने गर्दैन । नेपालमा यो भाइरसको सङ्क्रमण नफैलिओस् । संसारका अरु देशमा पनि यो भाइरसको सङ्क्रमण चाँडै समाप्त होस् । पृथ्वीको एउटा भूगोलको मानिसले अर्को भूगोलका मानिसले यही कामना गर्न जरुरी छ । एकअर्काको ऐक्यबद्धताबाट नै हामीले यो महामारीको सामना गर्नसक्नेछौँ । सम्पूर्ण संसार हाम्रो साझा घर हो । घरमा आगो लाग्दा कुनै पनि कोठाको मानिस सुरक्षित हुनसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *