– सुभानु आचार्य
ललितपुर, २० फागुन । विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन । मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका तीन ठेकेदार थेगिस, पेरा र तुलसी कन्स्ट्रक्सन जेभीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि मन्दिर पुनःनिर्माणका लागि ठ्याक्कै हात झिकिसकेको छ । श्रीलङ्का सरकारले हात झिकेको दुई महिना भइसक्दा पनि मन्दिर पुनःनिर्माणका लागि कसले कदम अघि बढाउँछ भन्ने अन्योल कायम छ ।
सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम मन्दिर पुनःनिर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन नसकिने महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । “हामीले उपभोक्ता समिति गठन गरी यस मन्दिरको पुनःनिर्माण गर्ने निर्णय गरिसकेका छौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणका लागि आवश्यक रकम उपलब्ध गराउन तत्पर भइसकेको छ”, उहाँले भन्नुभयो । महानगर प्रमुख महर्जनका अनुसार मन्दिर पुनःनिर्माणका लागि अब ठेक्कापट्टा नगरिने कुरा अघि बढेको छ । मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दुवैबाट महानगरपालिकामा हालसम्म समिति गठन गर्नू भनी पत्र नआएको उहाँले बताउनुभयो । “यदि प्राधिकरणले विभागलाई लेखेबमोजिम महानगरपालिकामा उपभोक्ता समिति गठन गर भनेर पत्र आयो भने छिट्टै समिति गठन गरी काम अघि बढाउने छाँै”, उहाँले भन्नुभयो । प्राधिकरणले विभागलाई समितिमार्फत मन्दिर पुनःनिर्माण गर्ने सल्लाहसहित पत्र पठाएको थाहा पाएर आफू खोज्न गए पनि विभाग र प्राधिकरण दुवैबाट महानगरपालिकामा समिति गठन गर्नू भनेर हालसम्म कुनै पत्र नआएको महानगर प्रमुख महर्जनले बताउनुभयो ।
करिब दुई महिनाअघि महानगरपालिकालाई समिति गठन गर्नू भनी प्राधिकरणले चिट्ठीपत्र पठाइसकेको विभागका प्रमुख इन्जिनियर सम्पत घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “यस मन्दिर पुनःनिर्माणका लागि श्रीलङ्का सरकार लगभग रु. साढे पाँच करोड सहयोग गर्न तयार भएको थियो । श्रीलङ्का सरकारअन्तर्गत मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम ४० प्रतिशत सम्पन्न भइसकेको छ । श्रीलङ्का सरकारले सहयोग गर्ने भनेको रकममा लगभग रु. तीन करोडको काम गर्न अझै बाँकी नै रहेको हुँदा महानगरपालिकाले चासो देखाए छिट्टै काम अघि बढाउने थियौँ ।” विभागसँग अर्बौँ रकम रहेको हुँदा मच्छिन्द्रनाथ पुनःनिर्माणका लागि समिति गठन भएर आएपछि छिट्टै काम अघि बढाइने घिमिरेले जिकिर गर्नुभयो ।
विगतमा समझदारी भएको तीन ठेकेदार कम्पनीबीचमा आपसी विवादका कारण मन्दिर पुनःनिर्माणको काम समयमै गर्न नसकिएको पाटन दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरमा रहेका १३ देखि १४ सय वर्ष पुराना वस्तुको पुनःप्रयोग गरी पुनःनिर्माणको काम अघि बढाउने छौँ । मन्दिर पुनःनिर्माणका लागि अघि नै खरिद गरेर राखिएका रु. ४० लाख बराबरको सामग्री त्यसै थन्किएका छन् ।”
रातो मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रूपमा तथा बौद्ध धर्मावलम्बीले पद्मपाणि (पञ्च बोधिसत्वमध्येका एक) का रूपमा पुज्ने गर्छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ । रातो मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाको लामो जात्राको रूपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष जावलाखेलमा भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई बुङ्मतीको सोही मन्दिरमा लगेर राखिन्थ्यो । विसं २०७२ को भूकम्पपछि मच्छिन्द्रनाथलाई बुङ्मतीको एक गुठीको घरमा राखिँदै आएको छ ।
विभागले अब मन्दिर पुनःनिर्माणको काम अघि बढाउन रु. तीन करोड लाग्ने अनुमान गरिसकेको छ । काम अघि बढाएको एकदेखि डेढ वर्षमा काम सक्ने योजनामा विभाग छ । समिति गठन भएर आएपछि विगतका ठेकेदार कम्पनीले सो कामको जिम्मा पाउने छैनन् ।
शिखरशैलीको ढाँचामा रहेको मन्दिर निर्माणमा ३६ फिट लामो काठको प्रयोग गरिने मन्दिरका पानेजु सूूर्यमान डङ्गोलले जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माणमा पुरानै मौलिकता झल्काउन स्थानीयवासीले पटकपटक सम्बन्धित निकायलाई आग्रह गरिरहेका छन् । मन्दिर पुनःनिर्माणमा ढिलाई हुँदा स्थानीय जनतालाई विभिन्न चाडपर्वमा असर पर्ने गरेको वडा नं २२ का अध्यक्ष अम्बिरराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय चाडपर्वमा असर पर्दै जाँदा जनताले समयसमयमा मन्दिर पुनःनिर्माणको काम अघि बढाउन आग्रह गरिरहेका छन् ।”
रातो मच्छिन्द्रनाथ जात्रा मनाउन उपत्यकाको तीनै सहरका मानिसका साथै विभिन्न विदेशी मुलुकका मानिस पनि पाटन आउने गरेका छन् । विसं २०७२ माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्मतीबाट मन्दिर पुनःनिर्माणको काम सुरुआत गर्ने वचनबद्धता व्यक्त गरे पनि हालसम्म यसको कुनै ठेगान लाग्न भने सकेको छैन ।
मच्छिन्द्रनाथ पूजाका लागि गठित ३१ पानेजुले पालैपालो सो मन्दिरमा पूजाआजा र रेखदेख गर्ने गरेका छन् । लिच्छिविकालतिर गुरु गोरक्षनाथले नवनागलाई आसन बनाएर समाधिमा बसेपछि देशभर १२ वर्ष अनिकाल र खडेरी भयो । मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि गुरु (गोरखनाथका गुरु मच्छिन्द्रनाथ) को दर्शनका लागि गोरखनाथ उठ्दा नागहरू यताउता लागेपछि वर्षा र सहकाल गराएको सम्झनामा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि मच्छिन्द्रनाथको जात्रा मनाउने परम्परा रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *