भर्खरै :

कोरोना भाइरस सङ्क्रमणबारे सचेतना अभियान सञ्चालन गर्नेबारे छलफल

भक्तपुर, २१ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकारवाला पक्ष तथा प्रधानाध्यापकहरूबीच बुधबार नपाको सभाकक्षमा छलफल भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विश्वव्यापीरूपमा सङ्क्रमण भइरहेको कोरोना भाइरस रोगबाट बच्न सम्बन्धित सङ्घ–संस्थाहरूले आवश्यक सावधानी र सुरक्षा अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यार्थीमा भएको त्रासबाट मुक्त पार्न विद्यालयहरूले मनोचिकित्सक र स्वास्थ्यकर्मीको समन्वयमा मनोपरामर्शसम्बन्धी चेतनामूलक अभियान सञ्चालनमा जोड दिनुपर्ने चर्चा गर्दै प्रमुख प्रजापतिले भनपा सम्बन्धित सरोकारवालाहरूको राय–सुझावअनुरूप अगाडि बढ्ने प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – “कोरोनाको त्रास दिन प्रतिदिन बढ्दै गएको हुँदा सङ्कटको समयमा आत्तिने र डराउनेभन्दा पनि त्यसबाट बच्ने उपायबारे सजग हुनु आवश्यक छ ।”
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले कोरोना भाइरस सरूवा रोग भएकैले पनि नागरिकहरू डराइरहेको चर्चा गर्दै छिमेकी देशमा कोरोनाको सङ्क्रमण व्यापक भएकै कारण समयमै आवश्यक सुरक्षा अपनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मेधा माविका प्रअ गङ्गाधर हाडाले कोरोनाको त्रासलाई ध्यानमा राखेर समयमै परीक्षा सञ्चालन गर्नुपर्ने र केही कारणवस परीक्षा छुट्न गएका विद्यार्थीहरूलाई मौका परीक्षाको व्यवस्था पनि गर्नुपर्ने सुझाव दिनुभयो ।
इसान भक्तपुर जिल्ला अध्यक्ष पुरूषोत्तम ग्वाछाले परीक्षा तयारीको लागि समय निकै कम भएको औँल्याउँदै सम्भावित रोगको खतराबाट जोगिन सरकारको निर्देशनलाई पालन गरी निर्धारित समयमै परीक्षा गर्नु उपयुक्त हुने धारणा राख्नुभयो ।
एन.प्याब्सन भक्तपुरका उपाध्यक्ष पुण्यराम कवांले विद्यार्थी र अभिभावकमा कोरोना भाइरसको त्रास धेरै देखिएको हुँदा विद्यालयहरूमा मनोसामाजिक परामर्शको खाँचो भएको र निर्धारित समयमै परीक्षा सकाउनु उचित हुने धारणा राख्नुभयो ।
सैनिक आवासीय महाविद्यालयका शिक्षक विष्णु अधिकारीले कोरोना भाइरस सबैको साझा समस्या भएकोले विद्यालयहरूमा हात मिलाउने भन्दा ‘नमस्कार’ गर्ने परम्परालाई जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष एवम् आधारभूत तह परीक्षा समितिका संयोजक प्रेमगोपाल कर्माचार्य, नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्य, संयुक्त परीक्षा समितिका अम्बिका न्याइच्यार्इँ, प्याब्सन भक्तपुरका रमेशचन्द्र श्रेष्ठ, इसानका कृष्णराम त्वानाबासुले पनि आ–आफ्नो सुझाव दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *