भर्खरै :

महिलाले बोक्सीको आरोप कहिलेसम्म खेप्ने ?

– रास, भक्तपुर
आज आइतबार विश्वले महिला दिवस मनाउँदै छ । देशमा राजनीतिक परिवर्तन त भयो, मानिसको चेतनास्तर भने उठ्न सकेको छैन । लोकतन्त्र र गणतन्त्र भएर पनि पुरानो दृष्टिकोणमा बदलाव आएको छैन । सामन्ती संस्कार र संस्कृतिको जरा हल्लिए पनि चुँडिएको छैन । नेपाली गरिब तथा श्रमजीवी महिला बोक्सीको आरोपबाट प्रताडित हुने क्रम रोकिएको छैन । बोक्सीजस्तो नेपालीलाई नै कलङ्गित पार्ने घटनाबारे सरकार, सम्बन्धित निकाय, विभिन्न गैरसरकारी संस्था, नागरिक समाज, शासक राजनीतिक पार्टीका नेताहरू सजग र सतर्क छैनन् ।
बोक्सीको आरोप लगाई हुने गरेको अन्याय, अत्याचार, उत्पीडन, यातनाको रोकथाम, नियन्त्रण र सजाय गर्ने प्रभावकारी कानुनको तर्जुमा र सामाजिक सचेतना अभिवृद्धि गरी रुढिवादी अज्ञानता हटाउन सचेतना कार्यक्रम चलाउने व्यवस्था गर्न सर्वाेच्च अदालतले आदेश दिइसकेको छ । तर, जिम्मेवार निकाय कुम्भकर्ण निद्राबाट ब्युँझिएको छैन । कुसंस्कार हटाउने र अन्धविश्वासलाई काटेर फाल्ने उद्देश्यका साथ खोलिएको भनिएका गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैससले बजेट सिध्याउनेबाहेक के काम गरे भन्ने प्रश्न पनि उत्तिकै टड्कारो छ । बोक्सीको आरोपमा पीडितमा परेको मानसिक आघातमा मल्हमपट्टी लगाउने नाटक गर्दै देशी–विदेशी संस्था एवम् डलरमा पालिएका कर्मचारीहरूको क्षणिक सक्रियता देखिन सक्छ । बजेट सिध्याउने बहाना खोज्नेलाई यस्ता घटना भने ठगी खाने भाँडो र डलर कुम्ल्याउने मेसो बनेको छ । सचेतना बढाउने नाममा खर्च भएको डलरको लेखाजोखासहितको प्रतिवेदन पेश गर्छन् र फेरि डलरखेतीको धन्दामा लाग्छन् ।
बोक्सीजस्ता अन्धविश्वासका घटनामा गरिब जनता नै बढी पीडित भइरहेको सन्दर्भमा वर्तमान सार्वजनिक संरचनालाई बदल्नुपर्ने आवाज पनि उत्तिकै सान्दर्भिक छ । गरिबलाई हेप्ने, उनीहरूमाथि नै थिचोमिचो र अन्याय गर्ने सामन्ती एवम् पँुजीवादी प्रतिक्रियावादी समाज संरचनालाई बदल्न क्रान्तिकारी शक्तिले हतियार तिखार्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *