भर्खरै :

नेपालीलाई भारत नजान आग्रह

कैलाली, २५ । कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन् । नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल गर्नाका साथै नेपालीलाई पनि भारत नजान आग्रह गरेको हो ।
नगर विपद् व्यवस्थापन समिति टीकापुरको आइतबार बसेको बैठकले भारतमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले नेपाल उच्च जोखिममा रहेको भन्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक किनमेलका लागि भारत नजान आग्रह गरेको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । “भारतमा सङ्क्रमण देखिएकाले नेपालमा सर्नसक्ने जोखिम बढेको हो । सीमासँग जोडिएको क्षेत्र भएकाले यहाँ बढी जोखिम छ, त्यसकारण सामान्य किनमेलजस्ता कार्यका लागि भारत नजान आग्रह गरेका हौँ । अब नगरवासीलाई सार्वजनिक सूचना र माइकिङ गरेर सचेत गर्न थालेका छौँ ।” रावलले भन्नुभयो ।
नगरपालिकाले बजारमा मास्कलगायतका सामान अभाव देखिएकाले बजार अनुगमन गर्ने र टीकापुरका सबै विद्यालयमा सचेतना कार्यक्रम गर्ने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाले सङ्क्रमणको जोखिम देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन र आइसोलेसनका लागि पनि पूर्वतयारी थालेको छ । “क्वारेन्टाइनका लागि सार्वजनिक भवनको प्रयोग गर्न पूर्वतयारी अवस्थामा राखेका छौँ, सबै नागरिकलाई सरसफाइमा ध्यान दिन आग्रहसमेत गर्न थालेका छौँ ।” रावलले भन्नुभयो ।
कोरोना भाइरस देखिएमा आइसोलेसनमा बिरामी राख्न खर्चिलो छ । टीकापुर अस्पतालका चिकित्सक जितेन्द्र कँडेलले अस्पतालले हाल दुई श्ययाको आइसोलेसन तयार गरिसकेको बताउनुभयो । “थप शैय्याका लागि हाल रहेको प्रसूति वार्डलाई नयाँ तयार भएको प्रसूति भवनमा सार्दैछौँ । अहिले प्रयोगमा रहेको प्रसूति हललाई आइसोलेसनका लागि तयारीमा राख्छौँ ।”
टीकापुरको खक्रौलामा रहेको सीमामा सहायता कक्ष ‘हेल्थ डेस्क’ राखेर जाँच भइरहे पनि जाँचमा जनशक्ति अभाव छ । खक्रौला नाकामा दैनिक हजारौँ नागरिक ओहोरदोहोर गर्ने भएकाले जाँचमा हम्मेहम्मे परेको छ । स्वास्थ्यकर्मीले शङ्का लागेका मानिसको जाँच गर्छन् । दैनिक सयौँको जाँचसहित विवरण राख्ने, सचेतनाका लागि परामर्श, सुझाव दिनुपर्ने भएकाले हेल्थ डेस्कमा कर्मचारी अभाव हँुदा समस्या भइरहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताउनुभयो ।
परीक्षा सञ्चालन तथा पठन–पाठन सञ्चालन गर्ने निर्णय
कैलालीको धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय आइतबार फिर्ता लिएको छ ।
कोरोना भाइरस (कोभिड– १९) महामारीका रुपमा फैलिँदै गइरहेको र यसको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै शुक्रबार बसेको सरोकारवालाको बैठकले सम्पूर्ण शैक्षिक संस्थामा अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा र पठनपाठन रोक्ने निर्णय गरेको थियो । तर, उपमहानगरपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गरिसक्नुपर्ने भनी पत्राचार गरेको पत्र प्राप्त भएको भन्दै आइतबार पुनःशिक्षा सरोकारवालाको बैठक बोलाएर निर्णयमा पुनःविचार गरिएको नगर प्रमुख नृपबहादुर वडले बताउनुभयो । उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई यथाशीघ्र परीक्षा सञ्चालन गरी चैत ५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *