भर्खरै :

शिक्षामा व्यापारीकरणको कुप्रभाव विद्यार्थीमाथि अत्याचार

– आरोही श्रेष्ठ 
काठमाडौँको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षागत परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ र ७ का ३४ विद्यार्थीको हातमा ब्लेडले चिर्न लगाएको समाचार सार्वजनिक भयो । कर्माचार्य १२ वर्षदेखि उक्त विद्यालयमा सोसल साइन्स पढाउँदै आएकी शिक्षिका हुन् । उनले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । पीडित विद्यार्थीहरूका अनुसार उनले त्यहीबेला राम्रो नम्बर नल्याउनेको हात चिरिदिने चेतावनी दिएकी थिइन् । परीक्षाको पूर्णाङ्क २० र उत्तीर्णाङ्क ८ निर्धारण गरिएको थियो । परीक्षामा राम्रो नम्बर नल्याएको भन्दै उनले बिहीबार विद्यार्थीहरूलाई बेञ्चमा उभ्याइन् । सिसाकलम तिखार्ने ब्लेडले आफ्नो हातमा आफैँ चिर्न निर्देशन दिइन् । निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि विद्यार्थीहरूले आ–आफ्नो हात काटे । सो क्रममा सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात बढी काटिएको थियो ।
कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको हातमा चिरिएको छ ।
घटना बाहिर आएपछि विद्यालयले शिक्षिका कर्माचार्यलाई अवकाश दिएको छ र ती शिक्षिकालाई महानगरीय प्रहरी परिसर बानेश्वर प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालयका केही अभिभावकलाई बोलाएर गरिएको छलफलको क्रममा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छन् । सामाजिक सञ्जालहरूमा अहिले ती शिक्षिकाको आलोचना र विरोधमात्र होइन तिनीमाथि गालीगलौज गरिएका पोस्टको बाढी नै आएको छ । तर, दोष ती शिक्षिका एक्लैको मात्र भनी सोच्यौँ भने हामी सही निष्कर्षमा पुग्न सक्दैनौँ ।
मुख्य दोष गुणस्तरीय शिक्षा र सिकाइलाई लिएर हामीमध्ये अधिकांशमा भएको गलत बुझाइको हो । विद्यार्थीलाई फकाएर होस् वा तर्साएर होस् किताबमा लेखिएका उत्तर रट्न लगाउनु र परीक्षामा त्यही रटेको उत्तरका आधारमा बढी अङ्क प्राप्त गर्नुलाई नै हामी बढी सिकाइ र शिक्षाको गुणस्तर ठान्ने भूल गरिरहेका छौँ । हामीले कहिल्यै विद्यार्थीलाई सिर्जनात्मक बन्न र जिज्ञासा मेटाउनमा ध्यान दिएका छैनौं । हामी अभिभावकले जे चाहन्छौँ शिक्षाको व्यापार गर्न बसेका र प्रतिस्पर्धामा बाँच्नुपर्ने अधिकांश निजी विद्यालय र सार्वजनिक विद्यालयहरूले समेत त्यही परम्परागत विधिमा जोड दिइरहेका हामी देखिरहेका छौँ । ती शिक्षिकाको ध्येय ती विद्यार्थीहरूसित कुनै किसिमको बदला लिनु थिएन, बरु चोट र पीडाको डर देखाएर पनि विद्यार्थीलाई किताबका उत्तरहरू रट्न लगाउने प्रयत्नमात्र थियो । शिक्षामा व्यापारीकरण र अस्वस्थ प्रतिस्पर्धाको कारण हिजोआज निजी विद्यालयहरूले यस्तै र अन्य कैयौँ किसिमका यातना विद्यार्थीहरूमाथि थोपिरहेका छन् । विद्यार्थीकै निम्ति स्तरीय शिक्षा र सुनौलो भविष्यका नाममा यी सबै भइरहेका छन् । विद्यार्थीहरूमाथि भइरहेको अत्याचार शिक्षामा व्यापारीकरणको कुप्रभावद्वारा सिर्जित हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *