भर्खरै :

भनसुन र प्रभावमा होइन, नियमसङ्गत काम गरौँ

भक्तपुर, २९ फागुन । ‘अस्पताल तथा कुनै सङ्घ–संस्था भनसुन वा प्रभावले चल्नेभन्दा पनि नियमसङ्गत सञ्चालन हुनुपर्छ । गरिब जनताको सेवा गर्ने लक्ष्यका साथ अस्पतालले काम गर्नुपर्छ ।’ उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विश्व मिर्गाैला दिवस २०२० को अवसरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नुभएको हो । हरेक व्यक्तिले समाजको निम्ति योगदान गर्नुपर्ने र समाजको निम्ति काम गर्ने व्यक्ति समाजमा सम्मानित हुने अध्यक्ष रोहितको भनाइ थियो ।
भक्तपुरमा सञ्चालित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशभरिका मिर्गौला रोगीहरूलाई सहजरूपमा सेवाहरू उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले केन्द्रको सेवा सुविधाबाट भक्तपुरबासीहरू लाभान्वित भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सात वर्ष अगाडि मानव अङ्ग प्रत्यारोपण केन्द्रको नाममा स्थापित यस केन्द्रको सक्षम नेतृत्व र टीमवर्कले गर्दा भक्तपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मिर्गौला रोगको उपचार सम्भव भएको बताउनुभयो ।
अस्वस्थ खानपिन र व्यस्त जीवनशैलीका कारण नसर्ने रोगको जोखिम बढिरहेको इङ्गित गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले कडा रोग लागेका नगरबासीहरूको लागि रु. १०,००० आर्थिक सहयोग प्रदान गर्दै आएको र नगरको सबै वडामा व्यायामशालाको स्थापना गरेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. यादव कोइरालाले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड १९ रोगको जोखिम मिर्गौला, चिनी रोगी, क्यान्सरलगायतका रोगीमा छिट्टै सङ्क्रमणको खतरा हुने हुँदा सबैले आ–आफ्नो ठाउँबाट सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले अस्पतालको कार्य प्रगतिबारे प्रस्तुती दिँदै जटिल अवस्थाको मिर्गाैला रोगको सफलरूपमा उपचार भइरहेको बताउनुभयो ।
प्रा.डा. गुनकुमार श्रेष्ठले मिर्गौला रोगको जोखिम न्यून गर्न जनचेतनाका कार्यक्रमको खाँचो औँल्याउँदै चिकित्सकको सल्लाहबमोजिम मात्र औषधि सेवन गर्नुपर्ने र जथाभावी पेनकिलरको प्रयोग गर्न नहुने बताउनुभयो ।
वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले मानव शरीरमा लाग्ने सम्पूर्ण रोगको खतरा सबैको निम्ति बराबर हुने बताउँदै आम जनतामाझ जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रा.डा. रजनी हाडाले मिर्गौला रोगको रोकथाम गर्न हरेक व्यक्तिले आफ्नो स्वास्थ्यबारे सचेत हुनु आवश्यक भएको र मिर्गाैला रोगीहरू दिनप्रतिदिन बढिरहनु चिन्ताको विषय भएको बताउनुभयो । नियमित स्वास्थ्य जाँचले सम्भावित रोगबाट बच्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मिर्गाैला विशेषज्ञ डाक्टर इमा मोन्टेग्रिमेरी र डा. डेभिड ताल्बोटले मिर्गौला रोगबारे प्रस्तुती दिनुभएको थियो भने केन्द्रका प्रशासन प्रमुख भानुभक्त न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा विशेषज्ञ डाक्टरहरू मोन्टेग्रिमेरी र ताल्बोटलाई उहाँहरूको योगदानको निम्ति सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *