भर्खरै :

मालपोतका कर्मचारी र लेखापढी व्यवसायीको कारण जनता हैरानीमा

– बसन्त खत्री
भक्तपुर २९, फागुन । अधिकांश सर्वसाधारणको मानसिकतामा मालपोत कार्यालय भ्रष्टाचारको अखडा हो भन्ने छाप परेको छ । सर्वसाधारण जनताले मालपोत कार्यालयमा गएर आफ्नो काम फत्ते गर्न सक्ने अवस्था नै छैन । प्रजातन्त्र आएको यतिका वर्ष भइसक्दा पनि जनताले मालपोतमा दुःख पाइरहेका छन् । मालपोतका कर्मचारीले सर्वसाधारण जाँदा वास्तै गर्दैनन् । लेखापढी व्यवसायका मान्छे जाँदा तुरुन्त काम गरिदिन्छन् । घुस नखुवाई कामै नहुने गुनासो धेरै अगाडिदेखिको हो । अहिले झन् बढेको जनताको गुनासो छ ।
मध्यपुर नपा ६, का पृथ्वीराज श्रेष्ठ यस्तै हैरानीमा परेका छन् । उनले हाल साविक दर्ता भइसकेको आफ्नो जग्गा अध्यावधिक गरेर पूर्जा लिनको लागि मालपोत कार्यालय भक्तपुरमा गए तर कर्मचारीले काम गरिदिएनन् । त्यसपछि सहजढङ्गमा काम सम्पन्न होला भन्ने आशामा सिन्धु–सोलुसन लेखापढी सेन्टरमा गए । लेखापढी सेन्टरले काम अगाडि बढायो ।
केही दिनपछि लेखापढी सेन्टरले राजश्व केही तिर्नु पर्दैन सबै मिलाईदिन्छु कर्मचारीलाई पनि दिनुपर्छ भनेर पौने दुईलाख रुपैयाँसम्म माग्यो । लेखापढी सेन्टरको यस्तो व्यवहार देखेपछि श्रेष्ठ झस्किए । यति धेरै रकम माग गरेपछि श्रेष्ठ आफैले नियमानुसार ८० हजार राजश्व बुझाएर आफ्नो लाग्ने पारिश्रामिक मात्र लिएर काम गर्दिन अनुरोध गरे । तर, लेखापढी सेन्टरले मानेन । त्यसपछि पनि कर्मचारीलाई बुझाउनुपर्छ, धेरै काम छ भनेर एकैदिनमा हुने कामलाई धेरै दिन झुलाएर १ लाख २५ हजार रुपैयासम्म चाहिन्छ भनेर सिन्धु लेखापढी सेन्टरले माग्यो । त्यसमा पनि श्रेष्ठले नमानेपछि २५ हजार रुपैयाँ नदिएसम्म काम नहुने भनेर फाइल रोक्यो ।
यसप्रकार हैरानी खेपेपछि कामै नगरी रु. २००० बुझाएर श्रेष्ठले फाइल फिर्ता लिएर आए । फाइल फिर्ता ल्याइसकेपछि भने श्रेष्ठ चिन्तामा छन् । उता कर्मचारीले काम नगरिदिने यता लेखापढीले तिर्नै नसक्ने रकम माग गर्ने । लेखापढी र कर्मचारी मिलेर काम बिगार्ने पो हो कि भन्ने त्रासमा उनी छन् । के यो देशमा कानुन छैन ? घूस नखाई काम नगर्ने कर्मचारीलाई कारबाही हुँदैन ? राजश्व नै छलेर काम गर्न उत्प्रेरित गर्ने र मान्छेको उठिबासै लाग्ने गरी रकम माग गर्ने यस्ता ठग लेखापढी व्यवसायीलाई कारबाही गर्नुपर्दैन ? जनताले आफ्नो काम सम्पन्न गराउन जग्गै बेचेर लाखौँ–लाख खर्च गर्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ? सर्वसाधारण प्रश्न गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *