भर्खरै :

‘नो अब्जेक्सन लेटर’ हाललाई बन्द

काठमाडौँ, ४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिरहेको अवस्थामा ३० अप्रिल २०२० सम्मका लागि सङ्क्रमण फैलिएका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि नो अब्जेक्सन लेटर (एनओसी) जारी नगर्ने भएको छ । मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वक्तव्यमा भारतमा एमबीबीएस एवम् एमडीको प्रवेश परीक्षा दिन फारम भर्ने प्रयोजनका लागि र विदेशमा पढिरहेका नेपाली विद्यार्थीले विषय परिवर्तन वा कलेज परिवर्तन गर्न चाहेको अवस्थामा नेपालमा उनका अभिभावकले आवेदन गरेमा नो अब्जेक्सन लेटर जारी गर्ने प्रबन्ध मिलाइएको उल्लेख छ ।
मन्त्रालयले यसअघि नै चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन भइसकेको भन्दै परीक्षा समाप्त भएपछि सबै विद्यार्थीलाई करिब तीन हप्ता बिदा दिन पनि वक्तव्यमा भनिएको छ । यसरी बिदा दिंदा देशभरि करिब ७० लाख विद्यार्थी घर बस्ने छन् । मन्त्रालयले यस अवधिमा देशको विशेष परिस्थितिलाई ध्यानमा राखी विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा भेला नगर्न अनुरोध गरिएको छ ।
एसईईको तयारी पूरा
मन्त्रालयले अगामी चैत ६ देखि १७ गतेसम्म हुने एसईई परीक्षाको तयारी पूरा भइसकेको बताएको छ । देशभर १९९५ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एसईई परीक्षामा कुल ४ लाख ८२ हजार २१९ जना विद्यार्थी सहभागी हुने बताइएको छ । मन्त्रालयले परीक्षा अवधिभर सबै परीक्षा केन्द्रहरूमा हेल्थ डेस्क राख्ने प्रबन्ध गर्न सबै ७५३ वटा स्थानीय तहलाई आग्रह गरेको छ । परीक्षामा सामेल हुने विद्यार्थीलाई साबुन पानीले हात धुने, मास्कको प्रयोग गर्ने, अरूसँग हात नमिलाउने, सकभर भीडभाडमा नजानेलगायत व्यक्तिगत सुरक्षाका तरिका अपनाउन वक्तव्यमा अनुरोध गरिएको छ ।
“परीक्षामा सामेल हुने सबै विद्यार्थीलाई केन्द्राध्यक्ष र हेल्थ डेस्कमा कार्यरत व्यक्तिले दिएका निर्देशनको पालना गर्दै व्यक्तिगत तवरमा सचेत रही भत्ीत र त्रसित नभइकन मर्यादित तवरले परीक्षामा सहभागी हुन अनुरोध गरिएको छ”, वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *