भर्खरै :

भक्तपुरका विद्यालयमा चैत ६ गतेदेखि पठनपाठन बन्द

भक्तपुर, ४ चैत । विश्वव्यापीरूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा यही चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मका लागि पठनपाठन बन्द हुने भएको छ ।  नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार सम्पन्न बैठकले उक्त निर्णय गरेको नगर शिक्षा अधिकृत हरिप्रसाद निरौलाले बताउनुभयो ।
बैठकले बालबालिकाहरुलाई घरमै सुरक्षितरूपमा बस्न तथा अभिभावकहरूलाई रोग सङ्क्रमणको जोखिमबाट सचेत रहन तथा विद्यालयका शिक्षक–कर्मचारीहरुले विभिन्न माध्यमको प्रयोगबाट आफ्ना विद्यार्थी तथा अभिभावकहरूलाई कोभिड १९ रोगबारे सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको बुझिएको छ ।
यस अवधिमा दिइएको बिदा शैक्षिक सत्र २०७७ को गर्मी बिदामा समायोजन गर्न निर्देशन दिइएको छ ।
यसअघि विद्यालयमा कक्षा सञ्चालन तथा कोभिड १९ रोगबारे सचेतता जगाउने सम्बन्धमा नगरभित्र सञ्चालित विभिन्न विद्यालय परीक्षा समितिका पदाधिकारीहरु एवम् सरोकारवाला पक्षहरुसँग नगरपालिकाले राय–सल्लाह लिइएको नगरपालिका स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *