जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
– प्रतिभा महर्जन
नोवेल कोरोना भाइरसको महामारीबाट विश्वका विभिन्न देश प्रताडित भइरहेको बेला नेपालले पनि उच्च सतर्कता अपनाउन जरूरी छ । कोरोना भाइरस सङ्क्रमणबाट बच्न नेपालमा भइरहेका प्रतिरोधका तयारीका समाचार सुन्दा हाँसो पनि लाग्छ र रोष पनि उब्जन्छ ।
कोरोना भाइरस सङ्क्रमण फैलिएका देशबाट यात्रु आउजाउ भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कको नाममा केही थान थर्मल गन र आधा बोटल स्यानिटाइजरको भरमा यात्रुको स्वास्थ्य परीक्षण गरिरहेको समाचार दृश्य देख्दा नेपाल सरकार, नेपालका जिम्मेवार पदाधिकारी, संलग्न स्वास्थ्यकर्मीहरू सबैप्रति टीठ जागेर आएको छ । भारतसितको सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कको अवस्था त झन् गएगुज्रेको अवस्था छ । सरकारले कोरोना भाइरसको प्रतिरोधका निम्ति के–कति रूपैयाँ खर्च गरिसकेको छ त्यो त सार्वजनिक भएको छैन तर अर्बभन्दा कम नहुने अनुमान छ । सरकारले कैयौँ थान भाइरस सङ्क्रमण नहुने पोशाक पीपीए सुट आयात गरिसकेको स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूल टेलिभिजन र रेडियो अन्तर्वार्ताको क्रममा भनेको सुनेको छु, ती कहाँ छन् ? सम्भावित सङ्क्रमित आउने अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले पाउँदैनन् , त्यहाँ काम गर्ने सुरक्षाकर्मीलगायत अन्य कर्मचारीले मास्कसमेत लगाउँदैनन् भने नेपाली जनतालाई सङ्क्रमणबाट बचाउन आवश्यक सबै उपाय लागू गरेको भनी बोल्नुको अर्थ के रहन्छ र ? कतै आवश्यक सामग्री किन्नुभन्दा नक्कली बिल पेश गर्ने खेल त भइरहेका छैनन् ?
कोरोना प्रकोपसमेत राज्यकोष लुट्ने बहाना नबनोस् । रोग सङ्क्रमण भइसकेपछि निःशुल्क उपचार गर्छौं भनी खोक्नुभन्दा रोग सङ्क्रमण हुने अवस्था नै हुन नदिनु महत्वपूर्ण हुन्छ ।
Leave a Reply