भर्खरै :

एसईईलगायत सबै परीक्षा स्थगित शैक्षिक संस्थाहरू चैत मसान्तसम्म बन्द 

काठमाडौँ, ५ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड –१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी बुधबार साँझ सञ्चारमाध्यमहरूलाई दिनुभएको छ ।
सरकारले व्यापक दबाबपछि एसईई परीक्षा पनि स्थगित गरेको देखिएको छ । नेकपा सचिवालय समितिको बैठकको आग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको बताइयो । सबै शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यस वर्ष करिब ५ लाखभन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।
बुधबार अपराह्न बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । यो निर्णयको १२ नम्बर बुँदामा सरकारले एसईई व्यवस्थितरूपमा सुरु हुने बताएको थियो । तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठकमा नेताहरूले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्चस्तरीय समिति संयोजक पोखरेलले बुधबारकै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिनुभएको हो ।
चैत मसान्तसम्म विद्यालय र कलेज बन्द
बैठकले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ । कक्षा ११ र १२, स्नातक, स्नातकोत्तरलगायतका परीक्षा स्थगित गर्ने निर्णय भएको छ । यद्यपि त्यसको निर्णय बिहीबार बस्ने त्रिवि परीक्षा बोर्डले गर्ने बताइएको छ ।
अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन निर्देशन जारी
सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड –१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो । त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ ।
सार्वजनिक यातायातमा पनि सीट क्षमताभन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ । त्यस्तै भीडभाड गरी यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
समितिको बैठकले मानिसहरूको जमघट हुने सार्वजनिक महत्वको स्थलहरूमा स्थानीय तहहरूले दैनिकरूपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने निर्णय गरेको छ ।
५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध
सरकारले कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण देखिएका देशहरूबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । बुधबारको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।
यो प्रतिबन्ध २० मार्च अर्थात् शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ । बैठकमा सहभागी एक मन्त्रीले भने, “अहिले नै सरकारले पूर्णरूपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।”
सिनेमा हल, जिम र डान्सबार पनि बन्द
बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लवलगायतलाई बन्द गर्ने निर्णय गरेको छ । निर्णयको २ नं. बुँदामा भनिएको छ, “सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जीम, हेल्थ क्लव, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लव आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’
सपिङ मलमा स्यानिटाइजर अनिवार्य
बैठकले होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरेको छ । टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमितरूपमा डिसइन्फेक्सन गर्न पनि भनिएको छ । साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरूमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *