भर्खरै :

राष्ट्रपति ट्रम्प ! मनपरी नबोल

– वस्तुराज ‘शीतल’
संसारका राष्ट्रप्रमुखहरूमध्ये विचारै नगरी मनपरी बोल्ने नेताहरूमध्ये एक हुन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । यथार्थ नबुझी ह्चुवा टिप्पणी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको मन स्थिर नभएको टिप्पणी आफ्नै देशका राजनीतिज्ञहरूमात्र होइन अन्य मुलुकका राजनीतिक विश्लेषकहरूले पनि गरे । तर पनि ट्रम्पको ह्चुवा टिप्पणी गर्ने बानीमा कुनै सुधार भएको छैन । पछिल्लो पटक हचुवा टिप्पणी गर्दै उनले कोरोना भाइरसलाई ‘चाइना भाइरसको संज्ञा’ दिए । राष्ट्रपति ट्रम्पको उक्त टिप्पणीप्रति चीनले आपत्ति जनाएको छ । उनको भनाइ आपत्तिजनक छ र पूर्वाग्रहीपूर्ण छ । त्यो भनाइ केटाकेटी पाराको छ । विश्वकै शक्तिशाली देशको एक राष्ट्रप्रमुखले आफ्नो पदको बेवास्ता गरी आफ्नो इज्जत र प्रतिष्ठामा आँच पु¥याउने काम गरेका छन् । आपत्तिजनक सो भनाइ उनले तुरुन्त फिर्ता लिनुपर्छ ।
कोरोना भाइरस चीनको उहानमा फैलिएको हो, प्रकोपको रूपमा देखिएको हो । कोरोना भाइरस चीनले उत्पादन गरेको रोग होइन । रोग कुनै देशको निजी हुँदैन । रोग कुनै देशले उत्पादन गर्दैन । कुनै रोग कुनै देशमा फैलिंदैमा त्यो रोग त्यो देशको हुँदैन । आफ्नै देश र जनताको अहित हुने काम कुनै देशले गर्दैन, गर्नु हुँदैन । यस्तै खालको रोग पहिले अरू देशमा फैलिएको थियो, रोगको प्रकोप फैलेर धेरैको ज्यान गएको थियो । त्यसबेला कुनै पनि राष्ट्र प्रमुखहरूले त्यो देशको रोग भनी टिप्पणी गरेनन्, गरेका छैनन् । तर, संसारमा हैकम जमाउने शक्तिशाली देशका एक राष्ट्रप्रमुख ट्रम्पले पूर्वाग्रहीपूर्ण ढङ्गले कोरोना भाइरसलाई ‘चाइना भाइरसको संज्ञा’ दिए । उनको भनाइअनुसार जुन देशमा जस्तो रोग फैलिन्छ त्यही रोगको नाम त्यो देशसँग जोडेर नामकरण गर्नुपर्ने हुन्छ । मन नपरेको स्वास्नीको सासै गन्हाउँछ भनेझैँ जसरी भए पनि चीनको विरोध गर्नुपर्ने, चीनको विरोध नगरी नअघाउने या सन्तुष्ट नहुने कतै ट्रम्पको मनस्थिति असन्तुलित भएको त होइन ?
संयुक्त राज्य अमेरिकालाई जनवादी गणतन्त्र चीन संसारकै शक्तिशाली र सम्पन्न देश होला भन्ने चिन्ता छ । चीनले गरिरहेको प्रगतिदेखि असह्य भएर अमेरिकी राष्ट्रपति ट्रम्प चीनको विरोध गर्दै छन् । चीनको विरोध नगरी उनलाई खाएको पनि पच्दैन न त मन शान्ति नै हुन्छ । अरू स–साना मुलुकमा झैँ चीनमा आक्रमण गर्ने, नाकाबन्दी गर्ने या दबाद दिने आँट नभएको अमेरिकी राष्ट्रपतिले झूटको खेती गरेर, गलत समाचार फलाकेर हिँडेकोमा के आश्चर्य ¤ तर, झूट कुरा फलाकेर चीन गल्दैन । चीनको प्रगति रोक्दैन । बरु राष्ट्रप्रमुख ट्रम्प आफैँ संसारमा उदाङ्गिंदै छन्, अमेरिका संसारभर बदनाम भइरहेको छ । अमेरिकी राष्ट्रपतिका यस्तै यस्तै गतिविधिले अमेरिकाको साम्राज्यवादी हैकमको विरोध गर्ने देशहरूको सङ्ख्या बढ्दै छ, अमेरिकी साम्राज्यवाद पतन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *