भर्खरै :

चीनको विजय निश्चित छ

िमनबहादुर बाटा
वसन्त चाड मनाउने तयारीमा रहेको मध्यचीनको ठूलो पारवहन केन्द्र हुपेइ प्रान्तको सदरमुकाम उहानमा डिसेम्बर ३१ को दिन कोरोना भाइरसको सङ्क्रमित भेटियो । यस भाइरसका कारण मानिसको मृत्यु हुनुको साथै रोगले भयावह रूप लियो । यो रोग उहानबाट सुरू भएर चीनका विभिन्न प्रान्तहरूमा फैलियो । यस रोगको कारण विभिन्न सहरहरूमा सार्वजनिक यातायातलगायत रेलवे, विमानस्थलसमेत पूर्णरूपले बन्द गर्न चीन बाध्य भयो । ऐतिहासिक एवम् पर्यटकीय आकर्षणको केन्द्र फोरबिडन सिटीलगायत विभिन्न महत्वपूर्ण व्यापारिक केन्द्रहरू पनि केही समय बन्द गर्नुपर्ने निर्णय लिन बाध्य भयो । चीनले आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक अरू बेला आन्तरिक वा बाह्य यात्रामा ननिस्कन निर्देशन नै जारी गर्नुप¥यो ।
दिनप्रतिदिन बढिरहेको बिरामीको चापलाई ध्यान दिएर चिनियाँ सरकारले १० दिनभित्र अस्पताल निर्माण ग¥यो । अस्पताल निर्माणका लागि सयौँ एक्साभेटर, ट्रकलगायत विभिन्न उपकरणहरूले एकसाथ युद्धस्तरमा काम थालनी गरेको समाचार दुनियाँले देखे । उहानमा मात्रै तत्काल ४५० चिनियाँ सैन्य स्वास्थ्यकर्मीहरू परिचालित भयो । पछिल्लो क्रममा ४० हजारसम्म स्वास्थ्यकर्मीहरू परिचालित भएको समाचार प्रकाशित भयो । सैनिकको चिकित्सा विश्वविद्यालय, जलसेना र हवाईसेनाका टोली रोग नियन्त्रणको लागि खटिए । हुपेइको वास्तविकता थाहा पाउनासाथ चिनियाँ सरकारले तत्काल महामारी नियन्त्रणको कदम चाल्यो । क्वारेन्टाइनका नियमहरू घोषणा गर्दै राष्ट्रियरूपमा स्वास्थ्यकर्मीहरू परिचालन ग¥यो । चीनले कोरोना भाइरससँग एक किसिमको युद्ध लड्यो ।
चीनमाथि शत्रुतापूर्ण व्यवहार
चीन सङ्कटमा पर्दा साम्राज्यवादीका पक्षपोषण गर्ने पश्चिमा सञ्चारमाध्यम र तिनका पिछलग्गू सञ्चारमाध्यमले चीनविरुद्ध गलत प्रचारबाजी सुरु गरेर त्यहाँको राजनीतिक बन्दोबस्तको विरोध गरे । केही पश्चिमा सञ्चारमाध्यमले कोरोना भाइरसको सङ्क्रमणलाई ‘चीनको चेर्नोबेल’ भनेर तत्कालीन सोभियत रुसको आणविक दुर्घटनासँग जोडेर प्रचार गर्न भ्याए । कतिपय सञ्चारमाध्यमले भाइरसको नामकरणको सन्दर्भमा चीनलाई होच्याएर ‘उहान भाइरस’ पनि लेखे । अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले मार्च ६ तारिखका दिन ‘उहान कोरोना भाइरस’ भनेर चीनलाई बदनाम गर्ने कोशिस गरे । अमेरिकाको न्युयोर्कस्थित ‘फोक्स न्युज’ का पत्रकार लाउरा इन्ग्राहमले चीनले यो स्वास्थ्य समस्या निम्त्याएको भनी ट्वीट गरे । नेपालबाट प्रकाशित हुने ‘द काठमाडौँ पोष्ट’ ले पनि ‘द कोरिया हेराल्ड’ मा प्रकाशित ते डाल्डरको लेख साभार गरेर प्रकाशित गर्दा चिनियाँ मुद्रामा अङ्कित माओ त्सेतुङ्गको तस्वीरमा मास्क लगाइएको कार्टुन बनाएर छाप्यो ।
बेलायतको लण्डनमा पनि चिनियाँ मूलका सिङ्गापुरका विद्यार्थी ‘जोनाथन मोक’ माथि एउटा समूहले ‘तेरो कारोना भाइरस मेरो देशमा भित्रियोस् भन्ने चाहन्न’ भन्दै मुक्का प्रहार गरिएको समाचार प्रकाशित भयो । चिनियाँ नागरिक र पूर्वी एसियाका नागरिकमाथि जातिवादी आक्रमणका घटना पश्चिमा मुलुकमा देखियो । कोभिड–१९ लाई जातीयतासँगै जोडेर हेरियो । विश्वमा आएको यस्तो सङ्कटविरुद्ध मिलेर प्रतिवाद गर्नुपर्नेमा अमेरिकाले चीनप्रति शत्रुतापूर्ण व्यवहार देखायो । उसले उहानस्थित महावाणिज्य दूतावास बन्द गर्ने, सबै कुटनीतिक प्रतिनिधि फिर्ता गर्ने र पछिल्लो चौध दिनमा चीन भ्रमण गरेका कुनै पनि व्यक्तिलाई अमेरिका प्रवेश निषेध गर्ने निर्णयसमेत ग¥यो । लगातार चीनमाथि सञ्चार आक्रमणहरू भइरहे । तर, समयक्रममा चीनप्रति गरिएको गलत समाचारहरू मिथ्या सावित हुँदै छन् ।
भाइरस र रोगको भौगोलिक सिमाना हुँदैन
भाइरस र रोगको कुनै भौगोलिक सिमाना हुँदैन । जस्टिनियन प्लेग अफ ५४१ नामको रोग मिश्र इजिप्टबाट सुरु भएर विश्वका विभिन्न देशमा फैलियो । एचआईभी पहिलो पटक सन् १९८१ मा संरा अमेरिकामा देखिए र विश्वभर फैलियो । यस रोगबाट ३ करोड २० लाख मानिसले ज्यान गुमाएको अनुमान छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुले ५ करोड मान्छेको ज्यान लियो । यो कुरालाई बेवास्ता गरेर चीनको विकासदेखि तर्सिएका अमेरिकालगायत पश्चिमा मुलुकहरूले सुरु सुरुमा चीनमाथि खुचिङ्ग गर्दै कर्के नजर लगाए तर अहिले यो रोग विश्वव्यापी बन्यो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुधबार विश्वव्यापी महामारी घोषणा ग¥यो । अहिले संसारका १५० भन्दा बढी देशमा यो रोग फैलिसकेको छ । विश्व अर्थतन्त्रलाई नै डामाडोल बनाउने स्थिति देखापर्दै छ । चीनलाई हेलाहोचो गर्ने देशहरू पनि यो महामारीको सङ्कटमा पर्न थालिसकेका छन् । अमेरिकाले गत शुक्रबार राष्ट्रिय सङ्कटकाल घोषणा ग¥यो । स्पेन र फ्रान्सले महामारी फैलिन नदिन आपत्कालीन प्रतिबन्धहरू लागू गरे । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना सङ्क्रमण भयो । अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोन यस रोगबाट पीडित भए । बेलायती स्वास्थ्यमन्त्री ‘नदिन डोरिस’ पनि सङ्क्रमित भइन् । क्यानाडाका प्रम पत्नी सोफिया र स्पेनका प्रम पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई पनि सङ्क्रमण भएको पुष्टि भयो । यसप्रकार युरोप अहिले कोरोना भाइरस सङ्क्रमणको केन्द्र बनिरहेको छ ।
जैविक युद्धको आशङ्का
अमेरिकी गुप्तचर विभाग सीआइएका पूर्वसैनिक गुप्तचर ‘फलिप गिराल्डी’ ले उत्परिवर्तन (म्युटेसन) बाट कोरोना भाइरसको उत्पत्ति हुननसक्ने दाबी ‘स्ट्राटेजिक कल्चरफाउन्डेसन’ नामक अनलाइन समाचार माध्यममा प्रकाशित आफ्नो लेखमार्फत गरे । उनले विश्व प्रतिस्पर्धीको रूपमा उदाएको चीनलाई रोक्न वासिङ्गटनले नै यो भाइरस आविष्कार गरी फैलाएको हुनसक्ने आशङ्का व्यक्त गरे । उनले यो भाइरस फोर्ट डेन्ट्रिक मेरील्यान्डको जैविक हतियार अनुसन्धान सेन्टरमा विकास गरिएको भए यसमा इजरायल पनि सामेल भएको हुनसक्ने निश्चित रहेको उल्लेख गरे ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता ‘चाओ लिचियान’ ले नोवेल कोरोना भाइरस अमेरिकी सेनाले उहानमा ल्याएको हुनसक्ने दाबी ट्वीटरमार्फत सार्वजनिक गरे । उनको यो आशङ्का तथ्य नजिक छ किनभने सन् २०१९ मा सैनिक विश्व खेलमा सहभागी हुन अमेरिकी सेना चीनको उहान आएका थिए । उनीहरूले नै यो रोग सारेको हुनसक्छ भन्ने उनको तर्क हो । फेब्रअरीमा जापानी ‘आशादी समाचार’ को एउटा टेलिभिजन समाचारले कोरोना भाइरस चीनबाट नभई अमेरिकाबाट उत्पत्ति भएको दाबी ग¥यो ।
सन् २०१९ अगस्टमा फोक्सोको निमोनिया वा त्यस्तै अज्ञात रोगद्वारा अमेरिकामा सङ्क्रमण भएको थियो । त्यस रोगबाट मर्नेहरू कोरोना भाइरसबाट सङ्क्रमित हुनसक्छन् भनी ताइवानी चिकित्सकले अमेरिकी अधिकारीहरूलाई पत्रसमेत लेखेको समाचार प्रकाशित भयो । यसकारण कोभिड १९ को उत्पत्ति चीनमा भएको होइन भन्ने पक्षको दाबी सत्य साबित हुने क्रममा छ ।
युद्ध जित्न अमेरिकाले भियतनाम, कोरिया, इराकलगायत देशमा जैविक तथा रासायनिक हमला गरेको इतिहास छ । जापानको हिरोसिमा र नागासाकीमा अणुबम खसालेर लाखौँ मान्छे मारेर मानवताविरोधी काम गरेको विश्वले भुलेको छैन । यसकारण विश्लेषकहरूले उसप्रति यस्तो आशङ्का गर्नु स्वाभाविक हो ।
कोभिड–१९ र सञ्चार आक्रमणप्रति चीनको विजय निश्चित
कठिन प्रयासपछि अन्ततः कोभिड– १९ लाई परास्त गर्न चीन सफल भयो । उसले करिब ८० हजारभन्दा बढी सङ्क्रमितलाई उपचार गरेर सकुशल घर फिर्ता ग¥यो । यसले समयमै उपचार भए कोभिड–१९ रोग निको हुनेरहेछ भन्ने सन्देश गयो । विश्वले चीनको अनुभवबाट सिक्नु जरूरी छ ।
कोरोना नियन्त्रण गर्ने क्रममा चीनले विश्वका विभिन्न तहबाट सञ्चार आक्रमण सहनुप¥यो । चीनले इतिहास अनेक कठिनाइ र आक्रमणहरू झेलेको छ । जति कठिनाइहरू आए त्यति नै चीन झन् आगोमा राखेको सुनझैँ खारिंदै अनुभवी बन्यो । पुराना अनुभवबाट सिक्दै सङ्घर्ष गर्दै चीन अझ बलियो इस्पात बनेको छ ।
साम्राज्यवादी अमेरिका र पश्चिमाको आक्रमणलाई निस्तेज पार्दै चीन नयाँ इतिहास रच्न अगाडि बढ्दै छ ।
विश्वव्यापीरूपमा फैलिएको यो रोगविरुद्ध चीन चुपचाप बसेको छैन । आफ्नो देशमा नियन्त्रण गरिसकेपछि अब उसको ध्यान विश्वलाई कोरोनामुक्त कसरी बनाउने भन्नेतर्फ बढेको स्पष्ट देखिन्छ । चीनका राष्ट्रपति सी चिनफिङ्गले भन्नुभएको छ, “मानव जाति नै एक साझा भाग्यको समग्र हो, हरेक देशका जनताको सुरक्षाको लागि जोखिमको रूपमा रहेको रोगमाथि विजय प्राप्त गर्न आपसी मेलमिलाप र सहयोग नै सबैभन्दा शक्तिशाली हतियार हो ।”
विकासशील देशको महामारीसँग जुध्न चीनले विश्व स्वास्थ्य सङ्गठनलाई २ करोड अमेरिकी डलर सहयोग गरेको समाचार पनि प्रकाशित भयो । पाकिस्तान, जापान, दक्षिण कोरिया, इरान, इराक, इटालीलगायत देशमा रोग परीक्षण कीट, औषधिलगायत अनुभवी स्वयम्सेवक, चिकित्सक, विशेषज्ञ पठाएर चीनले सहयोग गर्दै छ । आफूले गरेको कामबाट चीनले विश्वमा मानवताको पक्षमा उभिने सङ्कल्प गरेको प्रस्ट देखिन्छ । कोभिड– १९ को बारेमा दिनप्रतिदिन नयाँ–नयाँ तथ्यहरू सार्वजनिक हुँदै छन् । दिनप्रतिदिन चीनमाथि लगाइएको आरोप गलत साबित हुँदै छ । जसले चीनलाई पुर्न खाल्डो खन्ने सोच राख्यो अन्ततः ऊ आफैँ खाल्डोमा पुरिने छ र चीनको विजय हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *