– गोमा सापकोटा, काठमाडौँ
कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनेको अवस्थामा अनेकौँ भ्रमको खेती भइरहेका छन् । तीमध्ये एउटा हो गाईको गोबर र गहुँतले कोरोना भाइरस रोकथाम गर्छ र लागिहालेमा निको पार्छ भन्ने पनि हो । तर, यसबारे अझैसम्म कुनै वैज्ञानिक अध्ययन भई सत्यतथ्य स्थापित भएको छैन । बरु कोरोना भाइरसको रोकथाम गर्छ भनी भारतमा गहुँत पिउँदा मानिसहरू बिरामी परेका खबरहरू आइरहेका छन् । यसै सन्दर्भमा भारतका ५७६ जना वैज्ञानिकहरूले मोदी सरकारलाई एक सामूहिक पत्र लेख्दै गोबर–गहुँतको औषधीय गुणहरूको प्रचार बन्द गर्न माग गरेको कुरा यहाँ स्मरणीय छ ।
अहिले विश्वभरि महामारी फैलाइरहेको कोभिड–१९ नामकरण गरिएको कोरोना भाइरस नितान्त नयाँ किसिमको भाइरस हो । यसको बारेमा अझै पनि वैज्ञानिकहरूले सम्पूर्णरूपमा जानकारी हासिल गरिसकेका छैनन् । कोरोना भाइरसको महामारी तीव्र फैलिँदै जाँदा विश्व वैज्ञानिक समुदाय यसका विरुद्ध खोप औषधिहरूको निर्माण गर्ने अभियानमा युद्धस्तरमा जुटेका छन् । अमेरिका, चीनलगायतका देशहरूमा यसका खोपहरू विकासको प्रारम्भिक चरणमा रहेको र मानवमाथि प्रयोगात्मक परीक्षण पनि थालिइसकेको छ । यसको सार्वजनिक उपयोग र उपलब्धता ती प्रयोगहरूको सफलता र असफलता र त्यसले दिने नतिजाहरूमा निर्भर हुने गर्छ । त्यसैले यसका उपचारबारेमा अहिले नै यसै भन्न सकिहाल्न सकिने स्थिति छैन ।
यस्तो स्थितिमा गाईको गोबर र गहुँतले कोरोना भाइरसको उपचार हुन्छ भन्ने कुरा आफैँमा अप्रामाणिक र विज्ञानविरोधी कुरा हो । हल्लाको पछि लागेर गहुँत पिएर अन्य रोगबाट समेत ग्रसित हुने अवस्था ननिम्त्याऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *