भर्खरै :

भोजभतेर, पिकनिक, दाफा भजनलगायतका कार्यहरू नगर्न अपिल

भक्तपुर, ९ चैत । भक्तपुर नगरपालिका नगर विपद् व्यवस्थापन समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न अति आवश्यक कामको लागि नगरपालिका कार्यालय, वडा कार्यालय र नपाअन्तर्गत सञ्चालित विभिन्न कार्यालयमा प्रवेश गर्ने नागरिकहरूलाई साबुन पानीले हात धोएर र स्यानिटाइजर प्रयोग गरेरमात्रै प्रवेश गराउने व्यवस्था गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको उक्त समितिको बैठकले नगरपालिका क्षेत्रभित्रका चोक, गल्ली र सडकहरूमा सरसफाइ कार्यलाई थप प्रभावकारी बनाउने र सबै ठाउँमा चुन, फिनेल छर्कने निर्णय गरेको छ ।
बैठकले कोरोना भाइरससम्बन्धी जनचेतना जगाउन नगरपालिकाद्वारा प्रकाशित पर्चा व्यापकरूपमा वितरण गर्ने, रोगको सम्भावित जोखिमबारे सबै नागरिकहरूलाई सचेत रहन आग्रहसहित नगरपालिकाको आधिकारिक फेसबुक पेज, अनलाइन पत्रिका र अन्य दैनिक पत्रिकाहरूमा तथा फोहर सङ्कलन गर्ने गाडी र ट्राइसाइकलहरूमार्फत प्रचारप्रसार गर्ने, ठाउँ–ठाउँमा फ्लेक्स बोर्डमार्फत जनचेतनामूलक सन्देश प्रसारण गर्ने पनि निर्णय गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सार्वजनिक स्थानहरूमा हुलहुज्जत नगर्न, धेरै मानिस जम्मा हुने गरी भोजभतेर, पिकनिक आयोजना नगर्न, नगरका विभिन्न सांस्कृतिक स्थल तथा पाटी पौवामा दाफा भजन नगर्न र अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कन नगरवासीमा अपिल गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले सम्भावित विपद्बाट जोगिनका लागि आवश्यक सामग्रीहरू मास्क, पञ्जा, स्यानिटाइजर, स्प्रे पम्प, प्लास्टिक, साबुन (झोल साबुनसमेत), थर्मल गन, धाराको टुटीसहित ५०० लिटरको पानी ट्याङ्कीलगायत खरिद गरी वडामा वितरणको व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *