भर्खरै :

नेपाली भन्दैमा कोरोना सङ्क्रमितलाई देशमा भित्र्याउनु मूर्खता

– आरोही श्रेष्ठ
कोरोना भाइरसको सङ्क्रमणबाट आज विश्व नै त्राहिमाम बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका १८६ देशमा कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ३ लाख ५० हजारभन्दा माथि पुगेको छ भने सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ हजार ८ सय नाघेको छ । कोरोना भाइरस सङ्क्रमण भएर उपचारबाट पूर्ण स्वस्थ हुनेको सङ्ख्या एक लाख नाघेको छ ।
कोभिड–१९ नामकरण गरिएको कोरोना भाइरसले विश्वमै आतङ्क मच्चाएको छ । विश्वका अधिकांश देश कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित भएको छ । चीनको हुपेइ प्रान्तमा पहिलोपटक व्यापक सङ्क्रमण देखिएको कोभिड–१९ ले अहिले युरोपेली राष्ट्रहरू र संरा अमेरिका बढी पीडित भएको देखिएको छ । विश्वका कैयौँ देशले सङ्क्रमण फैलिन नदिनका लागि ‘लकडाउन’ घोषणा गरिसकेका छन् । लाखौंलाख मानिस क्वारेन्टाइन र आइसोलेसनमा छन् । कोभिड–१९ भाइरस सङ्क्रमणको यो अवस्था कहिलेसम्म रहन्छ भन्न सकिएको छैन । यस्तो अवस्थामा पनि नेपालमा यो भाइरसको सङ्क्रमण नदेखिनु खुसीकै कुरा हो । नेपालमा सङ्क्रमण सुरु भएमा आवश्यक स्रोतसाधन र दक्ष जनशक्तिको कमीले नियन्त्रण गर्न निकै कठिनाइ हुने विज्ञहरूले बताएका छन् ।
भाइरस सङ्क्रमण हुनै नदिन अहिलेलाई विदेशबाट विदेशी र स्वदेशीहरूकै आवागमन रोक्नु अनिवार्य थियो र ढिलै भए पनि नेपाल सरकारले उक्त निर्णय ग¥यो । तर, सरकारको उक्त निर्णयलाई लिएर विदेशमा बसेका केही नेपालीहरूले ‘विपतमा विदेशमा रहेका नेपालीलाई बिर्सेको’ आरोप लगाइरहेका छन् । सरकार र कुनै पनि नेपालीले नेपालभित्रै रहेका मात्र नेपाली र नेपाल बाहिर बसिरहेकाहरू नेपाली होइनन् भनेका छैनन् । भाइरस सङ्क्रमण फैलिनसक्ने अवस्थालाई दृष्टिगत गरी डेढ दुई हप्ता नेपाल नआउनु बरु जुन देशमा बसेका छौ त्यहीँ सुरक्षित बस्नु भनेको हो । कोरोना सङ्क्रमित देशमा बसेका नेपालीले त्यहीँ बसेर भाइरस सङ्क्रमण हुन रोक्नका लागि सकेको योगदान गर्नु जिम्मेवारी र कर्तत्य दुवै हो । तर, कतिपय नेपालीहरू सङ्कट नपरुञ्जेल विदेशी भूमिमा रमाएर अहिले नेपाल आउन नपाएकोमा गुनासो गरिरहेका छन् । नेपालमा कोरोना पुष्टि भएका दुवैजना कोरोना सङ्क्रमित भइसकेका देशबाट आएकाहरू हुन् । त्यसैले नेपाली भन्दैमा कोरोना सङ्क्रमित देशबाट आएकाहरूलाई देशमा भित्र्याउनु मूर्खता हुनेछ । सङ्क्रमित देशबाट र देश हुँदै आएकामा भाइरसको सङ्क्रमण हुने सम्भावना अत्यधिक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *