भर्खरै :

कोभिड–१९ को प्रतिरोध र अन्धविश्वास


नीरज लवजू
कोभिड–१९ भाइरसको विश्वव्यापी संक्रमणसँगै प्रकृतिसँगको यो लडाई सिंगो मानव जातिको लागि चुनौती बनेको छ । यो लडाई अब कुनै देश, भूगोल र जाति विशेषको लडाईमा सीमित रहेन । आज यो सिंगो मानवजाति र प्रकृतिको विकारबीचको लडाई बनेको छ । कोभिड–१९ ले संसारमा मच्चाएको त्राहीत्राहीसँगै मानिसले यसको प्रतिरोध गर्ने उपायको खोजी थालेका छन् । चिनियाँ सेनाको अनुसन्धान टोलीले कोभिड–१९ विरुद्ध खोपको विकास गरिसकेको छ । चीन सरकारले त्यसको परीक्षण गर्न अनुमति प्रदान गरेको छ । जर्मनीका वैज्ञानिकहरूले विकास गरेको कोभिड–१९ प्रतिरोधी खोप संरा अमेरिकाले चर्को मूल्य तिरेर खरिद गर्न खोजेको खबर पनि चर्चामा छ । चीनमा कोभिड–१९ को उपचारको लागि परम्परागत चिनियाँ औषधि विज्ञानको पनि उपयोग गरियो । क्युवाले उत्पादन गरेको खोप पनि कोभिड–१९ को उपचारको लागि चीन र अन्य केही प्रभावित देशमा प्रयोग गरिएको छ । अर्थात् मानवजातिमाथि आइलागेको कालो बादल पन्छाउन संसारका एकसेएक वैज्ञानिक र अध्येताहरू आज अहोरात्र लागिपरेका छन् । आशा गरौं, कोभिड–१९ को प्रतिरोधी खोप र औषधि चाँडै पत्ता लागोस् र सबै देशका सबै वर्गमा मानिसलाई सहज र सस्तोमा उपलब्ध होस् ।
यसप्रकार संसार कोभिड–१९ को वैज्ञानिक उपचारको खोजीमा दौडिरहेको परिस्थितिमा नेपाल र छिमेकी देश भारतमा त्यो रोगको उपचार र नियन्त्रणको नाममा भएका केही अन्धविश्वासका कुरा सुन्दा जोकोहीलाई उद्देक लाग्नु स्वाभाविक हो ।
प्रसङ्ग नं १.
श्री सत्य साई सेवा संगठन नेपाल श्री सत्य साई प्रदेश समिति ३(क) ले काठमाडौंमा ‘कोरोना भाइरस निर्मूल गर्नका लागि भगवान् श्री सत्य साई बाबासँग विशेष प्रार्थना सभा’ को आयोजना ग¥यो ।
प्रसङ्ग नं २.
पोखरामा तमु प्ये ल्हु सङ्घले ‘कोरोना भाइरस रोकथाम गर्न अर्थात् विश्वशान्ति र सुस्वास्थ्यको कामना सहित’ ट्हो त्हें(यज्ञ) आयोजना ग¥यो ।
प्रसङ्ग नं ३.
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री जगमान गुरुङले कोरोना महामारीबाट मुक्तिको कामना गर्दै आफ्नो फेसबुकको वालमा मन्त्रोच्चरण गरे–।।ऊँ।। विश्व कल्याणका लागि सबैको सद्भावबाट कोरोना भाइरसलाई करुणा भातृत्वमा बदलौं ।। ।।स्वस्ति।।” उनको सो स्टाटसको प्रसङ्ग कोट्याउँदै लेखक एवं पत्रकार गुरुङ सुशान्तले पनि फेसबुक वालमा लेखे,‘अस्ति ‘प्राज्ञ’ जगमान गुरुङले कोरोना भगाउने ‘मन्त्र’ फेसबुकमा राखे । अहिले गुरुङ स्रष्टाहरूसमेत सहभागी भएर पोखरामा ‘कोरोना रोकथामको लागि’ ढ्याङ्ग्रो ठटाउँदै पूजापाठ गरेको दृश्य देखियो । यो हदसम्मको चरम अन्धविश्वास जुनसुकै समुदाय र संस्कृतिको भए पनि विरोध गरौं ।’
प्रसङ्ग नं ४.
भारतको हिन्दु महासभाका राष्ट्रिय सभाध्यक्ष चक्रपाणि महाराजले हुलै जम्मा गरेर ‘कोरोना शान्त हो ¤’ भन्दै पूजा अर्चना आयोजना गरे । पूजामा सहभागी हुने सबैलाई गिलासभरि गाईको पिसाबले स्वागत गरिएको थियो । महाराजले सञ्चारकर्मीसँग कुरा गर्दै भने–सरकारले विमानस्थलमा गौमुत्र र गोबर राख्न जरुरी छ । जो पनि विदेशी भारत आउँछन्, तिनलाई गौमुत्र खुवाइयोस् ।” गौमुत्रले कोरोना भाइरसले पूर्ण उपचार हुने तर्क उनीहरूको थियो ।
पुजामा सहभागी एक महानुभावले ‘भारतीय प्रधानमन्त्री मोदीलाई पनि कोरोनाबाट जोगिन गौमुत्र पठाइसकेको र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि पठाउन लागिएको’ बताए । पश्चिमा विश्वले हिन्दु सनातन धर्मको नमस्तेलाई पनि अंगालेको हुनाले गौमुत्र पनि सेवन गर्नु पर्ने एक अर्का सहभागीको भनाई थियो । गौमुत्रले कोरोना भाइरसको शतप्रतिशत उपचार हुन सक्ने उनीहरूको भनाई थियो ।
प्रसङ्ग नं ५.
नेपाल र भारतमा मात्र होइन, दक्षिण कोरियामा पनि यस्तै एउटा घटना भयो । त्यहाँको एउटा चर्चले नूनपानी खुवाउँदा र छर्किंदा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भनी अनुयायीहरूलाई नून पानी छर्किएको थियो । तर, त्यसमध्ये एउटा बोटल भाइरस संक्रमित हुँदा ४६ जना मानिसलाई भाइरस संक्रमण फैलिएको थियो । राजधानी सोलको दक्षिणमा रहेको गुन्जी प्रान्तमा सो घटना भएको थियो ।
कोभिड–१९ को महामारीले संसारमा हजारौं हजार मानिसको ज्यान लिइरहेको परिस्थितिमा यसबाट जोगिने उपायबारे विचार गर्नु स्वाभाविक हो । कोभिड–१९ को कारण दुःख झेलिरहेका विभिन्न देशका जनताप्रति सद्भाव व्यक्त गर्नु मानवता हो । तर, कोभिड–१९ लाई पार लगाउने नाममा गरिएका यस्ता गतिविधि भने अन्धविश्वास हुन् । गौमुत्र पिएर, होम यज्ञादि गरेर, मन्त्रोच्चरण गरेर वा नून पानी छर्केर कोभिड–१९ लाई पछार्न सकिने सोचाईले समाजको पछौटेपनातर्फ सङ्केत गर्छ । अन्धविश्वासी र अवैज्ञानिक सामाजिक चेतनाले हरेक समस्याको समाधान विज्ञान र तथ्यमा भन्दा धर्मान्धता र मिथकमा खोज्ने गर्छ । यसले समस्यालाई समाधान होइन, अझ जटिल बनाउने गर्छ । विज्ञान र सूचना प्रविधिले ठूलो फड्को मारिसकेको एक्काइसौं शताब्दीमा पनि मानिसहरूले यस्ता अन्धविश्वासमा विश्वास गर्नु समयको विडम्बना पनि हो ।
भारतका प्रधानमन्त्री मोदीले भारतमा प्राचीनकालमा नै प्लास्टिक सर्जरीको विकास भइसकेको दाबी गर्दै गणेशको टाउको काटिए पछि हात्तीको टाउको जोडिएको घटनालाई उदाहरण पेश गरेका थिए । त्यस्तै भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले सन् २०१९ जुलाईमा ‘गाई नै एउटै मात्र त्यस्तो प्राणी हो जसले श्वास लिंदा र फाल्दा दुवै पटक अक्सिजन प्रयोग गर्छ’ भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यही कारण गाईलाई सुम्सुम्याउँदा श्वासप्रश्वासका विरामीको रोग निको हुने उनको तर्क थियो । भारतीय जनता पार्टीका नेताहरूका यस्ता अभिव्यक्ति खासमा हिन्दुअतिवादी चिन्तनकै प्रतिबिम्ब हो । उनीहरूका यस्ता अभिव्यक्ति विज्ञानसम्मत भन्दा पनि धार्मिक अन्धतामा आधारित छन् । विज्ञानले नस्वीकारेका यस्ता कुराले मानिसलाई सत्यबाट अलग र भ्रममा बाँच्न अभ्यस्त बनाउँछ । भारतीय नेताहरूका यस्ता अभिव्यक्तले भारतीय सत्ताको आत्मश्लाघा र अन्धराष्ट्रवाद प्रतिबिम्बित गर्छ । हिन्दु सर्वोच्चतावादी चिन्तनमा आधारित आजको भारतीय सत्ताले यस्ता अवैज्ञानिक तर्क गरेर आफ्नो धर्मअन्धतालाई पुष्टि गर्न खोज्दैछ ।
कोभिड–१९ नयाँ खालको संक्रमण भएकोले यसबारे धेरै वास्तविकता अझै पनि अनुसन्धानको विषय हो । तथापि चीनको उहानमा फैलिएयता संसारभर यो भाइरसको प्रकृति र चरित्रबारे धेरै कुरा सार्वजनिक भइसकेका छन् । त्यही आधारमा जनस्वास्थ्यकर्मीहरू र विश्व स्वास्थ्य संगठनजस्ता जिम्मेवार अन्तर्राष्ट्रिय संस्थाले समेत यसबारे मनग्य जानकारी सार्वजनिक गरिसकेका छन् । यस्ता प्रतिरोधका उपायको इमान्दार पालना नै यो रोगको सामना गर्न वैज्ञानिक उपाय हुनसक्छ ।
कतिपय मानिस हाम्रो देश देवभूमि भएकोले कोरोना भाइरसले नेपालमा केही असर नगर्ने दाबी गरिरहेका सुन्छौं । पशुपतिनाथ, स्वयम्भूनाथ, नवदुर्गा जस्ता देवताको भूमि भएकोले कोभिड–१९ ले नेपालीलाई छुन नसक्ने तर्कबाजी हुने गरेको छ । धेरै मानिसको लागि यो आफ्नो मन र अरूलाई सान्त्वना दिने तरिका पनि हुनसक्छ । तर, यस्ता तर्कले सर्वसाधारणमा जाग्ने अति आत्मविश्वास सङ्कटको घडीमा विकराल अवस्थाको अर्को कारण बन्न सक्छ । यो भाइरस कहाँ कसरी उत्पत्ति भयो भन्ने बहसमा नपसौं । तर, सत्य के हो भने भाइरसलाई कुनै अलौकिक शक्तिले होइन, मानिस–मानिसबीचको एकताले नै पराजित गर्न सक्छ । मानिसको सचेतना, सजगता र ऐक्यबद्धताको भावनाले नै कोभिड–१९ जस्ता महामारी पराजित गर्ने सम्भव छ ।
महामारीले कुनै भूगोल, जाति, सम्प्रदाय र राजनीतिक विश्वासलाई मान्दैन । महामारी सबैविरुद्ध हो, त्यसकारण यसको प्रतिरोध सबैले मिलेर गर्नु सबैको दायित्व हो ।  विज्ञानको विश्वासले मात्र यस्ता महामारीबाट विश्व जोगिन सक्छ । राज्य र जनताले वैज्ञानिक अध्ययन अनुसन्धानमा आधारित निष्कर्षको आधारमा महामारीको प्रतिरोध गर्ने हो ।
चीनले कोभिड–१९ को संक्रमणमाथि लगभग विजय हासिल गरिसकेको छ । कुनै अन्धविश्वासको पछि लागेर चिनियाँ जनतालाई यो सफलता प्राप्त भएको होइन । चीन सरकार, जनता, अन्तर्राष्ट्रिय समुदायको सहयोग, विशेषतः स्वास्थ्यकर्मी र स्वयम्सेवकहरूको अथक मिहिनेतले नै यो सफलता हासिल भएको हो । युरोपले आज त्यही अनुभव पछ्याइरहेको छ । विज्ञान र व्यवहारिकतामाथिको विश्वासले नै चीनलाई यो सफलता हासिल भएको हो । नेपालले यो सत्यलाई उपेक्षा गरेर अन्धविश्वासको पछि लाग्नु आत्मघाती हुन सक्छ । यो अन्धराष्ट्रवाद र धार्मिक अन्धता जटाउने समय होइन ।
विश्व चर्चित जलवायु तथा वातावरण अभियन्ता ग्रेटा थुनवर्गले हालै गरेको ट्वीटसँगै बिट मारौं । १८ मार्चमा उनले ट्वीट गरेकी छिन्,“ऐक्यबद्धता, विज्ञान र विवेकले हामीलाई कुनै पनि सङ्कटबाट पार लगाउन सक्छ । यो कुरा मनमा राखौं ।”

नीरज लवजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *