भर्खरै :

जनस्वास्थ्य पूर्वाधारको केन्द्रीकरणको मूल्य

कोभिड–१९ भाइरसको प्रतिरोधमा सरकारले देशभर लक डाउनको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अनुभवले यो भाइरस रोकथाम गर्ने यो नै अचुक उपाय देखिएको छ । चीनले लक डाउनको प्रभावकारी उपयोग गरी कोभिड–१९ को सङ्क्रमणलाई पराजित गरिसकेको छ । चीनको यही अनुभवको आधारमा आज संसारका अधिकांश देशले यही उपाय प्रयोग गरिरहेका छन् ।
तर, कोभिड–१९ को प्रतिरोधको लागि आवश्यक पूर्वाधार निर्माण र पूर्वतयारीको सन्दर्भमा नेपाल सरकारको ध्यान भने काठमाडौँ केन्द्रित छ । कोभिड–१९ को रोकथामको लागि अत्यावश्यक मानिएको पूर्वाधार काठमाडौैँ उपत्यकाबाहिर उपलब्ध छैनन् वा ज्यादै न्यून छ । भाइरस सङ्क्रमण पुष्टि गर्ने प्रयोगशाला सबै काठमाडौँमा मात्र छन् । सुदूर गाउँमा महामारी फैलिए त्यसको पुष्टि गर्न धेरै समय लाग्ने अवस्था छ ।

लामो समयदेखि शासकहरूमा जब्बर बनेर रहेको केन्द्रीयतावादी सोचको परिणाम आज महामारीको बखत देशले असुल गर्नुपर्ने अवस्था छ ।

जनस्वास्थ्यका अन्य पूर्वाधार पनि मूलतः काठमाडौँमै सीमित छन् । लामो समयदेखि शासकहरूमा जब्बर बनेर रहेको केन्द्रीयतावादी सोचको परिणाम आज महामारीको बखत देशले असुल गर्नुपर्ने अवस्था छ । छिमेकी देश भारतमा पनि कोभिड–१९ को प्रतिरोधको क्रममा विभिन्न निषेधात्मक निर्णय गरेपछि भारतका विभिन्न सहरमा पेशा–व्यवसाय गर्दै आएका नेपालीहरू स्वदेश फर्के । विशेषतः पश्चिम नेपालका जनतामा भारतका विभिन्न सहरमा गएर मजदुरी गर्ने धेरै अघिदेखिको परम्परा हो । अहिले ती मानिस नेपाल फर्केका छन् । यस्तो सङ्कटको समयमा नेपाली नागरिकलाई आफ्नो देशमा भित्र्याउनु नेपाल सरकारको दायित्व हो । तर, आज संसारभर फैलिरहेको महामारीविरुद्ध लड्ने पहिलो चरण भनेको सङ्क्रमितको पहिचान गरी अलग राख्नु हो । त्यसकारण भारतबाट नेपाल फर्किएका नेपालीलाई नेपाल पस्न अनुमति दिनुअघि उनीहरूमध्ये सङ्क्रमित भए नभएको पहिचान आवश्यक छ । सङ्क्रमित निक्र्योल गर्न कम्तीमा चौध दिन उनीहरूलाई निगरानीमा राख्न जरुरी छ । तर, पछिल्ला घटनाक्रम हेर्दा सरकार यो काममा असफल भएको छ । गड्डाचौकी, गौरीफान्टा, जमुनाहालगायतका पश्चिम नेपालका सिमाना नाकाबाट नेपाल भित्रिएका नेपालीको न्यूनतम स्वास्थ्य परीक्षण गरिएन । ठूलो हुल एकैपटक आउन खोज्दा स्वास्थ्य परीक्षणको लागि आवश्यक जनशक्ति र पूर्वाधार उपलब्ध नहुँदा धेरै मानिस त्यत्तिकै नेपाल पसे । क्वारेन्टाइनमा राख्न न सरकारले केही बन्दोबस्त गर्नसक्यो, न सर्वसाधारणले यस विषयमा कुनै संवेदनशीलता देखाए । यसरी भित्रिएका मानिसहरू मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न दुर्गम जिल्लामा पुगेका छन् । फलतः ती गाउँमा आज सङ्क्रमणको खतरा बढेको छ ।
विडम्बना ! नेपालका अन्य क्षेत्रको तुलनामा जनस्वास्थ्य पूर्वाधारको हिसाबमा पश्चिम नेपाल पछाडि परेको छ । अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट ती क्षेत्र विमुख छन् । आज त्यही क्षेत्रमा भएका लापरबाहीको कारणले कोभिड–१९ को जोखिम अझै बढाएको छ । सरकारले यो संवेदनशीलतालाई मनन गरी पूर्वाधार निर्माण विचार गर्न जरुरी छ । झन्डै ९९ करोड खर्च गरेर सरकारले जुम्लामा कर्णाली स्वास्थ्य प्रतिष्ठानको भव्य भवन बनायो । तर, भवनले मात्र स्वास्थ्य उपचार दिन सम्भव छैन । आवश्यक जनशक्तिको अभावमा त्यो भवन क्रमशः रुग्न बन्दै गएको छ । कोभिड–१९ महामारीलाई ध्यानमा राखी सरकारले कर्णाली स्वास्थ्य प्रतिष्ठान र सो क्षेत्रका अन्य स्वास्थ्य केन्द्रमा योग्य जनशक्तिको परिचालनमा ध्यान दिनुपर्छ । यसले महामारीबाट हुनसक्ने सम्भावित ठूलो क्षति रोक्न मद्दत पुग्नेछ । सरकारको राजधानीकेन्द्रित चिन्तनले कुनै पनि समस्यालाई कालान्तरमा पनि थप जटिल बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *