भर्खरै :

भक्तपुर नगरपालिकाका प्रमुखको वक्तव्य

भक्तपुर, १३ चैत ।
भक्तपुर नगरपालिकाका प्रमु्ख सुनिल प्रजापतिले बिहीबार कोभिड–१९ भाइरसको प्रतिरोधमा देशभर गरिएको लक डाउनको सन्दर्भ वक्तव्य जारी गर्नुभएको छ । वक्तव्यमा रोगबाट आफू बच्न र अरुलाई पनि बचाउन मानिससंग मानिसको प्रत्यक्ष सम्पर्कमा नजाने र घरमै बस्ने सबैभन्दा राम्रो उपाय भएको उल्लेख छ । वक्तव्यमा भनिएको छ, “विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को कारण आज देश अत्यन्त जटिल र संकटको स्थितिमा छ । समयमै हामी सचेत भएनौं भने भयावह स्थिति भोग्न नपर्ला भन्न सकिंदैन ।”
कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने सरुवा रोग हो । यो रोग बालबच्चादेखि वृद्धवृद्धासम्मलाई लाग्न सक्छ । छोटो समयमै संसारभर लाखौं मानिसमा संक्रमित भएर यो रोगले हजारौं मानिसको ज्यान लिइसकेको छ । यो रोगबाट आफू बच्न र अरुलाई पनि बचाउन मानिससंग मानिसको प्रत्यक्ष सम्पर्कमा नजाने र घरमै बस्ने सबैभन्दा राम्रो उपाय हो ।
नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि १८ गतेसम्म देशैभर ‘लक डाउन’ घोषणा गरेको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन तथा स्वयं निगरानीमा सुरक्षित तरिकाले घरभित्र बस्न गरिएको आह्वान नै ‘लक डाउन’को अवस्था हो । कोरोनाको सम्भावित जोखिमबाट बच्न तपाइँ हामी सबै जनताको हितलाई ध्यानमा राखेर सरकारले यो निर्णय गरेको हो । यस्तो संवेदनशील अवस्थामा हाम्रो सानो गल्ती वा बेवास्ताले देश र जनताले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनले पौष १५ गते यता चैत्र १२ गतेसम्म विश्वभर ४ लाख ५० हजारभन्दा बढीमा संक्रमण देखिएको र २१ हजारभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ । नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भनी सचेत पारिसकेको अवस्थामा अत्यन्तै सजग भएर कदम चाल्नु नै हामी सुरक्षित हुने उपाय हो ।
भक्तपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयले ठाउँ ठाउँमा माइकिङ गरेर सबै जनतालाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरिरहेका छौं ।
नगरप्रमुख प्रजापतिको वक्तव्यमा नगरबासीलाई निम्नानुसारको अपील गरिएको छ
१) अति आवश्यक काममा बाहेक घरबाट ननिस्कनुहुन,
२) विदेशबाट घर फर्केकाहरुको विवरण नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुहुन,
३) विदेशबाट आएका महानुभावहरु आ–आफूले नै विचार गरेर जिम्मेवार भई सुरक्षित रुपमा तोकिएको समयावधिसम्म घरमै स्वयं निगरानीमा बस्नुहुन र आप्mनो ज्वरो परिक्षणको रिपोर्ट अनलाइन फारमबाट जनस्वास्थ्य केन्द्र च्याम्हासिँह (kpti.edu@gmail.com) नगरपालिकामा (bhaktapurmuni@gmail.com ) पठाउनु हुन,
४) दैनिक उपभोग्य सामग्रीहरु जिल्ला प्रशासन कार्यालयले तोकेको समयावधि (बिहान ४ः०० बजेदेखि ७ः०० बजे) भित्रै खरिद गर्नुहुन,
५) सरसफाइमा खटिएका कर्मचारीहरु तथा जनस्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारीहरु अझ जिम्मेवारीपूर्वक आ–आप्mनो कार्यस्थलमा खट्नुहुन ।
सिङ्गो देश अहिले कोरोनाविरुद्धको अभियानमा छ । तपाइँ हामी सबै एकजुट भएर लड्यौं भने छिटै नै कोरोनाविरुद्धको अभियानमा सफलता हासिल गर्न सक्छौं । आउनुहोस्, सबै आ–आप्mनो घरमा सुरक्षित तवरले बसेर कोरोना भाइरसबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँँ । भिडभाडमा नजाऔं, भोजभतेर र पिकनिक नगरौं । कोरोनाविरुद्धको अभियानमा हामी सबै एकजुट भएको सन्देश दिऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *