भर्खरै :

कुनै अस्पतालमा स्वास्थ्य सेवा उपकरण र जनशक्तिको अभाव नहोस्

– मेरिना शाक्य
कोरोना भाइरसबाट सङ्क्रमित मुलुकमा सङ्क्रमितको सङ्ख्या बढेको बाहेक घटिरहेको छैन । सङ्क्रमित र मृतकहरूको सङ्ख्या बढिरहेको दिनदिनैको तथ्याङ्कले त्यो सङ्ख्या अझै बढ्ने स्थिति छ । हावासरि फैलिएको त्यो रोग नियन्त्रण गर्न संसारका सबै मुलुकका देशहरु प्राप्त स्रोत र साधनको अधिकतम प्रयोग गरी नियन्त्रण गर्ने प्रयासमा छन् तर पनि नियन्त्रण गर्न सकिरहेको छैन । विश्वका अन्य मुलुकमा यो रोग फैलिरहेको हिसाबले संयुक्त राज्य अमेरिकामा सङ्क्रमितको सङ्ख्या १ लाख २६ हजार पुगेको सन्दर्भमा नेपालमा ५ जनामात्र सङ्क्रमित हुनु अति नै नगण्य हो । सङ्क्रमितको सङ्ख्या नगण्य भनेर सरकार र आम नेपाली जनता ढुक्क हुनु छैन । अन्य देशझैँ नेपाल पनि जोखिम देशको सूचीमा छ ।
विदेशबाट पसेका केही नेपाली नागरिकहरू सङ्क्रमित भएको हुँदा नेपाल जोखिममा परेको हो । सङ्क्रमितसँगै नेपाल छिरेका सबै नागरिकको सरकारले पहिचान गर्न सकेको छैन । प्रहरीले ती व्यक्तिहरूलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । नेपाली भूमिमा टेक्नेबित्तिकै सबै स्वास्थ्य परीक्षण गर्नुपर्नेमा नभएको हुँदा अहिले समस्या देखिएको हो र चिन्ता बढेको हो । त्यस्तै खुला सीमा नाका रहेको भारतको विभिन्न नाकाबाट नेपालीहरू नेपाल छिरिरहेका छन् । को कति छिरे त्यसको पनि तथ्याङ्क छैन । पैदल यात्रुहरूको कुनै लेखाजोखा छैन । यसले गर्दा पनि कोरोना भाइरसबाट नेपाली जनता चिन्तित भएका हुन् ।
सरकारले एकातिर विदेशबाट नेपाल छिरेका व्यक्तिहरूको खोजीनीति गरिरहनुपर्छ भने अर्कोतिर देशभरका अस्पताल र स्वास्थ्य केन्द्रहरू विगतमा झैँ परिचालन गर्न या नियमितरूपमा सञ्चालन गर्न कोरोना भाइरससम्बन्धी स्वास्थ्य परीक्षणका उपकरण, रोकथामका औषधि र पर्याप्त जनशक्तिको छिटोभन्दा छिटो व्यवस्था गर्नुपर्छ । चीनले आइतबार बिहान सबेरै ल्याएको स्वास्थ्य सामग्रीहरू हरेक प्रदेशमा पु¥याएर स्वास्थ्य परीक्षणमा सहज पु¥याउनुपर्छ । कुनै पनि अस्पतालमा स्वास्थ्य सेवा उपकरण र रोकथामका औषधिको अभावमा कुनै पनि बिरामी फर्केर जान नपरोस्, सङ्क्रमित बिरामीको मृत्यु हुन नपरोस् भन्नेतर्फ सरकार सजग हुनुपर्छ । कोरोनासित सम्बन्धित रोगमात्र होइन अन्य रोगका, दुर्घटना भएका बिरामीहरूको समेत स्वास्थ्य परीक्षण नगरेको घटनाले आम नेपाली जनतालाई सशङ्कित बनाएको छ, चिन्ता बढाएको छ । त्यस्तो काम अबका कुनै दिनमा नदोहोरियोस् । यसबारे सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *