भर्खरै :

विनयी सिंहदरबार !

जोराल
सरकारी जमिनको अतिक्रमण र भाडामा दिँदा भएको अनियमितता, प्रेस खरिदमा उठेको कमिसनको खेल, काम नगर्ने ठेकेदारहरूले गरेको बेइमानी, निर्मला पन्तको बलात्कार र हत्याको मुद्दा, छाउगोठ भत्काउनेजस्ता थुप्रै विषय अहिले ओझेलमा परेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको कारण अहिले सबैको ध्यान कोभिड–१९ मा केन्द्रित भएको छ । ‘लकडाउन’ सफल बनाई कोरोना भाइरसको सङ्क्रमण हुन नदिने विषय राष्ट्रिय महत्वको मात्र होइन विश्वव्यापी प्राथमिकतामा परेको छ । यो स्वाभाविक र आवश्यक पनि छ ।
अहिले कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने सामग्रीको खडेरीले बढेको चिन्तामा चीनबाट प्राप्त सहयोगले केही राहत मिलेको छ । त्यो पुग्दो छैन, यद्यपि तत्काललाई काम गर्न, सेवा पु¥याउन सहज भएको छ ।
यसैबेला खरिद गरिएको सामग्रीमा कमिसनको खेल चलेको समाचार आएको छ । विपद्को बेलामा अति आवश्यक सामग्रीको खरिदमा कमिसन खानेहरूलाई सरकारले बचाउन खोजेको समाचार पनि आइरहेको छ । हिजो मास्क लुकाएर कालोबजारी गर्नेलाई पनि सरकारले ‘म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर’ भनेर थामथुम पा¥यो । अति आवश्यक दैनिक उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई सरकारले ‘बहादुर’ का साथ आग्रह–अनुरोध गरिरहेको छ । बिरामी नहेर्ने अस्पतालहरूलाई पनि सरकारले सविनय सम्झाइ–बुझाइ गरिरहेको छ । भ्रष्टाचारी, कमिसनखोर, काम नगर्ने ठेकेदार, कालोबजारीप्रति सरकार निकै विनयी देखिएको छ । तिनीहरूप्रति वर्तमान सरकारमात्र होइन सबैजसो पूर्वसरकारहरू पनि त्यतिकै विनयी थिए र छन् । अर्को शब्दमा हाम्रो सिंहदरबार भ्रष्ट, तस्कर, गुण्डा, बलात्कारीलगायतका जनविरोधी र विकासविरोधीहरूप्रति सदा विनयी रहेको छ ।
देश र जनताको हितमा सरकार कडा र कठोर पनि हुनुपर्छ । तर, व्यवहारमा देश र जनताको अहितमा बढी मुखरित हुने गरेको छ । देशको स्वाभिमान र स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकता जोगाउनभन्दा गुमाउन निर्ममरूपमा प्रस्तुत हुने तथ्य एमसीसीको मामिलामा सरकार र शासक दलहरूले प्रदर्शन गरेकै हुन् । तर, कोरोना महामारीको कारण अहिले त्यस्ता विषय नेपथ्यमा पुगेको छ ।
अर्काको विपत्तिमा सम्पत्ति जोड्ने चरित्र र प्रवृत्ति प्राणीजगतका सर्वश्रेष्ठ भनिएको मानिसमा नहुनुपर्ने हो । तर, भूकम्प, नाकाबन्दीपछि अहिले पनि त्यही चरित्र र प्रवृत्ति देखिएको छ । सिंहदरबार विनयी भएकोले ती अमानवहरूको दुस्साहसमा कुनै कमी आएको छैन । यो तथ्यबाट आमजनता भुक्तभोगी छन् । त्यसमा सरकारले कुनै अप्ठ्यारो, असहजता अनुभव गरेको छैन । यद्यपि, सरकारले विनयीशीलता साहसका साथ प्रदर्शन गर्न लाज मानेको महसुस हुन्छ ।
सामान्य अवस्थामा अमानवलगायतका जनता र विकासविरोधीप्रतिको व्यामोह हाकाहाकी प्रदर्शन गर्दा जुलुस प्रदर्शन हुनसक्छ । अहिले ‘लकडाउन’ भएकोले त्यो स्थिति आउने सम्भावना कमै छ । अहिले आफ्नो विनयशीलता प्रदर्शन गर्ने सुवर्ण अवसर छ । विगतमा तत्कालीन राजा ज्ञानेन्द्रले पारसलाई दसैँको लामो बिदाताका युवराज घोषणा गरेका थिए । अहिले त झन् ‘लकडाउन’ ले सबै घरमा बसेका छन्, आऊ भन्दा पनि आउने देखिँदैन । यसै अवसरमा बलियो सरकारले आफ्नो विनयशीलता परोक्षरूपमा होइन प्रत्यक्षरूपमा प्रदर्शन गर्न लाज मान्नुपर्ने देखिँदैन । तर, यदि सरकार लाज र नैतिकता, कर्तव्यबोध र जिम्मेवारीप्रति संवेदनशील छ भने सङ्कट र आपत्को बेला जनतालाई दुःख दिनेहरूलाई गोर्खेलौरी कसेर सरकारको औचित्य र अस्तित्वको अनुभव गराउन सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *