भर्खरै :

विश्व एकता र ऐक्यबद्धताको समय हो


सृजना सैँजू, बाग्मती प्रदेशसभा सदस्य
विश्व र सिङ्गो मानव जाति अहिले महाव्याधिको रूपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड –१९ को सङ्‍क्रमणविरूद्ध लड्दै छ ।
कोभिड – १९ को सङ्‍क्रमण र त्यसबाट मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।
कोभिड – १९ को सङ्‍क्रमणबाट जोगिन र बच्न लकडाउन अर्थात् बन्दाबन्दी चालू छ । चीनलगायत थुप्रै देशहरूको अनुभवबाट सङ्‍क्रमण कम गर्ने या रोक्ने एउटा उपायको रूपमा  बन्दाबन्दी अपनाइएको देखिन्छ ।
लकडाउन राम्रो कार्यान्वयन नहुँदा इटालीमा रोक्नै नसकिने गरी सङ्‍क्रमण फैलियो । मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघ्यो । संरा अमेरिका अझै बेवास्ता गर्दै छ । समाजवादी देश क्युवा र चीन भने विश्वभर कोभिड – १९ विरूद्ध लड्न थुप्रै देशहरूमा चिकित्सक र मेडिकल सामग्री पठाउँदै छन् । यो विश्व एकता र ऐक्यबद्धताको समय पनि हो । विश्वमा सङ्क्रमितमध्ये धेरैजसो ज्येष्ठ नागरिक छन् । धेरै उमेर पुगेका हजुरबुबा, हजुरआमा, साना नानीहरू र गर्भवती महिलाहरू अझ बढी सुरक्षित रहनुपर्ने विज्ञहरूको भनाइ छ । यो समय अन्धविश्वासको पछाडि नलागी मानसिक र शारीरिकरूपमा स्वस्थ रहने समय हो ।
सङ्‍क्रमण हुन नदिनु अहिलेको प्रमुख प्राथमिकता हो । मन्दिर जाने, चर्च जाने, जीम र मर्नि·वाक जाने कार्य अहिलेलाई रोक्न जरूरी छ । विभिन्न देशमा मन्दिर, मस्जिद, चर्च, खेलमैदानहरूको अत्यधिक भीडको कारण सङ्‍क्रमण फैलिएको देखिन्छ । त्यसकारण, भीडभाडमा नजान, अत्यावश्यक काममा बाहेक घरमै स्वस्थ जीवन बिताउन अनुरोध गर्दछु । सरकारले बन्दाबन्दीमात्र भनेर पुग्दैन । रोगसँग लड्ने, देशमा आर्थिक मन्दी हुन नदिने तयारी पनि गर्नुपर्दछ । अहिले लाखौँ मजदुर बिचल्लीमा परेका छन् । तिनका लागि सरकारले उचित बन्दोबस्त गर्नुपर्दछ । राहत वितरण व्यवस्थित हुनुपर्दछ । तँछाडमछाडको स्थिति हुनुहुँदैन । सरकारले  यसको जिम्मा लिनुपर्छ ।
धेरैजसो महिला दिदीबहिनीहरूलाई यो महाव्याधिको समयमा खानेपानी तथा खाद्यान्नको निमित्त घरबाट बाहिर निस्कनपर्ने बाध्यता छ । यो समयमा आवश्यकीय दैनिक उपभोग्य वस्तुहरू सरकारले सहज र निरन्तर उपलब्ध गराउने बन्दोबस्त गर्न आग्रह गर्दछु ।
घर बस्दाबस्दा दिक्क लाग्यो भन्दै युवाहरू भेटघाट र बाहिरतिर हिँड्ने गरिरहेको देखिन्छ । त्यसो गर्दा आफ्नो कारण परिवार सङ्क्रमित हुनसक्दछ । त्यसकारण, घरमै रचनात्मक एवम् सृजनात्मक कार्यमा समय व्यतीत गर्न हार्दिक अनुरोध गर्दछु । बन्दाबन्दी सिक्ने अवसरका रूपमा उपयोग गरौँ ! पुस्तक अध्ययन गर्ने, सीप सिक्ने, लेख्ने कार्य गरौँ ! इन्टरनेटबाटै पढाइ, सिकाइ र काम गर्ने सुविधाको उपयोग गरौँ !
नोवेल कोरोना भाइरस कोभिड – १९ बाट आपूm पनि बचौँ र आफ्नो परिवार, समाज एवम् देशलाई पनि बचाऔँ ! धन्यवाद !
२०७६ चैत २४

Leave a Reply

Your email address will not be published. Required fields are marked *