भर्खरै :

संरा अमेरिकाको ‘लकडाउन’ बाट

-यमकुमार तिमिल्सिना, टेक्सास, संरा अमेरिका
नयाँ वर्षको १४ दिने बिदापश्चात् जनवरी ७ मा म कामबाट फर्कँदा एकजना सहकर्मी रूघासहित काममा आए । भोलिपल्ट अझ अप्ठ्यारो भएपछि उनी नजिकैको डाक्टर (अर्जेन्ट केयर) मा गएर जँचाए । डाक्टरले मौसमी रूघा भएको जानकारी दिएपछि उनी दुई हप्तासम्म घरमा आराम गरी काममा फर्के । फर्किसकेकपछि उनलाई विद्यार्थीहरूले सोधे, “सर, तपाईँलाई कोरोना भाइरस लागेको हो ?” त्यतिबेलासम्म अमेरिकामा कोरोना भाइरसको औपचारिक पुष्टि भइसकेको थिएन । जनवरी २१ मा चीनको उहानबाट फर्केका ३४ वर्षीय युवामा पहिलोपटक कोरोना भाइरस भेटिएको थियो । उनी वासिङ्गटनका नागरिक थिए । त्यतिबेलासम्म राष्ट्रपति ट्रम्पले पनि कोरोना भाइरस यहाँको फ्लुजस्तै भएको र यसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ भनेर सार्वजनिक ठाउँमा भन्दै थिए ।
            मौसमी रूघा (फ्लु) अमेरिकाको पुरानो समस्या हो । यहाँ हरेक वर्ष हजारौँ मानिस फ्लुले मर्छन् । डाक्टरहरूले हरेक नागरिकलाई फ्लु सूट (फ्लुविरूद्धको खोप) वर्षमा एकपटक लगाउनैपर्ने सुझाव दिन्छन् । तर, बीमा नभएमा एउटा खोपको ५० डलरभन्दा बढी पर्ने हुँदा सबै नागरिक (जो घण्टामा ८–१० डलर कमाउँछन्) ले यो खोप लगाउँदैनन् । यही सानो उदाहरणबाट थाहा हुन्छ कि अमेरिकाको स्वास्थ्य क्षेत्र निम्न र मध्यम वर्गीय परिवारको क्षमताभन्दा बाहिर छ । सामान्य नागरिकले एक वर्षको आम्दानी (३० हजार डलर) बीमा नभएमा एकरात अस्पतालको इमर्जेन्सी कोठामा बस्नुपर्‍यो भने सकिन्छ ।
            कोरोनाले चीनलाई आक्रमण गरेजस्तो अमेरिकामा नहुने, निर्वाचनको मुखमा डेमोक्र्याटहरूले लोकप्रियताको लागि कोरोनाको अनावश्यक हल्ला (होक्स्) फैलाएको तर कोरोनाबाट  डराउनुपर्ने र र यदि देखिएमा पनि केही दिनमै नियन्त्रणमा लिनसकिने भनी राष्ट्रपति ट्रम्पले जनतालाई आश्वासन दिइरहेका थिए ।
            मार्चको पहिलो हप्ता जब कोरोना भाइरसको कारणले मानिसहरूको मृत्यु हुनथाल्यो अनि तबमात्र ट्रम्पको चेत खुल्यो र उनले आरोप लगाउन थाले, “यो चीनले पठाएको, ‘चिनियाँ भाइरस’ ‘अदृश्य शत्रु’ हो ।” आफूले युद्धकालीन राष्ट्रपतिको जस्तो दबाब महसुस गरेको पनि सार्वजनिकरूपमा उनले बताए । सुरूमा उनले कोरोना भाइरसलाई निरन्तर ‘चिनियाँ भाइरस’ भनेकोमा केही मानिसहरूले आपत्ति जनाए भने मङ्गोल अनुहारका एसियाली (नेपाली, राई, गुरूङ पनि) नागरिकमाथि सार्वजनिक ठाउँमा दुर्ब्यवहार भए । अहिले पछिल्लो समयमा यस्ता दुर्ब्यवहार भएको सुनिएको छैन भने ट्रम्पले चिनियाँ भाइरस भनेको पनि सुनिँदैन ।
            अहिले अमेरिकामा ४ लाख ६८ हजारभन्दा बढी नागरिक कोरोनाबाट सङ्‍क्रमित छन् भने १६ हजार ६०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । जसमा न्युयोर्क र न्युजर्सी राज्यमा क्रमशः ६ हजार र २ हजारको हाराहारीमा मृत्यु भएका छन् । बाँकी राज्यहरूमा २–४ सयको सङ्ख्यामा मृत्यु भएका छन् । न्ययोर्कका सम्पूर्ण अस्पतालहरू भरिएर सेनाको पानिजहाजमा समेत कोरोना पीडितहरूको उपचार भइरहेको छ । यहाँका स्वास्थ्य अधिकारीहरूका अनुसार यो हप्ता उच्च मृत्यु हुने अनुमान गरिएको छ भने अप्रिल १३ देखि मृत्यु हुनेको सङ्ख्या कम हुँदै जानेछ । बिहीबारको पत्रकार सम्मेलनमा ट्रम्पले इष्टर पर्वको पहिलो दिन मृत्यु दर ओरालो लाग्ने दिन हुने बताए । राष्ट्रपतिले समयमै कदम नचालेको यो भयावह अवस्था आएको भनी पछिल्लो समयमा राष्ट्रपतिको व्यापक आलोचना भइरहेको छ । सुरूमै विदेशबाट आवत–जावत बन्द गरेको भए यस्तो परिस्थिति देख्ननपर्ने र यो परिस्थितिको लागि राज्य सधैँ तयारी रहनुपर्छ भनी जनताले गुनासो गरिरहेका छन् । ट्रम्पको हेलचक्र्याईँको कारण यो मृत्यु दर बढेको भन्ने विशेषतः डेमोक्र्याटहरूको भनाइ छ । तर यहाँका स्वास्थ्य अधिकारीहरूले भने ट्रम्पले कुनै कदम नचालेको भए दैनिक १ लाख ५० हजारदेखि २ लाखसम्मको मृत्यु हुने आँकडा पनि केही दिनअगाडि सार्वजनिक गरेका थिए । अमेरिकाजस्तो शक्तिशाली देशमा पनि आवश्यक मात्रामा पीपीई र विश्वव्यापी महामारीको लागि पूर्वतयारी नरहेको यो अवस्थामा स्पष्ट देखियो ।  अहिले भने तीव्रगतिमा मास्क, पञ्जा, भेन्टिलेटरलगायतका सामग्री उत्पादन गरेर वितरण गरिएको र अब अन्य देशलाई पनि सहयोग गर्नसक्ने अवस्थामा रहेको बताइएको छ ।
लकडाउन
            धेरैबाट सुनिएको छ, अमेरिकामा लकडाउन किन छैन ? भनेर । तर यहाँ विभिन्न ठाउँमा ‘स्टे होम अर्डर’ छ । केही दिनअगाडि राष्ट्रपतिले राष्ट्रव्यापी ‘स्टे होम अर्डर’ दिन आफूलाई संविधानले नदिने र आवश्यक परेमा स्थानीय तहहरूले परिस्थिति हेरेर निर्णय लिनसक्ने बताएका थिए । सम्भवतः भर्खरै महाभियोगबाट उन्मुक्ति पाएकोले पनि संविधानदेखि अति सतर्क भएको हुनसक्छ । तर, त्यहाँ विभिन्न ठाउँहरूमा ‘स्टे होम अर्डर’ छ जुन जिल्ला तहको अदालतले निर्णय गर्छ । म आफै पनि ३ हप्तादेखि घरमै छु र घरबाटै काम गरिरहेको छु । तर, आवश्यक कामको लागि बाहिर निस्कन पाइन्छ । सामाजिक दुरी अनिवार्यजस्तै छ ।
नेपालीमा प्रभाव
            अमेरिकामा रहेका लगभग ३ लाखभन्दा बढी नेपालीमध्ये धेरैजसो दैनिक ज्यालादारी (घण्टाको दरमा पारिश्रमिक पाउने) मा काम गर्छन्, काम नगरेको दिनको आम्दानी हुँदैन । अहिले धेरै ठाउँमा काम कम भएको, कति ठाउँमा काम नै नभएको र कति नेपालीहरू डरले काममा नगएको सुनिएको छ । त्यस्तै रेष्टुराँ, ब्युटीपार्लरमा काम गर्ने बहुसङ्ख्यक नेपाली पूर्णरूपमा बेरोजगार छन् । यो कठिन परिस्थितिमा धेरैजसो सेवाप्रदायक जस्तैः बीमा, इन्टरनेट र धितो ऋणमा दुई महिनासम्म नतिर्ने र पछि ब्याजसहित तिर्न सकिने प्रावधान ल्याएका छन् जसले केही राहत मिलेको छ भने सरकारले पनि प्रतिव्यक्ति १२००, दम्पतीलाई २४०० र हरेक बच्चाहरूको लागि ५०० डलरको राहत प्याकेजको घोषणा गरिएको छ, जुन अप्रिलको अन्तसम्ममा पाउने भनिएको छ । त्यस्तै कोरोना भाइरसको कारण रोजगार गुमाएकाहरूलाई बेरोजगार भत्ताको लागि आवेदन पनि दिन सकिन्छ ।
नियन्त्रण र दीर्घकालीन प्रभाव
            सरकारी अधिकारीहरूका अनुसार अबको एक–दुई हप्तामा मृत्युदर घट्न थाल्ने र मे महिनाको दोस्रो हप्तासम्ममा यो नियन्त्रण हुने बताइएको छ । मे ४ तारिखसम्म टेक्सासमा ‘स्टे होम अर्डर’ जारी गरिएको छ । कोरोना भाइरस त नियन्त्रणमा आउला तर यो हरेक वर्ष दोहोरिनसक्ने सम्भावना पनि व्यक्त गरिएको छ । यसअघि सन् १९१७ मा यस्तै रूघाको महामारी देखिएकोले कोरोना भाइरसको पनि त्यस्तै हुने अनुमान गरिएको छ ।  यसले अमेरिकी अर्थतन्त्रलाई पनि निश्चितरूपमा प्रभाव पार्ने देखिए पनि अमेरिकी डलर अहिले पनि बलियो रहेको र विश्वका सबै देशहरूमा अग्रपङ्क्तिमै रहने विश्लेषण यहाँका अर्थशास्त्रीहरूको छ ।
            कोरोना भाइरसभन्दा अगाडि अमेरिका राजनीतिकरूपले निकै तातेको थियो । डेमोक्र्याट पार्टीका उम्मेदवार छान्न प्रारम्भिक निर्वाचनहरू धमाधम भइरहेका थिए । अहिले यो अवस्थाले चुनावी रौनक ओझेलमा परे पनि यो अवस्थाले ट्रम्पलाई भन्ने धक्का दिने महसुस गरिएको छ । चुनावी मैदानमा डेमोक्र्याटका जो बाइडेन र रिपब्लिकका डोनाल्ड ट्रम्प भिड्ने लगभग पक्का भइसकेको छ ।
            तर, मेरो व्यक्तिगत विचारमा अमेरिकी आकाश अझै अनिश्चयको भुमरीमा मडारिरहेको छ । त्यसैले पर्खेर हेर्नुबाहेक अर्को विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *