जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
-देविका
कोरोना भाइरसको महामारी विश्वव्यापीरूपमा फैलिरहेको छ । नेपालमा भने सामान्य बिरामीले पनि उपचार नपाएको र सरकारीलगायत निजी अस्पतालहरूले गेटबाटै बिरामीलाई फिर्ता पठाइरहेको समाचारहरू आइरहेका छन् । अर्कोतिर निजी अस्पतालहरूले बिरामी भर्ना नगरेपछि पशुपतिलगायत आर्यघाटमा दाहसंस्कार गर्ने शवको सङ्ख्या कम भएको समाचार पनि आयो । काठमाडौँ उपत्यकाबाट दशौं लाख जनसङ्ख्या बाहिरिएपछि उपत्यकामा मृत्यु हुनेको सङ्ख्या कम हुनु स्वाभाविकै हो । लकडाउनका कारण यातायात बन्द भएपछि सडक दुर्घटनाबाट मृत्यु हुने सङ्ख्या पनि शून्य नै छ । विदेशबाट आउने लासको सङ्ख्या पनि शून्य नै छ । यी सबै कारणले आर्यघाटमा दाहसंस्कार गर्ने शवको सङ्ख्या कम हुनु स्वाभाविक हो ।
त्यसैले धेरैजसो बिरामीको मृत्युको कारण अस्पताल नै रहेको टिप्पणीहरू भइरहेका छन् । अझ निजी अस्पतालको लापरबाहीले पनि मृत्यु भइरहेको समाचारहरू बेलाबेलामा आइरहन्छन् । के तथ्याङ्कले देखाएजस्तै अस्पतालकै कारण मृत्यु सङ्ख्या बढेका होला त ? करिब तीन सातादेखि देश पूर्णरूपले लकडाउन गरिएको छ । मानिसहरू घरभित्र बसेर आ–आफ्नो परिवारसँग महत्ववपूर्ण समय बिताइरहेका छन् । आफ्नो स्वास्थ्यको ख्याल नगरी काममा व्यस्त हुने मानिसहरू अहिले फुर्सदमा आराम गरिरहेका छन् । सधँै घरमा बस्ने परिवारका ज्येष्ठ सदस्यहरूलाई छोराबुहारी, नातिनातिनाहरूले समय दिइरहेका छन् । यसले गर्दा वृद्धवृद्धाहरूको मन प्रफुल्लित र प्रशन्न भएको छ । वृद्धवृद्धाहरूलाई उमेरअनुसारको शारीरिक समस्या त हुन्छ नै, त्योभन्दा पनि एक्लोपना र मानसिक समस्याले चाँडो मृत्युको मुखमा पुर्याउँछ । यसरी लकडाउनको समयमा ज्येष्ठ नागरिकहरूले पाइरहेको परिवारको माया, हेरचाह, स्वस्थ खानपान, सरसफाइ, मनोरञ्जन आदि कुराहरूले स्वस्थ र दीर्घजीवन दिन्छ ।
त्यस्तै दम, मधुमेह, उच्च रक्तचाप, मिर्गाैला र क्यान्सरजस्ता दीर्घरोगका बिरामीहरू पनि अस्पतालमा उल्लेख्यरूपमा कम भएको छ । ती दीर्घरोगका बिरामीहरूलाई सम्बन्धित चिकित्सकले आवश्यक परामर्श र औषधि दिएपछि घरपरिवारकै हेरचाहमा बस्नु उपयुक्त हुन्छ । अस्पतालमा विभिन्न किसिमका बिरामीहरू आउने भएकोले दिर्घरोगीहरूलाई सङ्क्रमणको जोखिम हुन्छ । दिर्घरोग भएका बिरामीहरूसँग सामान्य मानिसको भन्दा रोग प्रतिरोध क्षमताकम हुन्छ । अहिले लकडाउनको समयमा दिर्घरोगका बिरामीहरूले घरपरिवारबाट पाइरहेको हेरचाहले उनीहरूलाई स्वस्थ जीवन दिएको छ । कतिपय अक्सिजनमात्र दिए पुग्ने दम रोगका बिरामीहरू घरमै अक्सिजन सिलिण्डरको व्यवस्था भएर पनि अस्पतालबाट घर जान मान्दैनन् । वास्तवमा अस्पताल नै सङ्क्रमणको मुख्य थलो हो भन्ने अहिले सबैले बुझ्न आवश्यक छ । सुगर र प्रेसरका बिरामीहरू पनि उपचारको क्रममा लामो समय अस्पताल बस्दा नयाँ रोगको सङ्क्रमण भएको धेरै उदाहरणहरू पाइन्छ । अस्पतालबाटै नयाँ रोगको सङ्क्रमण हुने समस्यालाई ‘हस्पिटल अक्वायर्ड इन्फेक्सन’ अथवा ‘नोजोकोमियल इन्फेक्सन’ भनिन्छ । अहिले अस्पताल नगई घरमै चिकित्सकको परामर्शअनुसार औषधि सेवन गरी बस्दा यस्ता इन्फेक्सनबाट बिरामीहरू जोगिएर स्वस्थ जीवन पाइरहेका छन् र मृत्युको मुखबाट बचेका छन् ।
ज्येष्ठ नागरिक र दीर्घ रोगका बिरामीहरू मृत्यु हुने कारण भनेको सङ्क्रमण नै हो । सङ्क्रमण हुने अर्को प्रमुख कारण भनेको भीडभाड र भोजभतेरहरू हो । बिरामीहरू आफै भीडभाड र भोजभतेरमा सहभागी नभए पनि परिवारका सदस्यहरूले बाहिरबाट घरभित्र सङ्क्रमण भित्वयाइरहेका हुन्छन् । अहिले यो कोभिड १९ लकडाउनको समय ज्येष्ठ नागरिक र दीर्घ रोगका बिरामीहरूको लागि सङ्क्रमणको जोखिममुक्त समय भएको छ । लकडाउनको समयावधि सकेपछि पनि हामीले ज्येष्ठ नागरिकहरू र सुगर, ब्लड प्रेसर, दम, क्यान्सर, मिर्गौला रोगजस्ता दीर्घ रोग भएका बिरामीलाई समय र हेरचाह दिनुपर्ने, सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्ने, घरमै पकाएर स्वस्थ खानेकुरा खानुपर्ने कुराहरू सिक्न आवश्यक छ । सङ्क्रमण नै मृत्युको कारण बन्ने भएकोले लकडाउनपछि पनि अस्पताल, भीडभाड र सङ्क्रमणको जोखिम हुने स्थानहरूमा जरुरी नपरी नजानु नै बुद्धिमानी हुनेछ ।
(लेखक नर्सिङ समाज नेपालका अध्यक्ष हुनुहुन्छ ।)
Leave a Reply