भर्खरै :

नोवेल कोरोनाबारे जनचेततना महत्वपूर्ण

(विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको समयमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले यहाँका जनताको स्वास्थ्य सेवामा खेल्दै आएको भूमिका र कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रको प्रयासबारे जनस्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा.रत्नसुन्दर लासिवासँगको कुराकानी प्रस्तुत छ –सं)

  • नेपाल सरकारले कोरोना सङ्‍क्रमणबाट बच्न गरेको लकडाउनको समयमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यस जनस्वास्थ्य सेवा केन्द्रले यहाँका जनताको स्वास्थ्य जाँच सेवालाई कसरी अगाडि बढाइरहेको छ ? बिरामी जाँच्ने समय (रुटिन) लाई कसरी व्यवस्थापन गरिरहेको छ ?

            नेपाल सरकारले कोरोना भाइरस सङ्‍क्रमणबाट बच्न देशव्यापीरूपमा गरेको लकडाउनको निर्देशन भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले पनि पालना गरिरहेको छ । सोहीअनुरूप अति आवश्यक स्वास्थ्य समस्या परीक्षण गराउन एवम् नियमित औषधि सेवन गर्ने बिरामीहरूको सुविधाको लागि यस सेवा केन्द्रले २४ सै घण्टा आकस्मिक तथा अवलोकन सेवा, एक्स–रे सेवा, प्रयोगशाला सेवा र औषधि पसल सञ्चालन गरी आवश्यक सेवाहरूलाई चालू राखेको छ ।
            त्यसबाहेक पनि ज्वरोलगायत सामान्य बिरामीको छानबिन (स्क्रिनिङ) गरी आवश्यक भएमा ती बिरामीलाई अन्य अस्पतालमा रिफर गर्ने, घाउ तथा चोटपटक लागेकालाई ड्रेसिङ सेवाको पनि निरन्तरता दिएका छौँ ।
            उक्त काम सम्पन्न गर्न हामीसँग उपलब्ध भएका स्वास्थ्यकर्मीहरू आलोपालो गरी परिचालन गरेका छौँ ।

  • कोरोना भाइरस एक सरुवा रोग भएको हुँदा बिरामी जाँच्ने स्वास्थ्यकर्मीहरूको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरू के र कसरी उपलब्ध गराउँदै आउनुभएको छ ?

            कोरोना भाइरस एक सरुवा रोग भएको हुँदा यो रोग जो कसैलाई पनि लाग्नसक्छ । आवश्यक सुरक्षाका उपायहरू अपनाएको खण्डमा यसबाट जोगिन सक्ने भएकोले हामी सजग छौँ र यहाँ सेवा लिन आउने बिरामीहरूलाई पनि सचेत पार्ने काम गर्दै आएका छौँ । साथै बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरूलाई यो रोगको सङ्‍क्रमणको उच्च जोखिम भएको हुँदा यस विषयलाई मध्यनजर गर्दै यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी मित्रहरूलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराइसकेका छौँ । ती सामग्रीको उचित प्रयोगको लागि पनि उत्साहित गरिराखेका छौँ ।

  • जनस्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मीहरूले लकडाउनको समयमा पनि निरन्तर जनताको स्वास्थ्य सेवामा समर्पित भएर लागिरहनुभएको छ। उहाँहरूलाई कसरी उत्साहित र प्रोत्साहित गर्दै हुनुहुन्छ ?

            जनस्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उत्साहमा कमी हुन नदिन माथि उल्लेख गरेझैँ आवश्यक हुनेहरूको लागि पीपीई व्यवस्था गर्नुका साथै ठाउँ–ठाउँमा स्यानिटाइजर र साबुन पानीले हात धुने ठाउँको व्यवस्था गरेका छौँ । साथै कोही कर्मचारी तथा स्वास्थ्यकर्मीहरू संस्थामै २४ सै घण्टा बसेर कार्य गर्न चाहेको खण्डमा खाने र बस्ने व्यवस्था गरेका छौँ । साथै कर्मचारी र स्वास्थ्यकर्मीहरूको लागि आवश्यकता हेरी गाडीले लिन जाने र घर पुर्‍याउने व्यवस्था गरेका छौँ ।

  • कोरोना भाइरस रोकथामको लागि जनस्वास्थ्य केन्द्रले के कस्ता योजना र कार्यक्रमहरूलाई अगाडि सारेको छ ?

            कोरोना भाइरस सङ्‍क्रमण सरुवा रोग भए तापनि यसको रोकथाम र नियन्त्रण सम्भव भएको हुँदा यो रोगको विषयमा जनचेतना नै प्रमुख विषय हो । त्यस हिसाबले नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन र अति आवश्यक कामको लागि मात्र घर बाहिर आउन, आफ्नो घर परिवार तथा छरछिमेकमा विदेशबाट फर्केका कोही छन् भने उनीहरूलाई नियमपूर्वक एकान्तवास वा सेल्फ क्वारेन्टिनमा बस्न, मास्क लगाउन तथा साबुनपानीले नियमित हात धुन अनि साबुनपानी नभएको अवस्थामा स्यानिटाइजरको प्रयोग गर्नेजस्ता विषयमा व्यापक प्रचारप्रसार नगरपालिकामार्फत भइरहेको र जनस्वास्थ्य सेवा केन्द्रमा आउनेहरूलाई पनि सोही जानकारी गराउने गरेका छौँ ।
            त्यसका अतिरिक्त वडा–वडामा स्यानिटाइजर, साबुन तथा आवश्यकताअनुसार मास्क वितरण गर्ने कार्य गरेका छौँ ।

  • जनस्वास्थ्य केन्द्रले अति आवश्यक (इमर्जेन्सी सेवा) बाहेक अरु सामान्य रोगीहरूको उपचारसम्बन्धी के कसरी व्यवस्थापन गरिरहेको छ ?

            जनस्वास्थ्य सेवा केन्द्रले अति आवश्यक (इमर्जेन्सी सेवा) बाहेक अन्य रोगीहरूको उपचारको लागि पनि कार्य गर्दै आएको छ । जस्तो कि निरन्तर औषधि खानुपर्ने बिरामीको लागि औषधि उपलब्ध गराउने, सामान्य ड्रेसिङ सेवा पनि दैनिकरूपमा उपलब्ध गराउने, क्षयरोग लागेका बिरामीहरूको लागि औषधि उपलब्ध गराउने कार्य गर्नुका साथै फोनमार्फत आवश्यक सल्लाह—सुझावहरू दिने कार्यहरू भइरहेको छ ।

  • कोरोना जाँचमा अहिले निजी अस्पताल र स्वास्थ्यकर्मीहरू भागिरहेको अवस्थामा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको यस सेवा केन्द्रले दैनिक कति जना र कस्ता रोग भएका बिरामीहरू जाँचिरहेको छ ?

            जनस्वास्थ्य सेवा केन्द्रको आकस्मिक शाखाबाट दैनिक ४०-४५ जनाले सेवा प्राप्त गरिरहेका छन् भने ड्रेसिङमा १२-१३ जना, प्रयोगशालाबाट १४-१५ जना तथा फार्मेसीबाट ६०-७० जनाले निरन्तर सेवा प्राप्त गरिरहेका छन् ।

  • जनस्वास्थ्य सेवा केन्द्रमा आइसोलेसन वार्ड स्थापनासम्बन्धी के तयारी गर्नुभएको छ ?

            यस केन्द्रमा अहिले बिरामी राख्ने छुट्टै प्रयोजनको लागि २-२ जना बिरामी राख्न मिल्ने २ वटा कोठा व्यवस्था गरेका छौँ । तर हामीसँग निरन्तर आइसोलेसन सेवा दिनसक्ने गरी जनशक्ति (विशेषज्ञ) तथा सामग्री (भेन्टिलेटर) को अभाव छ । त्यसैले अति आवश्यक बिरामीको लागि आइसोलेसन वार्डको व्यवस्था गरेका छौँ । अहिलेको परिस्थितिमा भक्तपुरका शङ्कास्पद बिरामीहरूलाई भक्तपुर अस्पताल वा काठमाडौँ मेडिकल कलेजको दुवाकोट शाखामा रिफर गर्ने सुझाव स्वास्थ्य कार्यालयबाट प्राप्त भएकोले सोहीअनुसार गर्दै आइरहेका छौँ ।

  • कोरोनाको सम्भावित जोखिमबाट जनस्वास्थ्यमा आउने बिरामी तथा अन्य व्यक्तिहरूको लागि के-कस्ता सुरक्षाका उपायहरू अवलम्बन गर्नुभएको छ ?

            कोरोना भाइरसको सम्भावित जोखिमबाट जनस्वास्थ्य सेवा केन्द्रमा आउने बिरामी तथा अन्य व्यक्तिहरूको सुरक्षाको लागि स्वास्थ्य केन्द्रमा अति आवश्यक सेवाको लागि आउन अनुरोध गर्नुका साथै चेकजाँचको लागि आउनेहरूलाई ज्वरोको स्क्रिनिङ गरेपछि प्रवेश गराउने, ह्यान्ड स्यानिटाइजर लगाउन दिने र आवश्यक दुरी कायम गरी बस्न अनुरोध गरेका छौँ । साथै यस केन्द्रमा बिरामी ल्याउँदा हुलमुल नहुने गरी बिरामी एक्लैलाई मात्र भित्र पस्न दिने वा साथ चाहिएको अवस्थामा एक जनामात्र भित्र पस्न दिने व्यवस्था मिलाएका छौँ ।
            कोरोना भाइरसको विषयमा विशेषगरी बालबच्चा र ज्येष्ठ नागरिकहरू प्रभावित हुने हुँदा उहाँहरूको उमेर समूहको लागि यस केन्द्रले केही विशेष कार्यहरू गरेको छ कि ?
            कोरोना भाइरसको विषयमा विशेषगरी बालबच्चा र ज्येष्ठ नागरिकहरू प्रभावित हुने भन्ने विभिन्न अध्ययनले देखाएको र अहिले साना बालबालिकाहरूको बहिरङ सेवा बन्द रहेकोले एक वर्षभन्दा मुनिका बालबालिका बाल रोग विशेषज्ञ भएकै केन्द्रमा पठाउने गरिएको छ । अन्य हकमा वाफ लिनुपर्ने बिरामीलाई छुट्टाछुट्टै सामग्री प्रयोग गरी विशेष सावधानी अपनाइएको छ ।

  • थप केही … ?

            कोरोना भाइरस सङ्‍क्रमण विश्वव्यापीरूपमा वनजङ्गलमा लाग्ने डढेलोसरि फैलिरहेको र यसबाट आजको मितिसम्म १ लाखभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको र लाखौं व्यक्तिहरू सङ्‍क्रमित छन् । यो रोग विशेष सावधानी अपनाइएको खण्डमा नियन्त्रण गर्न सकिने उदाहरण पनि हाम्रोसामु छिमेकी देश जनगणतन्त्र चीनको हुपेई प्रान्तको उहान सहर छ । त्यसैले ‘रोग लागिसकेपछि उपचार गराउनुभन्दा रोग लाग्न नदिनु राम्रो’ भन्ने उखान यस रोगको सन्दर्भमा शत प्रतिशत लागू हुन्छ ।
            कोरोना रोगको रोकथामको लागि लकडाउनलाई पूर्ण पालना गरौँ । एकान्तवासमा बस्नेहरूले आफ्नो स्वास्थ्यलाई ख्याल गरी आफ्नो समयको सही सदुपयोग गरौँ । यस विश्वव्यापी महामारीबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।
स्रोत : भक्तपुर खबर डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *